काठमाडौं । जुन बेला नेपाली राष्ट्रिय काङ्ग्रेस विभाजित भयो र खासै गति लिन सकेन, त्यसमा कार्यरत केही क्रान्तिकारी नेताहरु नवगठित नेपाल प्रजातान्त्रिक काङ्ग्रेसतिर लागे ।
तर त्यसमा पनि धनाढ्यको पकड भएको र मजदुर किसानको पक्षमा नलाग्ने देखी ती असन्तुष्ट नेता र कार्यकर्ता फेरि छुट्टै क्रान्तिकारी पार्टीको खोजीमा लागे । त्यतिखेर भारतीय जनता ब्रिटिस साम्राज्यबाट मुक्त भए पनि सामन्ती उत्पीडन र प्रतिक्रियावादी पूँजीपति वर्गको उत्पीडनमा रहिरहकै अवस्था थियो र मुक्तिको लागि संघर्षरत थिए ।
भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा तेलङ्गनामा सन् १९४६ देखि किसानको छापामार संघर्ष सुरु भई आन्ध्र प्रदेशका तीन हजार गाउँमा फैलिएको अवस्था थियो । त्यतिखेर सोभियत सङ्घमा कम्युनिस्ट पार्टीले जनताका पक्षमा महत्त्वपूर्ण कार्यहरू गर्दै थियो । चीनमा पनि माओको नेतृत्वमा जनवादी क्रान्ति विजयको शिखरमा पुगिसकेको थियो । विश्वका यिनै परिघटनाबाट प्रभावित भएर काङ्ग्रेस राजनीतिबाट असन्तुष्ट भै त्यससँग सम्बन्ध विच्छेद गरेका क्रान्तिकारीहरुले पुष्पलालको नेतृत्वमा माक्सवादी अध्ययन मण्डल’ खोले र मार्क्सवादी ग्रन्थहरु र पत्रपत्रिकाको अध्ययन गर्न थाले ।
पुष्पलाल शहीद गंगालालका भाइ थिए र दाजुको प्रेरणाबाट सानैदेखि समाजको परिवर्तनका लागि काङ्ग्रेसी राजनीतिमा होमिएका थिए । निरङ्कुश राणा शासनको अन्त्य गरी मुलुकमा संवैधानिक राजतन्त्रको स्थापना गर्ने दुवै काङ्ग्रेस पार्टीको निति उनलाई मन परेन ।
कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर त्यसलाई प्रकाशन गर्ने सिलसिलामा सन् १९४९ मा पुष्पलाल भारतको कलकत्ता पुगे । त्यहाँ उनको रतनलाल ब्राह्मण र नृपेन चक्रवर्ती जस्ता भारतीय कम्युनिस्ट नेताहरुसँग भेटघाट भयो ।
उनीहरूसँगको निरन्तर भेटघाट र छलफलपछि कम्युनिस्ट पार्टी गठन गर्नुपर्छ भन्ने टूङ्गोमा पुगे । यही सिलसिलामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशीसँग उनको विचार मिलेकाले २२ अप्रिल १९४९ का दिन गोप्य रुपमा कलकत्ताको श्यामबजार लेनमा भेलाको आयोजना गर्न पुगे ।
त्यहाँ लामो छलफलपछि ऊनीहरुले पार्टी गठन गर्ने निर्णय गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ लाई जन्म दिए । पार्टीको महासचिवमा पुष्पलाल नै चुनिए । यसरी गठन भएको नेपाल कम्युनिस्ट पार्टीले जनतालाई राष्ट्रको सम्पतिको मालिक बनाउने निति अवलम्बन गर्यो र अन्तिम उद्देश्य समाजवाद र साम्यवादको स्थापना गर्ने बनायो । यसले दुवै काङ्ग्रेसको सामन्तवाद र भारतीय एकाधिकार पूँजीपरस्त नीतिको कटु आलोचना गर्दै देशबाट सामन्ती व्यवस्थालाई नष्ट गरी मजदुर वर्गको नेतृत्वमा नयाँ जनवादी नेपालको निर्माण गर्ने कार्यक्रम अघि सार्यो ।
त्यसका निम्ति देशका सम्पूर्ण क्रान्तिकारी वर्ग तथा वर्गस्तरबीच उनीहरुका जनवर्गीय सङ्गठन खोली संघर्षमा उतार्ने कार्यनीति लियो । (पुष्पलाल २०५३, १८६) यसले ‘कम्युनिस्ट पाक्षिक प्रचारपत्र’ को प्रकाशन थाल्यो । यसले मजदुर, किसान, विद्यार्थी, महिलामा भित्री कक्षाहरु र प्रशिक्षणहरु सञ्चालन गर्यो । यस कार्यका लागि भारतीय कम्युनिस्ट पार्टीका सदस्य अयोध्यासिंहले सहयोग गरी गुन लगाएका छन् ।
सन् १९५१ (२००८ आश्विन) मा कलकत्तामा भएको यसको प्रथम सम्मेलनमा पुष्पलालको नेतृत्वमा केन्द्रीय कमिटी गठन गर्यो र पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य,शैलेन्द्रकुमार उपाध्याय र भाइ साहब रहेको पाँच जनाको राजनीतिक समिति बनायो । यसले पार्टीलाई खुला बनाउने र केन्द्रीय कार्यालय देशभित्र लैजाने निर्णय गर्यो ।
समयक्रममा काङ्ग्रेसका झन्डामुनि आबद्ध वामपन्थी सोच भएका क्रान्तिकारीहरु कम्युनिस्ट पार्टीतर्फ आकर्षित भए । (उक्त लेख रामराज रेग्मीकाे पुस्तक नेपालकाे इतिहास एक माकस्वादी दृष्टिकाेबाट साभार गरिएकाे हाे ।)