बालकृष्ण काफ्ले
“गृहकार्य सकियो बाबु ?” श्यामनाथले छोरालाई सोधेका थिए । छोरो सन्तोष भने इन्टरनटेमा व्यस्त थियो । उसले बुवाको प्रश्न नसुने झै गरेको थियो । श्यामनाथ खाना बनाउने काममा लागिरहेका थिए ।
केहि बेरपछि पुन श्यामनाथ कड्किएका थिए, “होइन, तिम्रो गृहकार्य सकियो त ?” सन्तोषले जवाफ फर्काउँदै भनेका थिए, “म नेट चलाउँदै छु बाबा । गृहकार्य त गरिहाल्छु नि !”
श्यामनाथले छोरालाई सम्झाउँदै भनेका थिए, “छोरा, धेरै ल्यापटप खेलाउनु हुन्न । धेरैबेरसम्म नेट चलाउनु हुदैन ।” सन्तोषले जवाफ फर्काएको थियो, “विहान दुई घण्टा नेट चलाएँ । साँझ दुई घण्टा चलाएँ । त्यति मात्र त होनी !”
“दिनको चार घण्टा नेट चलाएर हुन्छ त ? पढाई लेखाइमा पो बढी समय दिनुपर्छ” श्यामनाथले छोरालाई सम्झाउन खोजेका थिए ।
तर, सन्तोषले बुवाको मुखमा ताल्चा लाग्ने गरि जवाफ फर्काएको थियो । छोराको प्रतिप्रश्नले श्यामनाथ अलमलमा परेका थिए । उनले सत्ताइस वर्ष पहिलेको आफ्नो पाँच कक्षाको पढाई सम्झेका थिए । छोराले जवाफी प्रश्न राख्दै भनेको थियो, “बाबा, हजुर पाँच कक्षामा पढ्दा कति घण्टा नेट चलाउनु हुन्थ्यो ?”