काठमाडाैं । सर्लाहीको बागमती नगरपालिकाको केही बर्ष अघिसम्म मध्यपूर्वी तराईका अन्य आम पालिकाजस्तै सरदर परिचय थियो । तर, गत वर्षदेखि यसको परिचयमा विशेषता थपिएको मात्र छैन, यसले अन्य पालिकाहरुलाई उदाहरण नै प्रस्तुत गरेको छ ।
यस नगरपालिकाका मेयर भरत थापाले १२ नम्बर वडामा रहेको सुख्खा बगरमा ठूलो ताल निर्माणको सोच बनाएनन् मात्र त्यसलाई साकार नै बनाए । झण्डै १४ वटा फुटबल मैदान बराबरको आकारको विशाल तालमा हाल स्टिमर र ढुंगा चल्छन् । अहिलेसम्म उक्त तालमा पाँच लाखभन्दा धेरै स्वदेशी र विदेशी पर्यटक पुगिसकेका छन् । यो ताल नगरपालिकाको स्थायी आम्दानीको स्रोत बन्ने लक्षण देखिइसकेको छ ।
स्थानीयवासीले ताल निर्माणको बहुआयामिक फाइदा पाउन थालिसकेका छन् । वरपरका बस्तीका इनार र चापा कलहरुमा सुकेका मूलहरु फुट्न थालेका छन् भने छेउछाउका जमिनको उर्बरा शक्ति बढ्न थालेको छ । चराचुरुङ्गी, वन्यजस्तुदेखि लिएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्दै गएको छ ।
सामाजिक, आर्थिक र पर्यावरणीय महत्वको यस्तो कामको अगुवाई गर्ने मेयर भरत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् । मधेश प्रदेशमै नमूना र सिर्जनशील कामको सुरुवात गरेर मेयर थापाले स्थानीय तहमार्फत् मानिसको जीवन र प्रकृतिमा परिवर्तन ल्याउन सक्ने देखाएका छन् ।
सीमान्तकृत र पछि पारिएको थारु जातिको बाहुल्य रहेको बर्दियाको बारबर्दिया नगरपालिकाको नेतृत्व गरिरहेका दुर्गाबहादुर थारू ‘कबिर’ले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको शान्तिपूर्ण क्रान्तिको हाल उल्लेख्य चर्चा भइरहेको छ । पूर्वजनमुक्ति सेनाका कमाण्डर ‘कबिर’ले मानिसको जीवनलाई परिवर्तन गर्ने आधारभूत तत्व नै शिक्षा भएको महशुस गर्दै आफ्नो कार्यकालको ४ वर्ष ९ महिनामा उदाहरण स्थापित गरेका छन् ।
मेयर थारुले नगरपालिकाकै अनुदानमा ११५ जना शिक्षक राखेर, पुराना भवन मर्मत गरेर, भवन नभएका ठाउँमा नयाँ बनाएर, विद्यालयमा घेराबारा गरेर, चरनस्थललाई खेलमैदानमा रूपान्तरण गरेर आफ्नो अभियान थालेका थिए । त्यस्तै, नगरपालिकाले छात्रवृत्तिअन्तर्गत एक–एक जनालाई एमबीबीएस, इञ्जिनियरिङ र सीए (चार्टर्ड अकाउन्टेन्सी) पढाउने सम्पूर्ण खर्च व्यहोर्ने नीति पारित गरे । नगरपालिकाले हरेक वर्ष ५० जनालाई अन्य विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्न पूर्ण छात्रवृत्ति दिएको छ ।
शिक्षामा गरेको लगानीको प्रतिफल आउन केही समय लाग्छ । तर, अन्य पार्टीबाट नेतृत्व गरेका पालिका प्रमुखहरुले मानिसको जीवनमा खासै सकारात्मक प्रभाव नपर्ने संरचनामा खर्च गरिरहँदा वा भ्रष्टाचार गरिरहँदा माओवादी केन्द्रबाट निर्वाचित यी मेयरले शिक्षामा नमूना नै पेश गरेका छन् ।
शिक्षामात्र होइन बारबर्दिया नगरपालिकामा स्वास्थ्य क्षेत्रमा पनि लोभलाग्दो काम भएको छ । यस नगरपालिकाले आफ्नै अस्पताल सञ्चालन गरेको छ, जुन बर्दियाका अन्य कुनै पालिकाले हालसम्म गर्न सकेका छैनन् । नगरपालिकाले सञ्चालन गरिरहेको १५ शैयाको आरसी चौधरी मेमोरियल अस्पतालले २५ शैयाको अस्पतालसरह सेवा दिइरहेको छ । यसलाई निकट भविष्यमै ५० शैयामा स्तरोन्नति गर्ने मेयर थारुको योजना छ ।
चितवनको भरतपुर महानगरपालिका राजनीतिक कारणले मात्र होइन, ठूला विकास निर्माणका कारणले पनि चर्चामा आएको छ । माओवादी केन्द्रकी युवा नेता रेणु दाहालले जनताप्रति समर्पित भएर काम गर्दा परिणाम निकाल्न सकिंदो रहेछ भन्ने प्रमाणित गरेकी छन् । मेयर दाहालको कार्यकालमा महानगरपालिकाभित्र ६५० किलोमिटर नयाँ सडक बनेको छ । यही अवधिमा ६१० किलोमिटर सडक कालोपत्रै भइसकेको छ र ४० वटा स्वास्थ्य संस्था स्थापना भएका छन् । सिटी हल निर्माण भइरहेको छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा महानगरले भरपुर सहयोग गरिरहेको छ ।
यी त केही उदाहरणमात्र हुन् । माओवादी नेतृत्वले जितेका अधिकांश पालिकाहरुले उदाहरणीय काम गरेका छन् । गत महिना राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएका पालिकाहरुको सूची सार्वजनिक गरेको थियो । ती उत्कृष्ट पाँच पालिकामध्ये तीनवटा पालिकाहरुमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित प्रमुख छन् । पहिलो नम्बरमा आएको डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट छन् भने तेस्रो नम्बरमा आएको कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी छन् । त्यस्तै, पाँचौ नम्बरमा रहेको गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल छन् ।
नेपालको संवैधानिक आयोगले गरेको मूल्यांकनले नै माओवादीबाट निर्वाचित मेयर÷अध्यक्षले नेतृत्व गरेका पालिकाहरुमा कार्यसम्पादन उत्कृष्ट भएको देखाएको छ । तथ्यांक आफै बोलिरहेको छ । गोरखाको सहिद लखन गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनको आधारमा जिल्लाको दोस्रो गाउँपालिका बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा सहिद लखन जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो ।
मुल्याङ्कनमा गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका गरी ११ वटा स्थानीय तहमा सहिद लखन गाउँपालिका दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो । माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकाले ६३.४६ अंक प्राप्त गरेर जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको आयोगले जनाएको छ । संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो ।
कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए । समयमै बजेट पेश गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकनका आधारमा नम्बर दिइने गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । आब ०७६÷७७ मा सहिद लखन गाउँपालिका सबैभन्दा कम बेरुजु देखिएर जिल्लाको ‘सर्वोत्कृष्ट’, नेपालभरीकै चौथो ‘उत्कृष्ट’ बन्न सफल भएको थियो ।
सहिद लखन गाउँपालिकामा ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ ८ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिशतका आधारमा यो ०.१० प्रतिशत हुन प्रतिशत हुन आउँछ । यहाँ स्मरणीय छ, गत स्थानीय तहमा माओवादीले अन्य दुई ठूला दलभन्दा कम पालिका प्रमुखमा जित हासिल गरेको थियो । तर, जतिमा जीत हासिल गरेको छ, अधिकांशमा अन्य पार्टीले नेतृत्व गरेका पालिकाभन्दा राम्रो काम भएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखहरुले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा जोड दिने, पर्यावरण जोगाउन ध्यान दिने, विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्ने काम गरिरहेका छन् । उनीहरु ज्यादा सिर्जनशील देखिएका छन् र जनताको पक्षमा काम गरौं भन्ने भावना उनीहरुमा बढी देखिएको छ ।