उदयपुर । जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएकी गर्भवतीका आफन्तजनले उचित क्षति पुर्ति नपाइकन शव नबुझने भएका छन् । गएको विहीबार राती उदयपुरगढी गाउँपालिका ६ नेपालटारकी ३२ वर्षिय गर्भवती सीता राउत कार्कीको मृत्यु भएको थियो ।
मृत्यु भएपछि आक्रोशित भएका आफन्तहरुले जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरुको चरम लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका छन् । आफन्तहरुले अस्पतालमा कार्यरत दोषी स्वास्थ्यकर्मीलाई छानविन गरी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
पीडित पक्षको आन्दोलनका अगुवासँग जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार दिनभर वार्ता गरेको थियो । तर, वार्ता पनि विना निस्कर्ष टुगिंएको पीडित पक्षले जनाएको छ । पीडित पक्षका अगुवा जेवि खड्काले अस्पतालका डाक्टरहरुको लापरवाहीको कारण गर्भवतीको मृत्यु भएको आरोप लगाउँदै भन्नुभयो, ‘विरामीसँगै बसेका कुरुवाहरुको कुरा सुन्दा पनि चिकित्सकहरुको लापरवाही छ, एउटा समान्य मानिसले पनि लापरवाहीको कारण गर्भवतीको मृत्यु भएको प्रष्ट थाहा पाउँछ, अहिले अस्पताल प्रशासन डाक्टरहरुको लापरवाही नभएको भन्छन्, अनि क्षतिपुर्तिको मागमा समेत वेवास्ता गरिरहेका छन्, हामी शव बुझने पक्षमा छैनौँ ।’
पीडित पक्षले दिनभर आन्दोलनसमेत गरेका थिए । पीडित पक्षले आक्रोशित हुँदै अस्पतालमा नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । पीडित पक्षले अस्पताल घेराउ गर्दा इमरेजेन्सी, ओपिडी सेवा पूर्ण रुपमा ठप्प भएको छ । नेकपा एमालेका नेता तथा पीडित पक्षका अगुवा गोपाल खत्रीले जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पतालले समेत पीडित पक्षलाई वेवास्ता गरेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, ‘आजको युगमा एउटा गर्भवतीको मृत्यु हुन पनि जिल्ला अस्पताल र जिल्ला प्रशासन कर्यालयले हलुका रुपमा लिएको छ, हामीले मात्र दोषीलाई र कारवाही र पीडित पक्षको लागि क्षतिपुर्ति माग गरेका थियौँ । त्यो सुनुवाई भएको छैन् ।’
गत फागुन १८ गते नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी महिलाको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले आरोप लगाउनु भएको छ । ‘उहाँ भन्नुहुन्छ, ‘जिल्ला अस्पतालका डाक्टरहरुले १८ गते देखि नै नर्मल डेलीभरी हुन्छ भन्दा भन्दै राखेर अन्तमा श्रीमति गुमाए, “यही नर्मल सुत्केरी हुन्छ किन बाहिर लैजान्छौ भन्दा भन्दै गर्भवतीको मृत्यु हुन गयो । डाक्टरहरु हामी माथि नै झर्कने, रिसाउने गरेको थियो ।’
मृर्तक गर्भवतीकी नन्द सावित्रा कार्कीले भन्नुभयो, ‘अपरेशन गरेर भएपनि बच्चा निकाल्दिन भन्दा पनि अस्पतालको कोही कर्मचारी तथा डाक्टरहरुले एकले अर्कोलाई देखाउने गर्ने क्रममा उपचार नै नपाएर मेरो भाउजुको मृत्यु भयो ।’
हाल जिल्ला अस्पतालमा दुई जना प्रसुति गराउने डाक्टर भएपनि त्यस दिन एक जना पनि डाक्टर उपस्थित थिएनन् । उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानु राउतले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरको लापरवाहीको कारण गर्भवतीहरुले ज्यान गुमाउनु परेको धेरै घटना भएको बताउनु भएको छ । ‘आज मात्र होइन धेरै जना गर्भवती महिलाहरुले ज्यान गुमाउनु भएको छ, यस घटनाबाट सम्बन्धी निकायले पाठ सिक्नु पर्ने छ । अब हामी क्षतिपुर्ति नपाइकन शव बुभ्mने पक्षमा छैनौँ ।’
अस्पतालका प्रशासन प्रमुख विर्खबहादुर खत्रीले छलफल जारी रहेको बताउनु भएको छ । ‘गर्भवती मृत्युमा डिउटीमा रहेका को को दोषी हुनुहुन्छ ? त्यो हामी छानविन गछौँ, हामी अस्पतालको अहिले समस्या हल गर्ने नै पक्षमा छौँ ।’ यता अस्पतालका प्रमुख डाक्टर मुकेश झाले अहिले आफु बोल्न नमिल्ने बतानुभयाे ।
समस्या समाधानको उपाय खोजीरहेको छुः प्रजिअ यादव
सधैँ विशेषज्ञ डाक्टरहरुको अभाव झेल्दै आएको उदयपुर अस्पतालमा केही विशेषज्ञ सेवा सुरुवात हुनै लाग्दा यस्ता घटनाले अस्पतालको सेवा पुनः पुरानै स्थितीमा पुग्ने गरेको छ । यता उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले दोषीलाई छानविन गरेर कारवाही गर्न आफुहरु तयार रहेको भन्दै पीडित पक्षको माग सम्बोधन गर्न आफु विभिन्न निकायसँग छलफल गरिरहेको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘पीडित पक्षले राखेको माग जायज छ, अस्पतालमा डिउटीको समय रहेका स्वास्थ्यकर्मीको छानविनपछि दोषी भेटिए कारवाही पनि हुन्छ, पीडित पक्षको मागको लागि म स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकार समक्ष विभिन्न विकल्प खोजिरहेको छु ।’
उहाँले पीडित पक्षले दुई नाबालिक छोरीको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्न माग गर्नुभएकाले आफुहरु गम्भीर भएको पनि बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘हामीलाई पीडित पक्षले दुई छोरीहरुको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्न माग गर्नु भएको छ, त्यो माग पुरा गर्न विभिन्न निकायसँग छलफल गरिरहेको छु, अस्पतालमा आएको समस्या समाधान गर्न गर्न विभिन्न उपायहरु खोजीरहेको छु ।’
यी थप समाचारहरु
उदयपुरमा गर्भवती मृत्यु प्रकरणः जिल्ला अस्पताल तनावग्रस्त, सम्पूर्ण सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्यकर्मीको चरम लापरवाहीले गर्भवतीको मृत्यु