एजेन्सी । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् ।
क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ । विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ ।
फ्रान्समा अवस्था खराब
हिजाे मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरिअन्टका कारण निम्तिएको ठानिन्छ ।
अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । जब प्रयोगशालाले नै सयौँ मानिसलाई पठायो कोभिड नभएको गलत नतिजा अमेरिकामा आइसोलेशनमा बस्ने अवधि आधाले घटाइयो । सोमवार फ्रान्सका स्वास्थ्यमन्त्रीले ज्यानुअरीको सुरुबाट दैनिक अढाई लाख सङ्क्रमण देखिनसक्ने बताए ।
फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन् । यसै हप्ताको सुरुमा फ्रान्सले केही प्रतिबन्धहरू घोषणा गरेको थियो जसमा ज्यानुअरीको प्रारम्भबाट अनिवार्य रूपमा कम्तीमा तीन घरबाटै काम गर्नुपर्ने भनिएको छ ।
इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ । पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलवार १७ हजार १ सय ७२ पुगेको छ ।
ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् । साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनको सर्वाधिक उच्च सङ्ख्या हो ।
यसैबीच इङ्ग्ल्यान्डमा कीर्तिमानी १ लाख १७ हजार ०९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीहरूले दिएका छन् । क्रिसमसका कारण युकेभरिको तथ्याङ्क भने आएको छैन । महामारीलाई ध्यान दिँदै प्यारिस, लन्डन र बर्लिनसहित कैयौँ शहरले नयाँ वर्षको कार्यक्रम रद्द गरेका छन् ।
फ्रान्स र इङ्ग्ल्यान्डका मानिसहरूलाई आफ्नो सामान्य विवेक प्रयोग गर्न भनिएको छ भने स्पेनको राजधानी मड्रिडले सहभागीहरूको सङ्ख्यालाई सीमित तुल्याउँदै नयाँ वर्षका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । इटलीले बाहिरका कार्यक्रम र रात्रि क्लबहरू बन्द गराएको छ । तर निजी भेलाहरूमा रोक लगाएको छ । बिबिसीकाे सहयाेगमा