विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित हुनु भएको छ ।
निर्वाचित हुनु भएका मिक्सो १६९ मतले निर्वाचित हुनु भएको हो । उहाँका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै पाउनु भएको थियो । अध्यक्षमा ७ मत बदर भएको थियो ।
तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११ मत र देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मतका निर्वाचित हुनु भएको छ । यसैगरी सचिव पदमा गणेश उप्रेती उर्फ सुशील १४८ मत ल्याएर विजयी हुनु भएको छ, भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत पाउनु भएको छ ।
यस्तै ३ जना सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतले निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत पाउनु भएको थियो । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो ।
मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धा गर्नु भएको थियो ।
३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको छ । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बन्नु भएको छ । राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई र तेजमान कन्दङ्वा रिङ आउट हुनु भएको छ ।
एकजना कोषाध्यक्षका लागि गगनसहित ४ जनाको उम्मेद्वारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए । मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।