अगामी बैखाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच देशैभरी चुनावी तालमेल हुने भएको छ । गठबन्धनमा आवद्ध दलहरुमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी, राष्ट्रिय जनमोर्चा छन् । देशैभरी गठबन्धनकाबीच हुने चुनावी तालमेल उदयपुरमा के हुन्छ ? कसरी तालमेल हुन्छ ? यीनै विषयमा केन्द्रित रहेर नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीसँग जनभाव व्युरोले गरेको कुराकानी प्रस्तुत छ ।
जनभाव डटकममा स्वागत छ ?
धन्यवाद !
अब हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु चुनावी तालमेल गरेर अघि बढ्नु पर्ने कारण के होला ?
पहिलो कुरा, गठबन्धन के का लागि निर्माण भयो भन्ने कुरा बुझ्नु पर्छ । राष्ट्रिय राजनीतिमा आएका परिवर्तन र नेपाली जनताले प्राप्त गरेका उपलब्धीलाई विभिन्न कोणबाट आक्रमण भयो । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वको सरकार, जुन ढंगबाट अघि बढ्यो । संविधान विपरितका कामहरु गर्न थाल्यो । दुई/दुई पटक जननिर्वाचित प्रतिनिधिसभालाई भंग गरेर प्रतिगमनको दिशातिर अगाडी बढेको, सबैको सामु प्रष्ट छ । त्यसपछि गठबन्धनमा आवद्ध दलहरुले राष्ट्रिय आवश्यकताको महशुस गरेर, संविधानको रक्षा, मुलुकलाई प्रतिगमनबाट बचाँउनको लागि राष्ट्रिय रुपमा नै निर्माण भएकाे यो गठबन्धन हो । त्यो प्रतिगमनको खतरा अझै पनि छ । त्यसकारण गठबन्धनमा आवद्ध दलहरुबीच अझै घनिभुत एकता हुनुपर्छ । त्यही एकताको महशुस गरेर नै अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म गठबन्धन कायम गरेर जाने भन्ने केन्द्रीय निर्णय छ । त्यही निर्णय अनुसार हामी पनि अघि बढेका छौँ । प्रतिगमनको खतरा नटरेकाले नै, गठबन्धन कायम छ ।
प्रतिगमनको खतरा अझै छ । त्यसो भएकाले प्रतिगमनकाविरुद्ध गठबन्धन एक भएर अघि बढ्छ ?
बढ्छ । तत्कालिन सरकारले (केपी शर्मा ओली नेतृत्वको एमाले सरकार) यो मुलुकलाई जुन ढंगले सञ्चालन गर्न खोज्यो । तत्कालिन पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले दम्भ, घमण्ड देखाउँदै, गलत ढंगबाट मुलुकलाई डोर्याउन खोजेपछि, मुलुकलाई सही दिशा दिनको निम्ती बनेको गठबन्धन हो । त्यसो भएकाले, अब हुने तीनै तहको निर्वाचनसम्म यो गठबन्धन कायम रहन्छ ।
स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा गठबन्धनमा आवद्ध दलहरुबीच पनि तालमेल हुन्छ ?
स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा पनि गठबन्धनमा आवद्ध दलहरुबीच तालमेलनै हुन्छ । उदयपुरमा गठबन्धनकाबीच बैठक बसेर हदैसम्मको लचकता आपनाएर तालमेल गर्ने सैद्धान्तिक रुपमा आधिकारिक निर्णय नै भएको छ । तालमेल गरेर जाने भन्ने आधिकारिक निर्णय नै भइसकेको छ । उदयपुरमा गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल हुन्छ ।
त्यो सैद्धान्तिक निर्णय कसरी कार्यन्वयन हुन्छ होला ?
जिल्लादेखि पालिका हुँदै वडासम्म हामी छलफल, वहस गरिरहेका छौँ । पालिकाहरुमा पनि, त्यहाँ रहेका गठबन्धनमा आवद्ध दलहरुको कमिटीले तालमेल गरेर नै अघि बढ्ने भनेर निर्णय गरिसकेका छन् । पार्टीको सांगाठानिक धरातल, मतदाताको मनोभाव, २०७४ सालको प्राप्त मत लगायतलाई विभिन्न कोणबाट अध्ययन सुरु भएको छ । विशलेष्ण सुरु भएको छ । एक प्रकारको कार्यन्वय पनि सुरु भएको छ । गठबन्धनमा आवद्ध दलहरुबीच एकताबद्ध भएर तालमेल हुन्छ । तालमेलको वहस, छलफल अघि बढेको छ ।
कांग्रेसमा संस्थापन इतरपक्ष गठबन्धनको विपक्षमा छ ? गठबन्धन गर्नु हुँदैन भनेर विरोध गरिरहेको छ नि ?
कांग्रेसभित्र यस विषयमा दुईधार छ । केन्द्रीय समितिले सर्वसहमत निर्णय गरिसकेको छ । आवश्यकताको आधारमा गठबन्धन गरेर नै जाने भनेको छ । जिल्ला तहमा, गाउँ तहमा, टोल तहमा, कस्ले, कुन साथीले के भन्नुहुन्छ, भन्ने होइन् । कुन स्वार्थबाट, कुन उदेश्यबाट गठबन्धन गर्नु हुँदैन भन्दैहुनुहुन्छ ? त्यसको खासै अर्थ छैन् ? कांग्रेसको सबै पालिको संस्थागत बैठकबाट गठबन्धन गरेर जाने निर्णय भइसकेको छ । व्यक्तिगत कुराहरु गौण हुन्छन् । माथिबाट आवश्यकता अनुसार गठबन्धन गरेर जाने भनेको छ । हाम्रो पनि यहाँ आठवटै पालिकामा गठबन्धन गरेर जाने भनेर निर्णय गरिएको छ । कुन पालिका, कस्को भागमा भन्ने कुराको छलफल भएको छैन् । त्यो पछि हुन्छ ।
चुनावी घोषणा पत्र गठबन्धनको एउटै हुन्छ कि ? दल अनुसार फरक/फरक हुन्छ ?
केन्द्रको घोषण पत्र केन्द्रले जारी गर्छ । स्थानीय स्तरमा हामी आँफैँ जारी गछौँ ।
केन्द्रले गठबन्धनमा आवद्ध दलहरुको संयुक्त घोषणा पत्र पठाउँछन् त ?
आउन सक्छ । चुनाव संयुक्त रुपमा लडेपछि साझा कार्यक्रमहरु आउनु नै पर्यो ।
गठबन्धनमा आवद्ध दलहरुबीच उदयपुरमा कसरी भागबण्डा हुन्छ ? जिल्लाका आठवटै स्थानीय तहमा भागबण्डाको आधार के हुन्छ ?
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको मत परिमाण र पार्टीको सांगाठानिक संरचना लगायतका आधारलाई अध्ययन गरेर भागबण्डा हुन्छ । भागबण्डामा समस्या छैन् । यो सहज तरिकाले हुन्छ ।
नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापति हुनुहुन्छ । गठबन्धनको बारेमा संस्थापन इतर पक्षका कांग्रेसीहरुले विरोध गरिरहेका छन् । यदी भोलिका दिनका कांग्रेसको भागमा नपरेको स्थानीय तहमा कांग्रेसका नेताहरुले उम्मेदवारी दर्ता गरे भने के हुन्छ ?
कारवाही हुन्छ । पार्टीको निर्णय विपरित गए, पार्टीको विधान बमोजिम कारवाही हुन्छ । विधान अनुसार स्वतः कारवाही हुन्छ । गठबन्धनविरुद्ध जान कांग्रेसी कार्यकर्ताहरुलाई छुट छैन । जानु पनि हुँदैन ।
तपाँई प्रदेश १ सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्री पनि हुनुहुन्छ ? तपाँईको नेतृत्वमा रहेको उक्त मन्त्रालयबाट उदयपुर जिल्लामा कस्ता/कस्ता विकास निर्माणका आयोजना आएका छन् ?
प्रदेश सरकार पनि गठबन्धनको सरकार हो । हामी चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिएपछि मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका थियौँ । हामीले उदयपुरलाई मात्र होइन् । प्रदेश १ का १४ वटै जिल्लामा नयाँ योजनाहरु लगिरहेका छौँ । हामीले अघिल्लो सरकारले ल्याएका योजनाहरुलाई पनि अघि बढाएका छौँ । काम छिटो र छरितो ढंगबाट अघि बढाउन पहल गरेका छौँ । उदयपुर जिल्लाको हकमा साना/ठूला थुप्रै समस्याहरु छन् । सडकका, खानेपानीका, पुलका समस्याहरु छन् । यही समस्याहरु मेरो मन्त्रालय अन्र्तगत पर्दछन् । मैले उदयपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै गर्दा, ठोस योजनाहरु ल्याउन पर्छ भन्ने तयारीमा छु । धेरै कुरा गर्न नसकेपनि जनताले अपेक्षा गरे अनुसार काम गर्ने कोशिस गरिरहेका छौँ । ठूला पुल बनाउने कुरामा । नदी नियन्त्रणको कुरामा बढी ध्याँन दिन जरुरी छ । त्यसको लागि आउने आर्थिक वर्षमा उदयपुर जिल्लाका केही नयाँ योजनाहरु समावेश गर्ने तयारीमा छौँ । केही नमुना काम गर्ने गरी प्रदेश १ सरकार अघि बढेको छ ।
तपाँइको प्रदेशसभा निर्वाचन क्षेत्र त्रियुगा हो । त्रियुगा क्षेत्रमा हजुर निर्वाचित भएपछि के–के काम गर्नु भयो ?
मेरो निर्वाचन क्षेत्र त्रियुगा नगरपालिका क्षेत्र हो । नगरपालिका भएर पनि अत्यन्तै पछाडी परेका टोल तथा बस्तिहरु छन् । मैले त्यही पछाडी पारिएका टोल बस्तिलाई जोड दिने गरेको छु । बहुवर्षे सडकको रुपमा देउरी, श्रीपुर, दमौती, बुर्जाकान्ला, लालपत्ता घनचक्रे, पतले सडक परेको छ । त्यो सडकको अहिले काम भइरहेको छ । त्यही सडकमा पर्ने देउरी खोलामा पुल बनिरहेको छ । खानेपानी योजनाहरुको काम भइरहेका छन् । मेरो क्षेत्रमा सडक, खानेपानी, पुलहरुको काम धमाधम भइरहेको छ । धेरै काम भएका छन्, भन्दा फरक नर्पला ।
अन्तिममा केही भन्नु छ ?
म अन्तिममा गठबन्धनको आवश्यकता किन पर्यो ? किन गठबन्धन गरेर चुनाव लड्नु पर्यो ? यी सबै कुरा हामी बुझाउँछौँ । तत्कालिन नेकपा एमालेको दुई तिहाईको सरकारले जनताको काम जुन ढंगले गर्नु पर्ने थियो । त्यो गरेन । त्यसो भएकाले यो देशलाई अघि बढाउनको लागि बनेको गठबन्धन हो । २०६२/२०६३ सालको जनआन्दोलनदेखि भनौँ । वा माओवादीको १० वर्षे जनयुद्धको कुरा गरौँ । जनआन्दोलनमार्फत जनयुद्ध गरेको माओवादीलाई पनि शान्तिप्रक्रियामा ल्याउने काम कांग्रेस नै गरेको हो । देशको विकास र सम्बृद्धिलाई पनि कांग्रेसले अघि बढाइरहेको छ । यस गठबन्धनमा आवद्ध दलहरु सैद्धान्तिक कुराहरु फरक छन् । यो गठबन्धन गर्नु भनेको पार्टी एकीकरण गर्नु पनि होइन् । आ–आफ्नाे नीति विचारलाई यथास्थानमा राखेर, मुलुकको भविष्यको निम्ती बनेको गठबन्धन हो । त्यस कारण स्थानीय पालिकाहरुको भविष्यका निम्ती, जनताको सम्बृद्धिको यात्राको निम्ती, गठबन्धनका उम्मेदवारलाई मतदान गरेर स्थिर सरकार बनाउनु अहिलेको आवश्यकता हो । सबैको साझा अपनत्व हुनेगरी स्थानीय तहमा जनप्रतिनिधिहरुको निर्वाचित गर्नुपर्छ । हामी जनतालाई यही कुरा बुझाउने छौँ । हामीलाई विश्वास छ । जनताले हाम्रो अभियानलाई साथ दिनुुहने छ ।
कुराकानीको लागि समय दिनु भयो, हजुरलाई धन्वयवाद !
धन्यवाद ।