बिबिसी । धेरै उत्परिवर्तित कोरोनाभाइरसको नयाँ भेरिअन्ट पुष्टि भएको छ र वैज्ञानिकहरूले ओमिक्रोन भेरिअन्ट ''ठूलो चिन्ता''को विषय रहेको बताएका छन्। नयाँ भेरिअन्टले खडा गरेको एउटा मुख्य प्रश्न यो हो: के कोभिड खोपले काम गर्छ ?
नयाँ भेरिअन्ट के हो?
विश्वभर कोभिडका हजारौँ भेरिअन्ट फैलिएको छ। यो अपेक्षित नै हो किनभने भाइरसमा उत्परिवर्तन भइरहन्छ । तर B.1.1.529 वा ओमिक्रोनले भने विज्ञहरूलाई चिन्तित बनाएको छ। हाल उपलब्ध कोभिड खोपहरू सुरुमा पुष्टि भएको कोभिडमा आधारित रहेको तर ओमिक्रोन भने त्योभन्दा निकै फरक रहेकाले विज्ञहरू चिन्तित बनेका हुन्।
यसमा भएको आनुवंशिक परिवर्तनहरूको सूची लामो छ । कुल ५० परिवर्तनमध्ये ३२ वटा परिवर्तन भाइरसको स्पाइक प्रोटिनमा छ जसलाई खोपले लक्षित गरेको हुन्छ। तर यसले कति खतरा बढाउँछ भन्ने कुरा स्पष्ट भइसकेको छैन।
के खोपले अझै काम गर्छ?
विज्ञहरूका अनुसार हाल उपलब्ध खोपले राम्रोसँग काम नगर्न सक्छ। तर यसको अर्थ यो होइन कि खोपले सुरक्षा प्रदान गर्दै गर्दैन। कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामा जस्ता प्रमुख भेरिअन्टहरूले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउन खोपहरू अझै प्रभावकारी छन्। हाल देखिएका अनि भविष्यमा देखिन सक्ने भेरिअन्टहरूबाट अधिकतम सुरक्षा प्राप्त गर्नका लागि खोपका सुझाइएको मात्रा प्राप्त गर्न अत्यावश्यक रहेको चिकित्सकहरू बताउँछन्।
यूकेमा निम्न लिखित मानिसहरूलाई बुस्टर मात्रा दिइएको छ:४० वर्षभन्दा माथिका ।
स्वास्थ्यकर्मी र सामाजिक हेरचाह कर्मचारीहरू ।
आवासीय स्याहार गृहहरूमा रहेका वृद्धहरू ।
कोभिडले उच्च जोखिममा पार्न सक्ने स्वास्थ्य अवस्था रहेका १६ देखि ४९ वर्षका मानिसहरू ।
जोखिममा रहेका व्यक्तिसँग बसोबास गर्ने वयस्कहरू ।
यूकेमा हालसम्म एक करोड ६० लाखभन्दा बढी कोभिड खोपका बुस्टर वा तेस्रो मात्रा दिइएको छ।
यूकेमा कोभिड सङ्क्रमण बढी रहेको भए पनि अस्पताल पुर्याउनुपर्नेहरू र मृत्यु सङ्ख्या भने विगतका लहरमा देखिएभन्दा कम छ। विज्ञहरू यसको श्रेय खोप कार्यक्रमको सफलतालाई दिन्छन्। नयाँ भेरिअन्टविरुद्ध खोप प्रभावकारी हुन्छ या हुँदैन हेर्नका लागि वैज्ञानिकहरूले परीक्षणहरू गर्नेछन्।
नयाँ खोप कहिले?
कोभिड भेरिअन्टविरुद्ध खोपहरूको नयाँ संस्करणहरू कुनै बिन्दुमा आवश्यक पर्न सक्ने आकलन गरेर परीक्षण भइरहेका छन्। परीक्षणका लागि नयाँ खोपहरू केही हप्तामै तयार हुन सक्छ।
उत्पादकहरूले छोटो समयमै उत्पादन बढाउन सक्छन् र नियामकहरूले स्वीकृति दिने प्रक्रियालाई कसरी छिटो बनाउने भन्ने विषयबारे छलफल गरिरहेका छन्। कुनै पनि प्रक्रिया नछोडिए पनि परीक्षणदेखि स्वकृतिसम्मको प्रक्रिया कोभिडको पहिलो खोप विकास गर्न लागेको समयभन्दा निकै कम लाग्ने बताइएको छ।
अन्य भेरिअन्टको हकमा के हुन्छ?
अधिकारीहरूले केही भेरिअन्टहरूलाई गहन रूपमा नियालिरहेका छन्। सबैभन्दा बढी खतरा हुनसक्नेलाई 'भेरिअन्ट अफ कन्सर्न' अथवा चिन्ताको विषयका रूपमा वर्गीकृत गरिन्छ। त्यसमा हालसम्म यी भेरिअन्टहरू सूचिकृत छन्
डेल्टा भेरिअन्ट (B.1.617.2) - सुरुमा भारतमा देखिएको र हाल यूकेमा यो भेरिअन्ट आम रूपमा फैलिएको छ।
अल्फा भेरिअन्ट (B.1.1.7) - सुरुमा यूकेमा देखा परेको यो ५० भन्दा बढी मुलुकमा फैलिएको थियो।
बीटा भेरिअन्ट (B.1.351) - सुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिअन्ट यूकेसहित कम्तीमा २० राष्ट्रमा फेला परेको थियो।
गामा भेरिअन्ट (P.1) - सुरुमा ब्रजिलमा फेला परेको यो भेरिअन्ट यूकेसहित १० भन्दा बढी राष्ट्रमा पुष्टि भएको थियो।
यूकेका अधिकारीहरूले AY.4.2 वा 'डेल्टा प्लस' भनिने डेल्टा भेरिअन्टको अर्को प्रकारलाई पनि नजिकबाट नियालिरहेका छन्।
भेरिअन्टहरू कति खतरनाक छन्?
यीमध्ये कुनै भेरिअन्टले सङ्क्रमित धेरै मानिसहरूलाई गम्भीर बिरामी पार्न सक्छन् भन्ने प्रमाण छैन। सुरुमा पुष्टि भएको कोभिडले भने वृद्ध अनि गम्भीर स्वास्थ्य समस्या रहेकाहरूलाई जोखिममा पार्न सक्छ।
र पनि कुनै भेरिअन्ट सङ्क्रामक रहे खोप नलगाएका जनसङ्ख्यामा मृत्यु सङ्ख्या बढाउन सक्छ। भेरिअन्ट अफ कन्सर्नविरुद्ध खोपले सुरक्षा प्रदान गर्छ। खोपले सङ्क्रमणको जोखिम पनि कम गर्छ। तर यसले पूर्ण रूपमा जोखिम भने हटाउँदैन।
जोखिमबाट बच्नका लागि हात धुने, दूरी कायम गर्ने, भिडभाडमा मास्क लगाउने अनि गुम्म रहने स्थानमा हावा प्रवाहबारे सतर्क रहने जस्ता कार्यहरू पर्छन्।
नयाँ भेरिअन्टहरू किन फेला परिरहेका छन्?
भाइरसहरूले प्रजननका लागि आफ्नो प्रतिलिपि बनाउन सक्छन्। तर यसमा उनीहरू राम्ररी गर्न भने जान्दैनन्।
यो कार्यमा त्रुटि हुँदा आनुवंशिक संरचनामा परिवर्तन हुन्छ र नयाँ भेरिअन्टको उत्पत्ति हुन्छ।
यसले भाइरसलाई जीवित रहने अवस्था सृजना गरिदिए नयाँ भेरिअन्ट मौलाउँछ। कोरोनाभाइरसले जति धेरै आफ्नो प्रतिलिपि बनाउन पाउँछ, त्यति नै उत्परिवर्तन हुने अवसर प्राप्त हुन्छ। त्यसकारण सङ्क्रमण दर कम राख्नु महत्त्वपूर्ण हुन्छ। नेपाली बिबिसी सेवा