उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ की कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा कविता सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेकालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका हत्या आरोपीतहरुलाई सार्वजनिक गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका कविताकै सहपाठी सरस्वती ढकालखत्री उर्फ सरिताले दाई विनोद ढकालखत्रीसँग मिलेर हत्या गरेको बयान दिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मृतक कविताले सरितालाई स–सानो कुरामा होच्याउने, चिड्याउने गरेकाले दाई विनोदसँग मिलेर प्रतिशोध साँध्न हत्याको योजना बनाइ हत्या गरेको बयानमा पाइएको छ ।’
पक्राउ पर्नेमा बेलका नगरपालिका ३ कै सरिता र भारतको सिक्कीम घर भइ हाल काकाको घर बेलका नगरपालिका ३ मै बस्दै आएका विनोद छन् । एसपी बोहोरा भन्नुहुन्छ, ‘हत्याको योजना बनाइ ट्युसन पढ्ने समयमासँगै जान बोलाएर लगी हत्या गरिएको हो ।’ पक्राउ परेकाहरुको बयान अनुसार कवितालाई पछाडीबाट विनोदले वियरको बोतल प्रहार गरी घाइते बनाएर ढुंगाले हानी हत्या गरेको बयान दिएको बोहोराको भनाइ छ ।
मृतक कविता र पक्राउ परेकी सरिता स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत थिए । प्रहरीले जिल्ला अदालत उदयपुरबाट अरोपिता प्रतिवादी सरितालाई ५ दिन र विनोदलाई ७ दिन म्याद थपी थप अनुसन्धान पनि अघ बढाएको बताइएको छ । प्रहरीले पक्राउ परेकी सरितालाई नावालिका रहेको भन्दै दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । हालसम्मको अनुसन्धानले हत्यामा ती दुईजना मात्र संलग्न देखिएको प्रहरीले जनाएको छ ।
हत्यापछि घरै बसेका दाजु–वहिनीलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो । प्रहरीले उनिहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ । मृतकको बुवा कृष्ण सुनुवारले हिजै मंगलबार उनीहरुको नामसहित किटानी जाहेरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडी बढ्ने क्रममा बुधबार दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ ।
मृतक किशोरीको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र मृतक परिवारका आफन्तहरुले शव जिम्मा लिन मानेको थिएन । सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । हत्यारा सार्वजनिक भएपछि भने परिवारले मृतक किशोरीको शब बुझेर सद्गद् गर्ने तयारी गरेको जनाइएको छ ।