अधेँरी । उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा नम्वर ७ मा पर्ने अधेँरी खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । प्रदेशसभा १ का सदस्य नारायण बुर्जामगरको पहलमा उक्त स्थानमा झोलुङ्गे पुल बन्ने भएको हो ।
उक्त पुलको शिलन्यास प्रदेशसभा १ का सदस्य बुर्जामगरले केही दिन अघि गर्नु शिलन्यास गर्नु भएको थियो । उक्त झोलुङ पुलले अधेँरी, नाङराङे, कौवाई राजावास, कटरबारी, नाम्जे र रमितेलाई मदन भण्डारी राजमार्गसँग जोड्ने छ । उक्त स्थानमा झोलुङ्गे पुल नहुँदा वर्खायाममा अधेँरी खोला पारी रहेका गाउँहरुमा आवत जावत गर्नसमेत समस्य हुँदै आएको थियो ।
उक्त स्थानमा पुल बन्ने भएपछि वर्खायाममा अधेँरी, नाङराङे, कौवाई राजावास, कटरबारी, नाम्जे र रमिते गाउँका स्थानीयले छोटो दुरीबाट गाउँ पुग्न पाउने अधेँरी झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शोभा कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘वर्खायाममा वारी पारी गर्नसमेत समस्या थियो, अब बन्ने झोलुङ्गे पुलबाट मोटरसाइकल समेत आवतजावत गर्न सकिने छ ।’
झोलुङ्गे पुलका प्राविधिक योगेन्द्र श्रेष्ठले प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेटमा ४५ लाख ६४ हजार ४५० रुपैँया विनियोजन गरेको बताउनु भयो । उहाँका अनुसार २३ लाख ९२ हजार ९८४ रुपैँयाको उपभोक्ता समितिमार्फत काम हुने छ, भने बाँकी १५ लाख २९ हजार ९१२ रुपैँयको काम ठेक्का मार्फत हुने भएको छ ।
पुलको शिलन्यास गर्दै प्रदेश १ सभा सदस्य बुर्जामगरले चुनावकै बेला उक्त स्थानमा पुलको आवश्यकता देखेकाले प्रदेश सरकारलाई अनुरोध गरेर निर्माण गर्न लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले मेरो प्रदेशसभा निर्वाचन क्षेत्रमा देखेका, भोगेका जनताका समस्य सकेसम्म हल गर्दै आएको छु, यहाँ पनि पुल अपरिहार्य देखेकाले प्रथामिकतासाथ पहल गरेको हुँ । अब बन्ने भयो, ढुक्क छु ।’
उक्त शिलन्यास कार्यक्रममा नेकपा माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका सचिव भुवन मगर, सहसचिव होम बस्नेतसँगै विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।