काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार २५ वटा मध्ये ११ वटा समूहको प्रस्तुति सकिएको छ। बाँकी १४ वटा समूहका नेताको प्रस्तुति भोलि बिहीबार विहान ११ बजेदेखि सुरु हुने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जन श्रेष्ठले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार भोलि टोली नेताले समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकिनेछ ।
समूहगत छलफलमा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पर्नुहुनेछ । समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदन र विधान पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
प्रतिवेदनमाथि छलफल गरेर रिपाेर्ट प्रस्तुत गरेका ११ समूहले आफ्नो रिपोर्टमा प्रचण्ड विचारपथलाई प्रचण्ड विचारधाराका रुपमा विकसित गरिनुपर्ने सुझाव दिएका छन् । यस्तै पार्टीलाई धोका दिएर एमालेलगायतका पार्टीमा लागेका रामबहादुर थापा बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न समेत माग उठेको छ । प्रतिनिधिहरुले थापालगायतका नेतालाई गद्दार घोषणा गर्न अध्यक्षको दस्तावेजमै उल्लेख गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
यस्तै कार्यकारी पदमा एकै व्यक्ति दुई पटक हुन नपाउने, नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाइनुपर्ने, भ्रष्टलाई कारबाही गर्नुपर्ने, कार्यकर्ताको मूल्यांकनका लागि वैज्ञानिक विधि अबलम्बन गरिनुपर्ने, समाजवादमा पुग्ने आधारलाई थप प्रष्ट पारिनुपर्ने, चीन र भारतबीचको सम्बन्धबारे थप ब्याख्या गर्नुपर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे स्पष्ट पार्नुपर्ने, एमसीसी खारेज गर्नेजस्ता सुझावहरु रिपोर्टिङका क्रममा टोली नेताहरूबाट आएका छन् ।
बन्दसत्रअन्तरगत सोमबार प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नयाँ बाटो शीर्षको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।
सो प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो भने मंगलबार र बुधबार समेत मध्यान्ह १२ बजेसम्म छलफल चलाइएको थियो । समूहबाट आएका निष्कर्षका रुपमा टोली नेता चयन गरेर बन्दसत्रमा रिर्पोटिङ गरिएको हो ।