एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतमा अहिले आठ लाख २१ हजार ४४६ जना सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या १०.६४ प्रतिशतले बृद्धि हुदै गएको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६९ हजार ९५९ रहेको छ । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने तीन करोड ४५ लाख ७० हजार १३१ रहेको छ ।
बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी
बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् ।
यहाँ सार्वजकि स्थलमा जम्मा हुँदा तथा पसल, मलहरुमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिने छ । त्यस्तै सभा समारोहहरु बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यस्तै होटल, रेष्टुरेन्टहरु रातिसम्म खोल्न नपाइने र उनीहरुले यात्रुलाई सेवा दिँदा आधामात्र क्षमताका नागरिकलाई मात्र दिन सकिने बनाइएको छ । यहाँको मन्त्रिपरिषदको सोमबारको बैठकले कोभिडबाट बच्नका लागि भन्दै यस्ता कडा कानुनहरु लागू गरेको हो ।
त्यस्तै होटल रेष्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जाहाजबाट यात्रा गर्दा पनि उनीहरुले खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ । बंगलादेशमा पनि पछिल्ला केही हप्ता यता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको संक्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।