एजेन्सी । उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिनुभएको हो । उहाँले दिनुभएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।
बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिनुभएको छ । उहाँले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ– हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।
रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ ।
अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा
रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।
रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गर्नुभएको हो । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।
रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।
रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।
रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान
संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गर्नुभएको छ।
"म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु," अध्यक्षले विज्ञप्तिमार्फत् सो आग्रह गर्नुभएको हो । संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रहरूलाई आफ्ना अन्तरराष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गर्नुभएको हो।
"म सबै सदस्य राष्ट्रहरूलाई अन्तरराष्ट्रिय कानून र अन्तरराष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्न मेरो आह्वान पुनः दोहोर्याउँछु," उहाँले भन्नुभयो । शाहिदले भन्नुभयो, "युक्रेन र यहाँका जनतालाई मानवीय सहायताको लागि अहिले सुरक्षित र निर्बाध पहुँच प्राथमिकता र समयको आवश्यकता हो ।"