एजेन्सी । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार सङ्क्रमित थपिएका छन् । हाल अमेरिकामा पुष्टि भएका सङ्क्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरिअन्ट पाइएको छ ।
सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन् । यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरूको सङ्ख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ ।
भारतमा पनि कडाइ
भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा पनि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ । मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन्।
धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ । कुल सङ्क्रमित मध्य झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन् ।
खोप सम्बन्धी एउटा कार्यदलका प्रमुख डा एनके अरोराले सोमवार एनडीटीबीलाई भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका छन् । कोभिड सङ्क्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन् । मङ्गलवार भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेका छन् ।
सबै गैर अत्यावश्यकीय गतिविधिमा शुक्रवार राति देखि सोमवार बिहानसम्म प्रतिबन्ध लगाइने छ । गत हप्ता दिल्लीमा व्यायामशाला र सिनेमा हल बन्द गरिएको थियो भने रात्रिकालीन कर्फ्यू लागु गरिएको थियो । दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल कोभिडबाट सङ्क्रमित भएको केही घण्टा पछि सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय सार्वजनिक गरिएको थियो ।
बीबीसी संवाददाता योगिता लिमयका अनुसार सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ । गैरसरकारी कार्यालयहरूलाई आधा क्षमतामा काम गर्न निर्देशन दिइएको छ। पन्जाब सरकारले रात्रीकालीन कर्फ्यू जारी गरेको छ र सबै विद्यालय तथा कलेजहरू बन्द गरिएका छन् ।
कैयौँ भारती राज्यहरूले हालसालै कोभिडका कारण कडा प्रतिबन्धात्मक नियमहरू लगाएका छन् । तर दशौँ हजार मानिसहरू सहभागी हुने राजनीतिक प्रदर्शनहरूमा रोक लगाइएको छैन । बिबिसी नेपाली