सिन्धुली । सिन्धुलीको मुहसर बस्तीका भूमिहीन दलितलाई आज जग्गाको लालपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुलीमार्फत् त्यहाँको दुधौली नगरपालिका वडा नं ९ स्थित मुसहर बस्तीमा १०६ भूमिहीन घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो ।
भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताउनु भयो ।
उत्पीडित उपेक्षित वर्ग, जाति, लिङ्ग र समुदायलाई सधैं आफूहरुले प्राथमिकतामा राख्ने भन्दै माओवादी नेतासमेत रहनुभएका मन्त्री श्रेष्ठले माओवादी नेतृत्वमा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी भएदेखि नै काम द्रूतरुपमा अघि बढाएको बताउनु भयो ।
भूमिहीनलाई भूमि उपलब्ध गराउने अभियानमा सिङ्गो देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको पनि बताउनु भयो ।
मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँ ब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार संविधानको कार्यान्वयन र भूमिहीनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोगमार्फत शुरु भइसकेको छ, निर्वाचन आचारसंहिताका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भए पनि निर्वाचनलगत्तै पुनः कामले तीव्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपूर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम शुरु गरिसकिएको छ ।’
मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनुपर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागि परेको पनि बताउनु भयो ।