उदयपुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको देशव्यापी रुपमा सुरु भएको एक महिने चुनावी अभियान उदयपुरमा पनि सुरु भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबार एक महिने जागरण अभियान अन्र्तगत ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस एमसीसी पास भए यहाँ अमेरिकी सेना आउने भ्रम कम्युनिष्ट हरुले आफ्नो राजनीतिक रोटी सेकाउन निकालेको मुद्धा बनाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी वैदेशिक रोजगारीको नाममा मान्छे बेचेका बेच्यै छौँ, यसले देश समृद्ध बनेन, त्यसैले मान्छे बेच्ने कुरा कांग्रेसले रोक्न चाहेको हो ।’
अमेरिका र चीनका आ–आफ्नो स्वार्थ भएकाले संसारभर प्रभाव जमाउन लागिपरे पनि कांग्रेस कुनै पनि देशको पक्षमा नलाग्ने बताउनु भयो ।
महामन्त्री शर्माले गठबन्धन स्थानीय स्तरको आवश्यकता अनुसार मात्र बन्ने कुरा ढुक्क हुन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको आवस्यकता अनुसार केन्द्र बाट खटिएका प्रतिनिधि र स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन हुन्छ, जनकपुरमा गठबन्धन भए उदयपुरमा पनि गठबन्धन हुने कुराको भ्रममा नरहनुस ।’
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार, केन्द्रिय सदस्य नारयण कार्की, केन्द्रिय प्रतिनिध तथा केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार, प्रदेश १ का सहमहामन्त्री विनोद बस्नेत, पार्टीका निवर्तमान सभापति बिदुर बस्नेत, पूर्व पार्टी सभापति अर्जुन खड्का लगायत पार्टीका क्षेत्रिय सभापती द्धय राम कुमार राई, खगेन्द्र राईले सम्बोधन गर्नुभएको थियो ।