उदयपुर । सुनसरी मोरङ सिंचाई आयोजनाको बाँधको निर्माणमा उदयपुरका स्थानीयले अवरोध गरेका छन् । आयोजनाको बाँध निर्माणले उदयपुरको बेलका नगरपालिका वडा नम्वर २, ३, ८ र ९ मा खेती योग्य जमिन कटान गर्नुका साथै मानव बस्तिसमेत जोखिममा परेको भन्दै अवरोध गरेका हुन् ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकोबीबाट बग्ने सप्तकोसी नदीमा सुनसरी मोरङ सिंचाई आयोजनाको बाँध छ । सोही आयोजनाले पानी लैजान निर्माण गरेको बाँधका कारण उदयपुरको क्षेत्रमा सप्तकोसी नदीको कटान बढ्दै गएको छ । अहिले पनि आयोजनाले बाँध निर्माण गरिरहेको छ । जुन बाँधका कारण कटान बढ्ने चन्दै स्थानीयले अवरोध गरेका छन् ।
बेलका नगरपालिका ८ का स्थानीय बालकुमार राई भन्नुहुन्छ, ‘हामी बेलका नगरपालिकाका वडा नम्वर २, ३, ८ र ९ का स्थानीयले सोही बाँधको कारण सप्तकोसीको कटानको पीडा भोग्दै आएका छौँ, अहिले पनि आयोजनाले बाध बाँधिरहेको छ । अहिले हामीले त्यसलाई रोक्न आयोजनासँग अनुरोध गरिरहेका छौँ ।’
स्थानीयहरुले उक्त सिंचाई आयोजनाले निर्माण गर्न लागेको बाँध तत्काल रोक्न माग गरेका छन् । सिंचाई आयोजनाकै बाधको कारण अहिले सप्तकोसीले धार पनि परिवर्तन गरेको छ । जसको कारण उदयपुरको क्षेत्रमा वर्षेनी कटान बढ्दै गएको अर्का स्थानीय शुसान्त राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आयोजनाले पानीले लैजानको लागि उदयपुरतर्फ बाँध बाधेको छ, त्यो बाँधमा सप्तकोसी ठोक्किएर पारी सुनसरी पुगेर उदयपुरतर्फ फर्कदा उदयपुरको भाग कटान हुने गरेको छ ।’
उहाँले हालसम्म सयौँ विगाहा खेती योग्य जमिन कटान गरेको बताउँनुहुँदै भन्नुभयो, ‘अब यो भन्दा बढी क्षति हुन दियो भने भोलिका दिनमा मानव बस्तिसमेत जोखिममा पर्ने छ ।’ उदयपुरतर्फको खेती योग्य जमिन कटान हुनुको साथै भोलिका दिनमा मानव बस्तिसमेत जोखिममा पर्ने प्रष्ट छ । जसको कारण आयोजनाले सोही क्षेत्रमा बाँध निर्माण गर्ने हो भने उदयपुरको क्षेत्रमा नदी कटान कम गर्न अर्को बाँध निर्माण गर्नु पर्ने अर्का सथानीय राज बान्तवा बताउनु हुन्छ ।
सुनसरी मोरङ सिंचाई आयोजनाले सुनसरी र मोरङमा जिल्लामा करिब ६८ हजार हेक्टर खेती योग्य जमिनमा सिंचाई सूविधा पुर्याउँदै आएको छ । उत्ता सिंचाईको सुविधा पुर्याएपनि यता उदयपुरका जनता कटानको मारमा परेका छन् । जसको कारण उत्ताको सिंचाई सुविधामा अवरोध नगरिकन उदयपुरको नदी कटान रोक्नु पर्ने टड्कारो रुपमा देखिएको स्थानीयको माग छ ।