उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको आठौं नगर सभाले त्रियुगा नगरपालिकालाई उपमहानगरपालिकामा स्तरउन्नतिको प्रस्ताव अघि बढाएको छ । शुक्रबार देखि सुरु भएको नगरपालिकाको आठौं नगरसभाले उपमहानगरपालिकाको प्रस्ताव ल्याएको हो ।
सभामा नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई भुगोल र जनसंख्या विकासको हिसावले उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना प्रस्ताव पेश गर्नुभयो । पालिका आसपासका अन्य केही भुगोललाई समेटेपछि उपमहानगरपालिकाको हैसियतमा जनसंख्या र भुगोल पुग्ने भन्दै कार्य योजना प्रस्ताव गर्नुभएको हो । ‘अव हामी उपमहानगरपालिकाको हैसियतमा हुनेछौं,’ नगरप्रमुख चौधरीले भन्नुभयो ‘उपमहानगरपालिका बनेपछि थप विकासको ढोकाहरु खुल्नेछन् ।’
मेयर चौधरीले ऐलानी पर्ती रहेका जमिन र अब्यवस्थित बसोबासहरुको जग्गा ब्यवस्थापन समाधान, नगरक्षेत्रमा विजनेश सेन्टर लगायतका भोतिक संरचनाको निर्माण, उदयपुर मेडिकल कलेज स्थापना र थ्री पी मोडेलमा सिमेन्ट उद्योग स्थापना लगायतका दुरगामी र महत्वपूर्ण प्रस्तावहरु राख्नुभएको छ । उहाँले चालु आर्थिक वर्ष ०७८÷०७९ को बजेट कार्यन्वयनको चरणमा रहेको बताउँदै जनतासँग मेयर कार्यक्रम, धुँवारहित चुल्लो आमाको स्वास्थ्य ठुलो, फोहोर ब्यवस्थापनका लागि कामहरु भईरहेको बताउनुभयो ।
त्रियुगा नपाको प्रथम मेयर स्व. लालसेर राईको सम्मानमा उहाँको प्रतिमा गाईघाट बजारको मुख्य चौक वा अन्य कतै राख्ने बारेमा छलफल गर्नेगरी प्रस्ताव ल्याउनुभएको छ । उहाँले विगत ५ वर्षका अवधिमा सम्पन्न प्रमुख कार्यहरुलाई उपलब्धीको रुपमा लिनुभयो । गत २०७४ साल साउन १ गते सपथ ग्रहण गरेको जनप्रतिनिधिहरुले उज्यालो नगर कार्यक्रमबाट पालिकाको १६ वटै वडाहरुमा विजुलीबत्ती र सौर्यबत्ती पुर्याएको बताउनुभयो । नगर गौरबको योजनाहरुमा कृषि बजार, नदी नियन्त्रण, कालोपत्रे, ग्राभेल लगायतका विभिन्न सडक, थरुहट रंगशाला आदि रहेको बताउनुभयो ।
कृषिमा बैज्ञानिक यान्त्तिकरण भई कृषकहरुको जीवनस्थर उक्सनमा टेवा पर्याएको उहाँले बताउनुभयो । स्थानीय शासन प्रणालीलाई संस्थागत गर्न, शासकीय प्रवन्ध क्षमता अभबिृद्धि गरी स्थानीय सरकारको अनुभुती गराउन विभिन्न विषयसंग सम्बन्धीत ११ वटा ऐन, ४७ वटा नियमाली, निर्देशीका, कार्यविधि, मापदण्ड नगरसभाले पारित गर्ने जानकारी दिनुभयो । उहाँले सुरुका वर्षमा करिब २ करोड ५७ लाख आय भएको नगरपालिकामा गत आ.ब. मा करिब ११ करोड राजश्व संकलन भएको बताउनुभयो ।