कटारी । उदयपुरको पश्चिमी क्षेत्रमा गत बुधबार रातीदेखि जंगली हात्तीको समूहले तीन वटा घरमा क्षति पुर्याएको छ । मध्यरातमा कटारी नगरपालिका २ सिमानपुरमा जंगलबाट निस्किएका तीनवटा हात्तीले स्थानीयको घर भत्काउनुका साथै धानचामल नष्ट गरिदिएको छ ।
जंगलबाट वस्तिमा प्रवेश गरेका हात्तीले स्थानीय चन्द्रबहादुर मगरको दुई तले घर, धानचामल गरी ८० हजार, पदम राईको घर, चामल गरी ३० हजार र काले मगरेको घरमा सामान्य क्षति पुर्याएको छ । समुहगतरुपमा आएका हात्तीलाई स्थानीयको सहयोगमा सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन कार्यालयको टोलीले लखेटेको सुवासचन्द्र वोहोराले बताउनु भएको छ ।
हात्तीको समूहले घरमा क्षति पुर्याएपछि स्थनीय त्रासले रातभर जाग्राम बसेको स्थानीयको भनाइ छ । परिवारका सबै सदस्य सुतिसकेको अवस्थामा जंगलबाट निस्किएका हात्तीले उनीहरुको घरको गार्हो, वरण्डा, वारवेरा भत्काईदिएको बताउनु भएको छ । राती हात्ती गाउँ पसेपछि स्थानीयले रातभर आगो बालेर हात्ति लखेटेका थिए । राती हात्ती गाउँ छोडेर गएपनि फर्केर थप क्षतिपुर्याउने डरले रातभर जाग्राम बस्नु परेको स्थानीयबासीले बताएका छन् ।
हात्तीले बस्तिमा क्षति पुर्याएको खवर पाएपछि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ खाद्यान्न लगायतको लत्ताकपडाको राहत लिएर पुगेका छन् । घरको धानचामल नै नष्ट गरेको खवर आएपछि केही दिनका लागि छाक टार्ने गरी चामल, दाल, चिउरा, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको मेयर श्रेष्ठले बताउनु भयो ।
उहाँले पीडित परिवारलाई तत्काल स्पोर्टमै गएर प्रारम्भिक राहत वितरण गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘क्षति र अवस्था थप राहत उपलब्ध गराउँछौ ।’ पाकेको धान थन्क्याएको समयमा जंगली हात्ती बर्षेनी आउने गरेको स्थानीयको भनाइ छ ।
समूहगतरुपमा गाउँ प्रवेश गर्ने हात्तीले बर्षेनी सर्वसाधरणको ज्यान लिने, अन्नवाली र घरमा क्षति पुर्याउने गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी बोहोराले बताउनु भयो । त्यस्तै बेलका नगरपालिका क्षेत्रभित्र कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रबाट निस्कने हात्तिले बर्षेनी क्षति पर्याउँदै आएको छ ।