काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उहाँले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मङ्गलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थियो । छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहिबार समूहका नेताले बन्दशत्र हलमा जानकारी गराएका थिए । त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएको हो । उहाँले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान छ ।” माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो सङ्गठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आम रूपमा चासो पैदा भएको भन्दै उहाँले भन्नुभयो, “कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने । तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो ।”
सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उहाँले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा कम्युनिष्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताउनुभयो । दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ । नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रूपमा पनि दर्ज भएको उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “राजनीतिक एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने भएको छ । महाधिवेशन उद्घघाटन शत्रमा पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सङ्घीयता सबैसबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै भन्नुभयो ।” आफूले प्रस्तुत गरेको प्रतिवेदन बन्दशत्रको साझा सम्पत्ति भएको भन्दै उहाँले सबैको सुझाव समेटिने विश्वास दिलाउनुभयो ।
पुरक प्रस्तावसहित प्रचण्डको मूल दस्तावेज सर्वसम्मत पारित
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रस्तुत गर्नुभएकाे राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सोमबार प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि चार दिन लामो छलफल भएको थियो । २५ वटा समूहले दिएका सुझाव प्रस्तुतीकरण बिहीबार सकिएसँगै प्रचण्डले शुक्रबार जवाफ दिनुभएकाे थियाे । जवाफ दिने क्रममा उहाँले सबैको भावना समेटेर दस्तावेजलाई परिपक्व बनाउने वाचा गरेका छन् ।
प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमाथि कडा आलोचना र टिप्पणी भएपछि अब देशमा हुने निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सबैका सुझावलाई समेटेर सबै तहका निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताउनुभयाे ।
सबैका सुझाव समेटेर देशमा हुने सबै तहका निर्वाचनपछि विशेष महाधिवेशन आयोजना गर्छौँ । त्यहीँबाट अहिले पेश भएको दस्तावेजलाई सापेक्षित पूर्णता दिइनेछ', उहाँले भन्नुभयाे, 'तर खास समेट्न पर्ने कुरा अहिले नै समेटेर लैजानेछौँ ।' उहाँले जवाफ दिने क्रममा नेता राम कार्कीले पेश गरेको पुरक प्रस्तावलाई पनि आफ्नो मूल दस्तावेजमा समेटेर लैजाने वाचा गर्नुभएकाे छ ।
त्यस्तै लेखनाथ न्यौपानेको भिन्न मतलाई पनि स्वीकार गरेर आवश्यकता अनुसार पार्टी संगठनमा बहसका लागि लैजाने बताउनुभएकाे छ । प्रचण्डको राजनीतिक प्रस्ताव पारित भएसँगै अब माओवादी शुक्रबारदेखि नै नयाँ नेतृत्व चयन प्रक्रियामा जाने भएको छ । माओवादीको केन्द्रीय सदस्यको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने तयारी छ। माओवादीका १० वटा प्रदेश समिति छन् ।
विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । त्यो केन्द्रीय समितिले बल्ल अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । नेता देवेन्द्र पौडेलका अनुसार केन्द्रीय कमिटी चुनाव या सहमतिबाट चुन्ने दुवै विकल्पमा छलफल भइरहेको छ । पौडेलले माओवादीका १५ पदाधिकरी छान्न जटिलता रहेको बताउनुभएकाे छ । 'पदाधिकारिमा जटिलता छ। हामी त्यसमा प्रवेश गरेका छैनौँ', उहाँले भन्नुभयाे, 'आयोजकबाट १५ जना पदाधिकारी र २९९ केन्द्रीय समिति प्रस्ताव हुन्छ ।'
पौडैलले संविधानमा व्यवस्था भए अनुसार केन्द्रीय समिति बनाइने पनि बताउनुभयाे ।