उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा आपराधिक गतिविधिप्रति निगरानीका लागि जडान गरिएका सिसि क्यामेरा मर्मत–सम्भार नहुँदा प्रयोग विहीन भएका छन् । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्र र आसपासमा हुनसक्ने आपराधिक गतिविधि निगरानीको उद्देश्यले सिसि क्यामेराहरु जडान गरिएको थियो । तर, मर्मत सम्भार नहुँदा प्रयोगविहीन भएको छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले मर्मतकै अभावमा बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा मर्मत कै अभावमा प्रयोगविहीन भएकाले शान्ति सुरक्षामा समस्या आइपरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘सडकहरु मर्मत गर्दा सडक छेउमा गाडिएका पोलहरु सार्दा झिकिएका सिसि क्यामेराहरु अझै जडान भएको छैन्, अनि बिग्रेको ठाउँका अझै पनि नबनाइएकाले नागरिक सुरक्षाको लागि समस्या छ । हामी स्थानीय तह लगायतसँग समन्वय गरिरहेका छौँ ।’
२०७५ र २०७६ सालमा गरी जम्मा ३३ वटा सिसी क्यामेरा जडान गरिएको थियो । त्यसमध्ये हाल ७ वटा मात्र चालु छन्, भने बाँकी बिग्रेका छन् । दुई आर्थिक वर्षमा त्रियुगा नगरपालिकाको ७ लाख ५० हजार, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको २ लहा ५० हजार गरी कुल १० लाखको लगानीमा सिसि क्यामेरा जडान गरिएको थियो ।
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाइलीले मर्मत गर्नुपर्ने आवश्याकता रहेको बताउनुभयो । सिसि क्यामेरा विद्युतीय प्रविधि भएकाले बेलाबेला मर्मत–सम्भारको आवश्यकता पर्दछ । घाम, पानी, हावा–हुण्डरी, असिना जस्ता प्राकृतिक कुराले पनि विग्रन सक्दछ । कतिपय अवस्थमा विद्युत सर्ट हुने, मेसिनमा खराबी जस्ता कुराले पनि विग्रने गर्दछ । उक्त सिसि क्यामेराको जडान भेटेरण इलेक्ट्रोनिक्स काठमाडौंले गरेको थियो ।
सिसि क्यामेराको लगानीकर्ता र जडान गरिदिने संस्थाबीच मर्मत–सम्भारको सम्झौता हुनेगर्छ । तर, त्यो अनुरुपको काम भएको देखिदैन् । अहिले मुख्य–मुख्य ठाउँ र विशेष सम्बेदनशील ठाउँहरुकै क्यामेराहरु चालु अवस्थामा नरहेको गुनासो स्थानीयहरुको छ । बजार क्षेत्र अलवा त्रियुगा बसपार्क, बोक्से चौक, बैंक लाइन, विपी चोक, पीजी चोक, मेनचोक र बजारसंग जोडिने विभिन्न सडकको नाकाहरुमा सिसि क्यामेरा जडान भएका छन् । तर, जडान भएपछि आवश्यक मर्मत–सम्भार नहुँदा वेकाम बनेका छन् ।
हाल बजार क्षेत्रमा निजिरुपमा सिसि क्यामेरा जोड्नेको संख्या पनि बृद्धि भएको छ । तर, उनीहरुले आप्mनो निश्चित क्षेत्रमा सिमित पार्ने भएकाले बाह्य आपराधिक गतिविधिको निगरानी हुन सकेको अवस्था छैन । पहाडी भेग र तराई क्षेत्रको संगमस्थलको रुपमा रहेको गाईघाट पूर्वपश्चिम मदनमण्डारी राजमार्ग जोडिएपछि शान्ति, सुरक्षामा थप चुनौतीपूर्ण बनेको छ ।