उदयपुर । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आज आइतबारदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ ।
पन्ध दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा/धामीहरुले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरेको छ । आईतबार परेको उधौली उदयपुरका बिभिन्न भागमा भव्यरुपमा मनाइदैछ । किरात राई यायोक्खा उदयपुरका अनुसार स्थानीय यायोक्खा प्रारम्भिक कमिटीहरुको आयोजनामा सदरमुकाम गाईघाटसँगै जिल्लाभरी भूमिपुजा र चुल्हा पुजेर छिरीनाम मनाउने क्रम सुरु भएको छ ।
यो सिलसिला १ महिनासम्म रहने यायोक्खा उदयपुरका कावा अध्यक्ष नविन राईले बताउनुभयाे । साकेलाथानमा आयोजित कार्यक्रममा सामुहिक भूमि पुजा गर्दा नेकपा (माओबादी) केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुरेशकुमार राई, डा. कैलाश राई, समाजसेवी प्रेमकुमार राईलगायतको उपस्थिति थियो ।
त्यसैगरी कटारीमा पनि सांसद सुरेककुमार राईकै प्रमुख आतिथ्यमा भूमि पुजा, सामुहिक चुल्हा पुजा र पितृतर्पण गरेर छिरीनाम मनाइएको यायोक्खा कटारी नगर समिति अध्यक्ष पदम राईले बताउनुभएकाे छ । चौदण्डीगढी नगरपालिका ७ बेलटारमा प्रथम किराती राजा यलम्बरको मुर्ति अनावरण गरेर छिरीनाम मनाइएको यायोक्खा नगर कमिटी अध्यक्ष अञ्जना राईले बताउनु भएकाे छ ।
यायोक्खा उदयपुरका संस्थापक अध्यक्ष स्वर्गीय कृष्ण चामलिङको स्मृतिमा उहाँका तीन श्रीमतिहरु किन्दरमाया, सुनमाया र धु्रवतारा पुमा राईले व्यक्तिगत लगानीमा मुर्ति निर्माण गरिदिएको यायोक्खा नगर सचिव शेखर राईले बताउनुभयाे । मूर्ति निर्माणमा राईत्रयको ४ लाख २५ हजार खर्च भएको यायोक्खा नगर सहसचिव निर्मला राईले बताउनुभयाे । बेलटार साकेलाथान परिसरमा निर्मित पूर्णकदको यलम्बरको मूर्तिको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले आईतबार आयोजित छिरीनाम कार्यक्रमा अनावरण गर्नुभएकाे थियाे । त्रियुगा, कटारी र चौदण्डीगढीबाहेक बेलका नगरपालिका तथा उदयपुरगढी, ताप्ली, रौतामाई र लिमचुङब्ङ गाउँपालिकाका बिभिन्न वडामा छिरीनाम मनाउने क्रम चलिरहेको यायोक्खा उदयपुरका उपाध्यक्ष दिपक किरातीले बताउनुभयाे ।
वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन छ । साकेला उधौली पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा मानाउने गरेका छन् ।
अन्नबाली लगाउने समय अर्थात बैशाख पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिर पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।