काठमाडौं । ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्न‘भन्दा केही घण्टाअघि मात्र रुसी जनतालाई भावुक सम्बोधन गर्दै युद्ध रोक्न आह्वान गरेका थिए । तर, उनको यो आह्वानको कुनै सुनुवाइ भएन । बरु उनको यस्तो आह्वानको केही समयमै युक्रेनको राजधानी किएभ मात्र नभई पूर्वी युक्रेनका अरू धेरै सहरमा विस्फोट भइसकेका थिए ।
त्यही विस्फोटको आवाजले किएभका बासिन्दा ब्युँझिएका थिए । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सम्बोधनका क्रममा कथंकदाचित आक्रमण भइहाले आफूहरू चुप लागेर नबस्ने र बरु आफ्ना राष्ट्रपतिलाई सम्झाउन पनि भनेका थिए । उनले भनेका थिए, ‘दुई हजार किलोमिटरभन्दा लामो सीमाले तपाईं हामीलाई छुट्याएको छ ।
तपाईंहरूका नेताहरूले ती सैनिकलाई अगाडि बढेर अर्को मुलुकको भूमिमा प्रवेश गर्ने अधिकार दिएका छन् । र, यो कदम युरोप महादेशमा एउटा ठूलो युद्धको सुरुवात बन्न सक्छ । हामीलाई प्रस्ट थाहा छ, यो युद्ध हामीलाई आवश्यक छैन । न शीतयुद्ध न वास्तविक युद्ध । न कुनै मिश्रित युद्ध नै चाहिएको छ । तर, यदि हामीमाथि आक्रमण भयो भने, तिनले हाम्रो मुलुक खोस्ने प्रयास गरे भने, हाम्रो स्वतन्त्रता, हाम्रो जीवन, हाम्रा बालबच्चाको जीवन खोस्न खोजे भने हामी त्यसको प्रतिरक्षा गर्नेछौं ।
र, तपाईंहरूले हामीलाई आक्रमण गर्दा हामी पिठ्युँ फर्काएर भाग्ने छैनौं, अनुहार देखाएर सामना गर्नेछौं ।’ विशाल छिमेकी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथिको सैन्य कारबाही घोषणासँगै युक्रेन र रुसको तनाव नयाँ चरणमा प्रवेश गरेको छ । राष्ट्रपति पुटिनले बिहीबार बिहान टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन् ।
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षे त्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरे को थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकुको नियन्त्रण छ ।
यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसके को छ । रसियाले अहिले युक्रेनको पूर्वीभागमा रहेका तीनै क्षेत्रलाई के न्द्रित गरी सैनिक अपरेसन थालेको बताउँदै आएको छ तर रिपोर्टमा पूरै युक्रेनमा रसियाली सेनाले आक्रमण थालेको समाचार छ ।
युक्रेनसँग रहेको सेनाले रसियाली आक्रमण झेल्न कठिन हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले लेखेका छन् । अमेरिका र नेटोले युक्रेनलाई उपलब्ध गराएको सीमित हातहतियार र तालिमले रसियाली आक्रमणको प्रतिरोध गर्न सक्नेमा ती सञ्चार माध्यमले शंका व्यक्त गरेका छन् । रसियालाई चिढ्याउन र युक्रे नमाथि आक्रमणका लागि उक्साउन एउटा कारक मानिएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को गतिविधि पनि हो ।
युक्रेनको पछिल्लो राजनीतिक नेतृत्वले पश्चिमा मुलुकको सैनिक गठबन्धनका रूपमा परिचित नेटोको सदस्य बन्न तीव्र इच्छा जनाउँदै आएको छ र पश्चिमा सञ्चारमाध्यमले अधिकांश युक्रेनी जनता नेटोको सुरक्षा छाता मातहत रहन चाहेको समाचार प्रसार गरिरहे का छन् ।
रसियाले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यो रसियासँगको विगतको सम्झौता विपरीत हुने र त्यसले रसियाकै अस्तित्व संकटमा पर्ने बताउँदै आएको थियो । त्यही कारण, राष्ट्रपति पुटिनले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिँदै आएको वर्षौं भइसक्यो ।
खासगरी, रसियासँग लामो सम्बन्ध रहेका पूर्वीयुरोपेली मुलुकमा नेटोको सदस्यतालाई लिएर रसिया र पश्चिमा मुलुकबीच निरन्तर विवाद चुलिँदै गएको छ । कुनै समय रसियाका राज्य रहेका इस्टोनिया, लिथुआनिया र लाट्भियाले नेटोको सदस्यता लिइसकेका छन् भने पो ल्यान्ड, रोमानिया र अरू कतिपय पूर्वीयुरोपेली मुलुक नेटोमा आबद्ध भइसकेका छन् ।
रसियाविरोधी सैनिक गठबन्धनका रूपमा खडा भएको नेटो अहिले युक्रेन हुँदै रसियाको सीमानजिक पुगेको छ । रसियाका लागि पश्चिम र पूर्वी युरोपसँगको सम्पर्क र व्यापारका लागि युक्रेनको महत्व धेरै छ । आफ्नो मुलुकबाट इन्धन (ग्यास, खनिज तेल)को व्यापारका लागि युक्रे नी भूमिको प्रयोग रसियाका लागि अपरिहार्य झैं छ ।
यस्तो अवस्थामा युक्रेनमा नेटो गठबन्धनको व्यापक उपस्थिति भएमा कालान्तरमा रसिया घेराबन्दीमा पर्ने खतरा राष्ट्रपति पुटिनले देखेका छन् । रसियाबाट अलग्ग भएर स्वतन्त्रता प्राप्त गरेको झन्डै तीन दशकपछि युक्रेनमाथि रसियाले पुनः आक्रमण गर्ला भन्ने धेरैले कल्पनासम्म गरेका थिएनन् ।
तर, अहिले ६९ वर्षीय रसियाली राष्ट्रपति पुटिनको महत्वाकांक्षा बढेको छ र राष्ट्रपति पुटिनका कदमले समकालीन विश्वमा नयाँ त्रासको अवस्था सिर्जना गर्दै छ । पश्चिमा राष्ट्र र रसिया– चीनका कारण विश्व राजनीति फे रि ध्रुवीकरणतर्फ अग्रसर हुन लागे को आभास हुन थालेको छ । कुनै पनि शक्ति राष्ट्रले साना राष्ट्रलाई संरक्षण गर्नुपर्ने हो ।
तर, ठूला महाशक्ति राष्ट्र नै साना राष्ट्रलाई छिन्नभिन्न बनाउन र दे श नै नियन्त्रणमा लिन उद्यत रहनु विडम्बना नै हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भावुक हुँदै राष्ट्रपति पुटिनसमक्ष युद्ध रोक्न र सैनिक युक्रेन नपठाउन आग्रह गरे का छन् । ‘त्यहाँ पहिल्यै धेरैले जीवन उत्सर्ग गरिसकेका छन् ।
अब अझै रगत बगाउन दिनु हुँदैन र शान्तिको एउटा मौका दिनुहोस्,’ उनले भने का छन् । गोप्य सूचनाको हवाला दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा आक्रमण गर्ने योजना बनाइसकेको र रसियाले त्यो दिन पर्खिरहेको बताउँदै आएका थिए ।
आक्रमणको घोषणा गरिएको खबर पाएलगत्तै राष्ट्रपति बाइडेनले राष्ट्रपति पुटिनले मानवीय क्षति र पीडा निम्त्याउने एउटा असफल यो जनाबद्ध युद्ध रोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् । ‘युक्रेनमा हुने मानवीय र भौतिक क्षतिका लागि रसिया दोषी ठहरिनेछ र त्यसलाई विश्वले कहिल्यै माफ गर्ने छैनन्,’ राष्ट्रपति बाइडेनले भनेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्ना जनतालाई धैर्य गर्न र रसियाली आक्रमणको डटेर प्रतिकार गर्न आह्वान गरेका छन् । उनले रसियाका झन्डै २ लाख सैनिक हातहतियारसहित युक्रेनभित्र प्रवेश गर्न लागेको बताएका छन् । युक्रेनको राजधानीसहित पूर्वीयुक्रेनका द्वन्द्वग्रस्त क्षेत्रमा विस्फोटका आवाज सुनिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमाथि भएका हमलाको फ्रान्स, इटाली, जापान, अस्ट्रेलिया, जर्मनी, बेलायतसमेतका युरोपेली युनियनमा आबद्ध मुलुकले कडा शब्दमा निन्दा एवं भत्र्सना गरेका छन् । उनीहरूले रसियामाथि कडा प्रतिबन्ध घोषणा गरिने बताएका छन् । विगतसमेतमा विभिन्न प्रतिबन्ध झेल्दै आएको रसियाले फे रि नयाँ प्रतिबन्धको सामना गर्नुपर्ने ती राष्ट्रले घोषणा गरेका छन् ।
उता चीनले भने युक्रेनको अवस्थालाई निगरानी गरिरहेको भन्दै सबै पक्षलाई ‘संयम’ अपनाउन आह्वान गरेको छ । ‘चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ, हामी सबै पक्षलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोक्न आह्वान गर्दछौं,’ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन् ।
नाकाबन्दीका लागि युक्रेनी आह्वान
रसियाले एक स्वतन्त्र मुलुकमाथि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी जबर्जस्ती युद्ध गरिरहे को जनाउँदै युक्रेनले रसियामाथि अन्तर्राष्ट्रिय जगत्बाट कठोर नाकाबन्दी लगाउन आह्वान गरे का छन् ।
राष्ट्रपति बाइडेनले युक्रे नी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्दै आफूले सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ का नेतासँग बैठक गर्न लागेको र बैठकले रसियामाथि कठोर प्रतिबन्ध लगाउने बताएका छन् । युक्रेन र युक्रेनी जनतालाई सबै किसिमको सहायता गर्न अमेरिकी गठबन्धन मुलुक तयार रहेको पनि बाइडेनले बताएका थिए ।
युक्रेनी युद्धको असर
युक्रेनमा रसियाले आक्रमण थालेसँगै अन्तर्राष्ट्रिय बजारमा ते लको मूल्यवृद्धि भएको छ । तेलको मूल्य ७ वर्ष यताकै सबैभन्दा बढी पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा ते लको मूल्यप्रति ब्यारेल १०० डलर नाघेको छ ।
एसियाली सेयर बजार पनि केही घटेको छ । युक्रेनमा संकटकाल घोषणा युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । संसद् बैठकले सो संकटकाल पास गरेको हो ।
सो संसद्मा कायम रहेका ४ सय ५० जना सांसदमध्ये ३ सय ३५ ले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरे का थिए ।
कम्तीमा ४० युक्रेनी सैनिकको मृत्यु
रुसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि किभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।
जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रुससँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्ने बताएका हुन् । ‘यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको छ,’ उनले भनेका छन् ।
नेपाल युक्रेकाे पक्षमा
रुस–युक्रेन तनाबकाबीच बिहीबारबाट युक्रेनको मुख्य सहरमा रुसी सेनाले विस्फोटन गराएपछि नेपालले त्यसको विरोध जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारबाही अगाडि बढाउने जनाए लगतै विस्फोटको घटना भएको थियो ।
युक्रेनमा घटेको घटनालगतै नेपालले रुसलाई तनाव नबढाउन र संयमित हुन आग्रह गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयम अपनाउन भनेको छ । नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ ।
‘नेपालले तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ, ’संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त पवित्र छन् र सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ ।’
युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानविपरीत भएको ने पालले जनाएको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्छ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्ने भनेको छ ।
युक्रेनमा रहेका ३८ नेपाली सुरक्षित
युक्रेनमा देखिएको पछिल्ले घटनाक्रम र परिस्थिति’bout गैरआवासीय नेपाली संघ एनआरएनएले चासो व्यक्त गरेको छ । एनआरएनएले जारी गरेको विज्ञप्तिअनुसार युक्रेनमा स्थायी बसो बास गरिरहेका ३८ नेपाली सुरक्षित रहेको जनाएको छ ।
विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २ सयभन्दा बढी नेपाली रहेको जानकारी प्राप्त भएको जनाएको छ । युक्रेनको राजधानी किभमा बिहीबारदेखि लगातार विस्फोटको आवाजपछि भने त्यहाँ रहेका विद्यार्थी घर फर्कन खोजिरहेको एनआरएनएले विज्ञप्तिमार्फत जनाएको छ । उक्त समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।