उदयपुर । जनप्रतिनिधिहरुले जनताका जनजीविकासँग जोडिएका स–साना काम गर्दा स्थानीय जनतामाझ लोकप्रिय हुन्छन् भन्ने उदाहरण विरलै भेटिन्छन् । चुनावताका ठूला सपना बाड्ने र चुनाव जितेपछि फर्केरसमेत नर्हेने प्रवृत्तिका जनप्रतिनिधिहरु बाक्दै भेटिन्छन । यी नै जनप्रतिनिधिहरुको भीडमा उदयपुरको चौदण्डीगढी नगरपालिका २ का जनप्रतिनिधिहरु ठिक विपरित छन् । जनतालाई निशुल्क विद्युत उपलब्ध गराएर चौदण्डीगढी नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधि जनतामाझ लोकप्रिय बनेका छन् ।
चौदण्डीगढी नगरपालिका वडा नम्वर २ मा निर्वाचित भएर आएका वडाका जनप्रतिनिधिहरुले जनतामा विद्युत निशुल्क दिने निर्णय गरे । अहिले जुन निर्णयले जनतामा खुसी छाएको छ । तीन वर्षअघिदेखि नै एकसय रुपैयाँको विद्युत महशुल वडा कार्यालयले तिर्दै आएको छ । जुन एकसय रुपैयाँको विद्युत तीन वर्ष अघिदेखिनै चौदण्डीगढी नगरपालिका २ का स्थानीयले निुशल्क पाएका हुन् ।
अहिले नेपाल सरकारले निशुल्क दिएको मासिक २० युनिट र वडा कार्यालयले पनि मासिक एकसय रुपैँयाको विद्युत निशुल्क स्थानीयलाई दिएपछि जनतामा खुसी छाएको छ । स्थानीय अस्मिता राई भन्नुहुन्छ, ‘वडा सरकारले हामीलाई मासिक रुपमा एकसय रुपैँयाको विद्युत तीन वर्ष अघिदेखिनै निशुल्क दिनुभएको थियो, जसले विद्युत बालेको छ, त्यस घरले एकसय रुपैँया बढी उठ्यो भने मात्र विद्युतको पैसा तिर्नुपर्छ, नत्र एकसय रुपैँयासम्म वडा कार्यालयले नै तिर्दै आएको छ ।’
समान्य रुपमा गाउँघरमा प्रयोग हुने विद्युत भनेको मासिक एकसय रुपैँयको मात्र हुने गर्दछ । जसको पैसा पनि वडा कार्यालय तिर्ने भएपछि जनतामा विद्युत महशुल तिर्नुपर्ने झन्झट हटेको अर्का स्थानीय तिलक राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘वडा कार्यालयले दिने एकसय रुपैँयको विद्युतले लगभग यस चौदण्डीगढी नगरपालिका २ का अधिकाँस घरधुरीलाई पुगिनै हाल्छ, त्यसमा नेपाल सरकारले पनि २० युनिट निशुल्क गरेपछि झनै फाइदा पुुगेको छ ।’
एउटा ग्रामिण घरको सामान्य परिवारले बत्ति, टेलिभिजन र गर्मीमा फ्यान चलाउँदा झण्डै एकसय रुपैँया बराबरको विद्युत उपयोग गर्ने गर्दछन् । त्यो पनि वडा कार्यालयले निशुल्क गरेपछि स्थानीय ढुक्क भएका थिए । तर, अहिले नेपाल सरकारको २० युनिट निशुल्क भएपछि स्थानीयमा झनै खुसी छाएको अर्का स्थानीय मीना खड्का बताउँनु हुन्छ ।
उहाँ भन्नहुन्छ, हामी वडा अध्यक्ष ज्यू लगायत वडाका जनप्रतिनिधिहरुलाई धन्यवाद भन्न चाहान्छौ । हामीलाई उहाँहरुले तीन वर्ष अघिदेखिनै एकसय रुपैयाँको विद्युत निशुल्क दिनुभएको थियो, अहिले मात्र नेपाल सरकारले २० युनिट दिएको हो, नेपाल सरकारको २० युनिटसमेत निशुल्क हुँदा अब निशुल्क रुपमा विद्युत प्रशस्त पाइएको छ ।’
त्यस क्षेत्रमा बसोबार गर्ने स्थानीयमा गरिब, अति विपन्न परिवार कृषि पेशमा आत्मनिर्भर छन् । अर्कोतर्फ चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजारमा रहेको विद्युत प्राधिकरणको कार्यालय पुगेर एकसय रुपैयाँको विद्युत महशुल तिर्नुपर्दछ । फेरि उहि तिलक राई भन्नुहुन्छ, ‘बेल्टार पुगेर विद्युतको महशुल तिर्दा हामीलाई आउँदा जाँदा गरी झण्डै दुईसय रुपैँया अटोरिक्सा भाडा लाग्छ । एकसय तिर्न जाँदा दुईसय खर्च हुने अवस्था थियो, तर वडा कार्यालयले निशुल्क गरेपछि ढुक्क भएको छ ।’
चौदण्डीगढी नगरपालिका वडा नम्वर २ मा जम्मा ८ सय घरधुरीले निशुल्क विद्युत उपयोग गरिरहेका छन् । ८ सय घरधुरीमध्ये ३० प्रतिशत दलित, अति विपन्न घरपरिवार छन् । वडा कार्यालयले विद्युत उपभोग गरे बाफत गएको तीन वर्षदेखि एकसय रुपैँयाको दरले मासिक ८० हजार तिर्दै आएको छ । अहिले संघीय सरकारले पनि २० युनिट विद्युत निशुल्क उपलब्ध गराएपछि स्थानीयले दोहोरो सुविधा लिन पाएको चौदण्डीगढी नगरपालिका २ का वडा अध्यक्ष सन्तोष सुवेदीको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘हामीले एकसय रुपैँयको मासिक रुपमा विद्युत निशुल्क उपलब्ध गराएपछि मात्र नेपाल सरकारले अति गरिब, विपन्न, दलितको नाममा २० युनिट निशुल्क गराउने घोषणा गरेको हो । तर, हामीले निर्वाचित भएर आएपछि एकसय रुपैँया बराबरको विद्युत निशुल्क गर्दै आएका थियौँ, अहिले नेपाल सरकारको २० युनिट थप भएपछि स्थानीयले दोहोरो लाभ लिन पाएका छन् ।’
वडा अध्यक्ष सुदेवीका अनुसार वडा कार्यालयले मासिक रुपमा ८ सय घरधुरीको मासिक एकसय रुपैँयको दरले झण्डै ८० हजार रुपैँया तिर्दै आएको छ । ‘झण्डै लगभग एकहजार दुईसय घरजति छन्,’ उहाँ भन्नुहुन्छ, ‘विद्युत उपयोग गर्ने घर ८ सय मात्र छन् ।’
सोही क्षेत्रमा विद्युतको विभिन्न प्रयोग गर्नेले मात्र थप विद्युतको महशुल तिर्नुपर्छ । तर, विद्युत उपभोग गर्ने साना सर्वसाधारण उपभोक्ताहरु अहिले निशुल्क विद्युत उपयोग गरिरहेका छन् । वडा कार्यालयको विद्युत निशुल्क गराउने योजनामा संघीय सरकारको योजना थप भएपछि स्थानीयलाई विद्युत निशुल्क उपलब्ध भएको छ ।