उदयपुर । उदयुरमा केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकहरुकाे भनाइ छ ।
एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुमारी मगरले बताउनुभयाे । ह्वात्तै चिसो बढेका कारण नानीहरुमा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अहिले अभिभावकले साना नानीहरुलाई बिद्यालय नपठाएको सोही स्थान निवासी दानबहादुर पुलामी मगरले उल्लेख गर्नुभयाे ।
यता जिल्लाको तराई क्षेत्रको त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याई, चौदण्डी नगरपालकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेस्वरी भागलपुर र आम्बासी क्षेत्रका विद्यालयमा पनि चिसो बढ्न थालेपछि ५० प्रतिशत मात्र विद्यार्थी दैनिक उपस्थित हुने गरेको र अन्य भने चिसोको कारण घरमानै बस्ने गरेको सप्तकोशी माविका शिक्षिका सुमित्रा पोखरेलले जानकारी दिनुभयाे ।
ह्वात्तै चिसो बढ्न थालेका कारण र अझै कोभिडको डर त्रासका कारण पनि कतिपय अभिभावकले घरमै राख्न थालेको हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ थियो । जिल्लाको सदरमुकाम गाईघाट,बेलका नगरपालिकाको आसपास, चौदण्डी गढी नगरपालिकाको बेल्टार र कटारी बजारका विद्यालयमा भने अहिलेसम्म पनि विद्यार्थी नियमति विद्यालय आइरहेको सम्बन्धित विद्यालयका शिक्षककाे भनाइ छ ।
बुधबार मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर वर्षा र हिमपातले जनजीवन कष्टकर
काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।