नेपाली बिबिसी । उत्तर कोरियाले जापान नजिकै समुद्रमा दुई छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । गएकाे सोमवार बिहान गरिएका प्रहारहरू प्योङ्याङ नजिकैको विमानस्थलबाट गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ। जापानले पनि यसको पुष्टि गरेको छ ।
गएको दुई सातामा उत्तर कोरियाले गरेको यो चौथो क्षेप्यास्त्र प्रहार हो । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस् टिक र परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ तर पूर्वी एशियाली राष्ट्रले त्यसलाई बेवास्ता गर्दै नियमित क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।
र उत्तर कोरियाली नेता किम जङ-अनले राष्ट्रिय सुरक्षा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार उत्तर कोरियाले रेलबाट छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो भने त्यसको केही दिनअघि प्राविधिक रूपमा सुदृढ दुई हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरिएको थियो ।
उत्तर कोरियाले अहिले किन क्षेप्यास्त्र प्रहार गरिरहेको छ ?
ज्यानुअरीमा गरिएको क्षेप्यास्त्र प्रहारको सङ्ख्या र प्रवृत्ति यसअघिभन्दा फरक छ । सामान्यतया उत्तर कोरियाले आफ्नो विशेष दिनहरूको वरपर वा दक्षिण कोरिया-अमेरिका संयुक्त सैन्य अभ्यासका बेला क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ ।
विज्ञ अङ्कित पान्डाका अनुसार उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र क्षमता बढाउन र तिनलाई तयार राख्न परीक्षण गर्ने गरेको छ र पछिल्ला परीक्षणहरू त्यस्तै हुन् । तर अहिले “किम जङ-अनले देशवासीलाई पनि सन्देश दिएका छन् कि आर्थिक अवस्था कमजोर भएको बेलामा पनि राष्ट्रिय सुरक्षाको विषयमा सम्झौता गरिन्न,” पान्डा भन्छन् ।
उत्तर कोरियामा बढ्दो आर्थिक सङ्कटबीच खाद्य सङ्कट देखिएको छ। यसको कारण महामारीका कारण गरिएको सीमा बन्द हो जसले गर्दा चीनसँगको व्यापार टुटेको छ । नेता किमले हालै उत्तर कोरियाले ठूलो जीवन-मृत्युको सङ्घर्ष गरिरहेको बताएका थिए । तर सँगसँगै उनले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने घोषणा पनि गरेका थिए ।
जो बाइडन अमेरिकाको राष्ट्रपति भएयता उत्तर कोरियाको अमेरिकासँग वार्ता टुटेको छ । बाइडन प्रशासनले गत साता मात्रै उत्तर कोरियामाथि थप आर्थिक प्रतिबन्ध लगाएको छ । सोमवार गरिएको परीक्षणलाई सोही अमेरिकी आर्थिक प्रतिबन्धको प्रतिक्रियाको रूपमा हेरिएको छ ।
चीन पनि कारण हो कि ?
क्षेप्यास्त्र प्रहार चीनमा सुरु हुन लागेको महत्त्वपूर्ण हिउँदे ओलिम्पिक्सभन्दा केही साताअघि भएको छ। हिउँदे ओलिम्पिक्स फेब्रुअरी ४ मा सुरु हुँदै छ । “ओलिम्पिक्सको सँघारैमा आफ्नै ढोका अगाडि उत्तर कोरियाले परीक्षण गरेको चीनले स्वागत नगर्ने मेरो सोच छ,” उत्तर कोरियाली विश्लेषक चाड ओ’क्यारोलले ट्विटरमा लेखेका छन् । “यस्तो भइरह्यो भने हामीले उत्तर कोरिया कुनै विषयमा चीनसँग असन्तुष्ट रहेको सम्भावना पनि हेर्नुपर्छ ।”
तर पान्डाका अनुसार चीन खुसी नभए पनि ती परीक्षण लामो दूरी र परमाणु हतियारका नभएको कारण चीनले सहने खालका छन् । चीनसँग व्यापार सुरु गर्ने विवरणमाझ चीनले उत्तर कोरियालाई आर्थिक रूपमा सहयोग गरिरहेको र सैन्य क्षेत्रको संयोजन गरिरहेको विज्ञ लिफ एरिक इसलेले बताए ।
"चीनसँगको रणनीतिक सम्बन्धलाई विचार गर्दा उत्तर कोरियाले हिउँदे ओलिम्पिक्सलाई असर नपार्न सन् २०२२ को परीक्षणहरू अहिल्यै गरेको हुनसक्छ । नेपाली बिबिसी ।