काठमाडौं । निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आज विहीबारदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो ।
निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, कांग्रेसका तीन र मनोनित एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।
जसमा चार बर्षे कार्यकाल सकिन लागेका नेकपा एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगम प्रसाद वान्तावा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल, कोमल वली , रामलखन चमार, गणेश तिमल्सिना र कविता बोगटी रहेका छन् ।
यस्तै माओवादी केन्द्रका शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष), खिमकुमार विक, दिनानाथ शर्मा (दलको नेता) जीवन बुढा र रामनारायण विडारी (मनोनित) को पदावधि सकिन लागेको छ । त्यस्तै नवगठित नेकपा (एकीकृत समाजवादी) उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर र खगेन्द्र प्रकाश पुरीको चार वर्षे कार्यकाल सकिदै छ ।
त्यसैगरी नेपाली काँग्रेसका राधेश्याम अधिकारी (दलको नेता), दृघनारायण पाण्डे र तारादेवी भट्टको पनि पदावधि सकिँदैछ ।
दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए । उनीहरुको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए ।