काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा पुनः बहुपदीय संरचना सक्रिय बनाउने भएको छ । आगामी पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा बहुपदीय संरचना ब्युँताउन लागिएको हो ।
अहिले सो पार्टीमा अध्यक्षबाहेकका पद अभ्यासमा छैनन् । विधानले भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष समेतको व्यवस्था गरेको छ । राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष, महासचिव, सचिवलगायत चयन गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । तर, पार्टी अध्यक्षका लागि चुनाव भने हुने छैन ।
२०६९ माघ २० देखि २४ सम्म मकवानपुरको हेटौंडामा भएको महाधिवेशनबाट १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्षसहित माओवादी केन्द्र बहुपदीय संरचनामा गएको थियो ।
तर, पार्टी विभाजन र २०७३ मा विभिन्न पार्टीसँग एकता भएपछि माओवादीको संरचना छिन्नभिन्न बनेको थियो । ०७५ मा नेकपा एमालेसँग एकता गरेर नेकपा बनेपछि माओवादी केन्द्रको अस्तित्व नै रहेन । सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो पनि गठन गर्ने ती नेताले बताए । अहिले स्थायी समिति मात्र सक्रिय छ ।
महाधिवेशन नगरेको अवस्थामा हुन लागेको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि सहभागी हुनेछन् । काठमाडौंमा हुन लागेको सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रचण्डले एक सातायता लेखिरहेका छन् ।
‘हाम्रो पार्टीमा बहुपदीय संरचना कायम रहन्छ, विधानमै त्यो उल्लेख छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘अध्यक्षले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेखिरहनुभएको छ ।’ राष्ट्रिय सम्मेलनबाट माओवादी पार्टीले आगामी कार्यदिशा, वैचारिक पक्ष र सांगठनिक संरचनाबारे निर्णय गर्नेछन् ।
‘महाधिवेशनभन्दा तल्लो तहको राष्ट्रिय सम्मेलनमा हामी नेतृत्वभन्दा बाहेक पार्टीको कार्यदिशा, वैचारिक पक्ष र संगठनात्मक संरचनाको निर्णय गर्छौँ,’ ती नेताले भने, ‘महाधिवेशनमा जस्तो संशोधन गर्ने हुँदैन, आवश्यक सुझाव भने दिन सक्छ ।’
२०७३ पछि माओवादी केन्द्रको कुनै महाधिवेशन वा राष्ट्रिय सम्मेलन भएको छैन । प्रत्येक पाँच वर्षमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने व्यवस्था छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराले अर्को वर्ष महाधिवेशन गरिने बताउनुभयो ।
‘एक व्यक्ति एक समिति’ नीति पारित गरेको माओवादीले २ उपाध्यक्ष राख्ने तयारी गरेको छ। अहिलेसम्म २ जना उपाध्यक्ष राख्ने विषयमा छलफल भएको छ,’ ती नेताले भने, ‘त्यसो हुँदा एक जना वरिष्ठ उपाध्यक्ष राखिन्छ ।’ अध्यक्षपछिको शक्तिशाली कार्यकारी पद भने महासचिव हुनेछ । संगठन चलाउने भएकोले महासचिव शक्तिशाली नै हुन्छ,’ ती नेताले थपे ।
२ सय ९९ सदस्यीय केन्द्रीय समितिमध्ये राष्ट्रिय सम्मेलनबाट १ सय २० जनाजति केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । माओवादीको अन्तरिम विधान २०७८ मा १४ केन्द्रीय निकायको व्यवस्था गरिएको छ । जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन् ।
यस्तै केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एक तिहाइ (१००) सदस्य रहेको पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ सदस्य रहेको (३३) स्थायी समितिको व्यवस्था गरेको छ । माओवादीले दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको एक केन्द्रीय कार्यालय पनि बनाउनेछ ।
माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षगरी ९ पदाधिकारी हुनेछन् भने भूगोल, जनसंख्या हेरेर प्रदेश समिति सदस्यको संख्या १ सय ७५ देखि २ सय ७५ सम्म रहनेछ । साभार नेपालखवरबाट