उदयपुर । उदयपुरको त्रियुगा, तावा लगायतका नदी तटीय क्षेत्रमा रहेका खेतीयोग्य जमिन मासिँदै गएको छ । माथिल्लो चुरे र महाभारत क्षेत्रमा भएको वनजंगलको विनाशका कारण वर्सेनी हुने भूक्षयको कारण खेती योग्य जमिन मासिँदै गएको हो ।
वर्षामा बाढीसँगै बगेर आउने ढुंगा, गिट्टी, बालुवा र माटोको लेदोले खेती योग्य जमिन पुरिँदै गएको छ । भूमिगत जलाधारमा समेत असर पर्न गएको छ । बोटबिरुवा मासिँदै जाँदा हुने भू–क्षयले त्रियुगा नदीको सतह बढ्दै गएको छ । नदीको सतह बढ्दै जाँदा खेतीयोग्य जमिन बालुवाले पुरिँदै गएको हो । त्यसैले नदीको तल्लो तटीय क्षेत्रका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा चैते धान खेती नै हुन छाडेको छ ।
त्रियुगा नदीमा माथिबाट बगेर आएका खोला खहरेमा बाढीसँगै धेरै बालुवा आउँदा जमिन मासिनुका साथै सिँचाइ कुलोमा असर पर्दै गएको छ । पछिल्लो समय चुरेबाट बग्ने दर्जानौँ खहरे खोलाले मार्ग परिर्वतन गरिरहेका छन् । बर्सेनि वर्षताको समयमा खोला खहरेले मार्ग परिर्वतन गर्दा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका जोगिदह, हडिया, सुन्दरपुर, तपेश्वरीलगायत स्थानका खेतीयोग्य जमिन मासिँदै गएको छ ।
खोलाखहरेको मार्ग परिर्वतसँगै तल्लो तटीय क्षेत्रका मानव बस्तीमा समेत असर पार्दै गएको छ । परिपक्क भइनसकेको कान्छो पहाडको रूपमा रहेको चुरे क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको दोहन बढ्दै गएपछि वातावरणीय असरसमेत पर्दै गएको हो । जसका कारण चुरे र महाभारत पहाड शृंखलाको बीचमा रहेको नदी तटीय क्षेत्रको उर्वरा जमिनमा प्रतिकूल असर परी कृषि उत्पादनमा संकट आउँदै गएको किसानले गुनासो गरेका छन् ।
पहाडबाट बगेर आएका खोला खहरेबाट अनियन्त्रित गिटी बालुवाको दोहनले तल्लो क्षेत्रमा बालुवा थुप्रेर खहरेखोला र त्रियुगा नदीको सतह बढ्दै गएको किसानको गुनासो छ । कतिपय स्थानमा नदीको सतह घट्न गई सिँचाइलगायत खानेपानीमा समेत कठिनाइ हुँदै गएको छ ।
‘चुरे पहाड आफैंमा स्थिर हुन नसकेको पहाड हो,’ चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान भागवत सुवेदीले भन्नुभयो, ‘त्यसैले चुरे क्षय हुँदा माटोको उर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएको छ ।’ नदी तटीय क्षेत्रमा वर्षाको पानी रोक्न सक्ने गरी पर्यावरणीय संरचना निर्माण नहुँदा पनि समस्या जटिल बन्दै गएको उहाँले बताउनुभयो ।
झन्डै १५ वर्षयता भूमिगत पानीको स्रोत सुक्दै जाने क्रममा छ । पानीको स्रोत सुक्दै जाँदा तरकारी, गहुँ, मकै, चैते धान बालीसँगै फलफूल खेती कम हुँदै गएको छ । चुरे क्षेत्रमा भइरहेको विनाशको असर खेतीयोग्य जमिनमा पर्ने गरेको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले बताउनुभयो । ‘चुरे क्षेत्रमा जैविक विविधता सरक्षण गर्नु जरुरी छ,’ वडाध्यक्ष चौधरीले भन्नुभयो, ‘तर त्यसतर्फ स्थानीय तहले सोच्नै सकेको छैन ।’
जैविक विविधता मासिँदा चुरेमा आश्रित जंगली जनवारदेखि चुरे तलका मानव बस्तीमा असर परेको छ । जंगली जनवारका कारण पनि खेती गर्ने किसान पलायन हुँदै गएका छन् । चुरेबाट आउने घोडगदा, नीलगाई, बँदेललगायत जनावरले किसानको हिउँदे बालीमा समेत असर पुर्याउने गरेका छन् । त्यसैले नदी तटीय क्षेत्रका किसानले खेती गर्न छोडेर हिँडेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
पूर्व–पश्चिम भएर फैलिएको चुरे वन शृंखला उदयपुर, सिराहा र सप्तरीको सीमा हो । उदयपुर जिल्लामा पर्ने उत्तरतर्फको क्षेत्रमा घना जंगल छ । तर दक्षिणतर्फ सिराहा र सप्तरीबाट चुरेमा आक्रमण भइरहेकाले समस्या समाधान हुन सकेको छैन । चुरे क्षेत्रमा हुने जैविक विविधताको असर सिरहा र सप्तरीमा परे पनि त्यहाँका स्थानीयले वास्ता नगर्दा समस्या भएको छ ।
चुरे पहाडमा मुहान भएका बलान, खाँडो, महुलीजस्ता खोलाले सिरहा र सप्तरीका हजारौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत गरिदिएका छन् । तर चुरेको दोहन रोक्ने गरी स्थानीय तहले नियम, कानुन र ऐन नै बनान नसक्दा चरे तलको तटीय क्षेत्रमा खेतीयोग्य जमिन मासिँदै जाँदा भयावह अवस्था आउनै लागेको सरोकारवाला बताउँछन् । जिल्लाको पूर्वी क्षेत्रमा त्रियुगा नदी र पश्चिमतर्फ तावा खोला पर्दछ । दुबै चुरे र महाभारतको काखबाट बग्ने गर्दछन् । दुबै नदी नियन्त्रणको लागि विभिन्न समयमा विभिन्न निकायहरुले गरेका प्रयासहरु फितलो हुँदै गएका छन् । जसको कारण वर्सेनी खेती योग्य जमिन बगरमा परिमणत हुँदै गएको छ ।
उदयपुरको त्रियुगा नदी र दजर्नौ खहरे खोलाको नियन्त्रण हुन नसक्दा हजारौ बिघा जमिन बगरमा परिणत भएको छ भने उत्तिकै संख्यामा सुकुम्वासी बन्नु परेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा त्रियुगा नदी आसपासमा बसोवास गर्ने मतदाताले नदी नियन्त्रण गरिदिने उमेदवारलाई भोट दिने बताएकाछन् ।
वर्षायाम त्रियुगा नदी र खहरे खोलाहरुमा आउने बाढीले बर्षेनी ठुलो संख्यामा जनधनको क्षती गर्दै आएको छ भने धेरै बस्तीहरु उच्च जोखिममा पर्ने गरेकाछन् । उदयपुरको रौता गााउपालिका, त्रियुगा नगरपालीका, चौदण्डीगढी र बेलका नगरपालीकाका हजारौं परिवार त्रियुगा नदीवाट पिडितछन् । त्रियुगा नदी र जिल्लामा रहेका खहरे खोलाहरुको नियन्त्रण हुन नसक्दा बर्षेनी सर्यौ बिगाहा खेतियोग्य जमिन सेती बगर बन्ने गरेको छ ।
नदीको दुवै किनार आसपासमा बसोवास गर्ने मतदाताहरुले त्रियुगा नदी र खहरे खोलमा तटबन्ध निर्माण गर्नसक्ने उमेदवारलाई यसपटक चुन्ने बताएकाछन् ।