उदयपुर । निर्माणधिन कोल्टे मैनटार, चुरुम्फा, लिम्चुङबुङहुँदै खोटाङ हलेसी जोड्ने एकसय पाँच किलोमिटर दुरीको सडकले चुरे जंगलभित्रका बस्तिहरुमा यातयातको पहुँच पुगेको छ । उक्त सडक खण्डमा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा नम्वर ७ का कोल्टे, घ्याम्पे, हाडेवास लगायतका बस्तिलाई सडकको पहुँचमा जोडेकाले स्थानीय खुसी छाएको छ ।
स्थानीय शंकर पुलामी मगर भन्नुहुन्छ, ‘कोल्टे मैनटार बाघखोर हुँदै लिम्चुङबुङबाट हलेसी जोड्ने सडकले चुरे क्षेत्रका आसपासमा गरेका सर्वसाधरणलाई यातयातको पहुँचमा सहज रुपमाले जोडेको छ ।’ त्यस गाउँमा यस अघि पनि सडक पुगेपनि हिउँदा मात्र सञ्चालन हुने र वर्खामा बन्द हुने सडक पुगेको थियो । अहिले हिउँद वर्खानै चल्ने सडक बनेको पुलामी मगरको भनाइ छ ।
पुर्व पश्चिम राजमार्ग र मदन भण्डारी राजमार्गलाई जोड्ने कोल्टे मैनटार बाघखोर हुँदै लिम्चुङबुङबाट हलेसी जोड्ने सडक भएको नेकपा (माओवादी) केन्द्र उदयपुरगढी गाउँपालिका सचिव भुवन केप्छाकी मगरको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो सडक मधेस प्रदेशको सिमानामा पर्ने उदयपुरगढी गाउँपालिकाको वडा नम्वर ७ कोल्टेबाट बाघखोर हुँदै लिम्चुङबुङ गाउँपालिबाट सिधैँ खोटाङको हलेसी जोड्ने सडक हो । अहिले पहिलो चरणमा कोल्टे बाघखोर सडकमा पर्ने २० किलोमिटरलाई हिउँद वर्खा नै चल्ने बनाइएको छ ।’
मधेस प्रदेशको सप्तरी जिल्लाको सुरुङगा नगरपालिका हुँदै प्रदेश १ को उदयपुरमा पर्ने उदयपुरगढी गाउँपालिका कोल्टे बाघखोर, रौतामाई गाउँपालिका माझखर्क हुँदै लिम्चुङबुङ गाउँपालिकामा पर्ने बतासेघाट हुँदै खोटाङ हलेसी जोड्ने छोटो दुरीको सडक अहिले धमाधम निर्माण भइरहेको छ । उक्त सडकले चुरेका वस्तिहरुलाई यातयातको पहुँचसँग जोडेको स्थानीयको भनाइ छ ।
प्रदेश १ सरकारको बहुवर्षे योजना अन्र्तगत कुल २७ करोड २९ लाख ९१ हजार ४१७ रुपैँया लागत रहेको कोल्टे, मैनटार बाघखोर खण्डमा पर्ने २० किलोमिटरमा अहिले काम जारी छ । सडकलाई चौडा बनाउने, नाली बनाउने र ग्राबेलको काम भईरहेको पूर्वाधार कार्यालय उदयपुरका इन्जिनियर तथा सूचना अधिकारी रमेश कार्कीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले कोल्टे बाघखोर खण्डमा पर्ने २० किलोमिटरमा काम भइरहेको छ ।’
उक्त सडकको निर्माण काम एपेक्स जोशी पवित्रा जेभि गाईघाटले गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा केही त्रुटी भएकाले वन क्षेत्र, विद्यालय र बस्तिहरुमा सडक निर्माण गर्न समस्या हुने गरेको एपेक्स जोशी पवित्रा जेभि गाईघाटका प्रतिनिधि सुदिप दाहालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जहाँ काम गर्न समस्या पर्दछ, त्यहाँ पूर्वाधार कार्यालयका प्रतिनिधिहरुको सहयोगमा काम गर्नु परेको छ । पूर्वाधार कार्यालयको सहयोगमा नै काम भइरहेको छ, डिपिआर अनुसार काम गर्न समस्या छ ।’
२०७६ पुस २७ गते ठेकेदार कम्पनी र प्रदेश १ सरकारबीच २०७९ साल असोज ५ गते सम्पन्न गर्नु पर्ने गरी सम्झौता भएको छ । सोही सम्झौता अनुसार उदयपुरगढी गाउँपालिकामा पर्ने कोल्टे, मैनटार, बाघखोर सडकको २० किलोमिटर सम्पन्न हुने छ । यता बाघ खोरदेखि रौतामाई गाउँपालिकाको माझखर्कसम्म २५ किलोमिटर खण्डमा बाँकी रहन्छ । त्यसको पनि काम गर्न प्रदेश सरकारले तयारी थालेको प्रदेश १ का प्रदेशसभा सदस्य नारायण बुर्जा मगर बताउँनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘पहिलो चरणमा कोल्टे, मैनटार बाघखोर २० किलोमिटर सम्पन्न हुने छ भने दोस्रो चरणमा बाघखोर मार्झ २५ किलोमिटर पुरा हुने छ । जसबाट लिम्चुङबुङहुँदै खोटाङको प्रसिद्ध धार्मिक स्थल हलेसी जोडिने छ ।’ माझखर्क लिम्चुङबुङ हुँदै खोटाङ हलेसी जोड्नलाई सडकको ट्रयाक खुलिसकेको छ । उक्त सडक उदयपुरको भागमा ८० किलोटर खोटाङको भागमा १५ किलोमिटर पर्दछ । उक्त सडक सम्पन्न भएपछि मधेस प्रदेश र छिमेकी देश भारतको विहार राज्यबाट एकै दिनमा हलेसीको दर्शन गर्न पुगिने छ ।