गाईघाट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) त्रियुगा नगर कमिटिले सोमबार एक कार्यक्रमको आयोजना गरी ७९७ सदस्य त्रियुगा नगर निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्बाचनको लागि त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि नेकपा एसका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले निर्वाचन परिचालन परिचालन कमिटी घोषणा गर्नु भएकाे थियाे । कमिटीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि चुनाव प्रचार प्रसार, मतदाता शिक्षा लगायतका कार्य सञ्चालन गर्नको लागि निर्वाचन परिचालन कमिटी घोषणा गरिएकाे हाे ।
निर्वाचन परिचालन कमिटीमा त्रियुगा नगर कमिटीका एक सय एक जना मूल कमिटी रहने गरी प्रत्येक वडा गरी तीन सय बढी वडा कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र सदस्य गरी तीन सय बढी व्यक्ति निर्वाचन परिचालन कमिटीको सदस्य रहने गरी घोषणा गरिएकोछ ।
यस्तै जिल्ला कमिटीका १ सय ५० जना, अनेम संघका २१ जना, युवा संघको ४० जना, अनेरास्ववियुको ४० जना, प्रगतिशिल किसान संघको १५ जना, समाजवादी प्रेस संगठनको १० जना, टोल कमिटीका १ सय ७५ जना पदाधिकारी गरी ७९७ जनाको निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन भए गठबन्धन गठबन्धनलाई जिताउनको लागि यहि निर्वाचन परिचालन कमिटीले अग्रणी भूमिका खेल्नु पर्ने बताउनुभयाे ।
गठबन्धन भए नेपाली काँग्रेस, नेकपा माओवादी, जसपा, जनमोर्चा लगायतका पार्टीका निर्वाचन परिचालन कमिटीको सदस्यहरुलाई एकतृत गरी वृहत निर्वाचन परिचालन कमिटी निर्माण गरिने अध्यक्ष चौधरीले बताउनुभयाे । केपी शर्मा ओलीको अहंकारलाई परास्त गर्न गठबन्धन आवश्यक रहेकोले केन्द्रिय निर्देशन अनुसार सवै दलले आत्मासाथ गठबन्धन जान तयार हुनु पर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
प्रदेश नं. १ मा एमालेलाई परास्त गर्न लिम्बुवान र राप्रपासँग पनि गठबन्धन हुन सक्ने संकेत दिनु भयो । लिम्बुवान पार्टी र राजेन्द्र लिङ्देलको राप्रपा पार्टी विच वार्ता भईरहेकोले यसले चाँडै नै सफलता पाउने समेत अध्यक्ष चौधरीले बताउनुभयो ।
यस्तै हरेक वडा, स्थानीय तहले तोकिएकै समयमा उम्मेबारीहरुको नाम सिफारिस गर्न अनुरोध गरेको छ । गठबन्धन भए गठबन्धन अनुसार नभए नेकपा एस एक्लै पनि निर्वाचनमा जान तयार रहेको अध्यक्ष चौधरीले बताउनुभयाे । त्रियुगा नगरपालिकामा मेयर, उपमेयर सहित १६ वटै वडाध्यक्ष र वडा सदस्यको लागि उम्मेदवारी दिन आफ्नो पार्टी तयार रहेको र जीत पनि हासिल गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
यस्तै नेकपा एक त्रियुगा नगर कमिटीले चैत्र ३० गतेभित्र प्रत्येक वडाहरुबाट उम्मेदबारको नामावली सिफारिस गरि पठाउन निर्देशन दिईएको नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीले बताउनुभयाे । हामी प्रत्येक वडाहरुबाट जितको सम्भावित उम्मेदबारहरुको नामावली माग गरेको बताउनुभयो ।
कार्यक्रममा संचालन त्रियुगा नगर कमिटी सचिव राकेश चौधरीले गरेका थिए । कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटी तथा वडा कमिटीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।