उदयपुर । कोभिड–१९ को परीक्षण दायरालाई फराकिलो बनाउन यहाँको एक सामाजिक संस्थाले चार लाख बढिको परीक्षण सामग्री उपलब्ध गराएको छ ।
विश्वरभर महामारीकोरुपमा फैलिएको कोभिडको असर उदयपुरमा युवा उमेरमा देखिएपछि महामारी नियन्त्रणका लागि वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)ले सामग्री सहयोग गरेको हो ।
परीक्षणको अभावमा संक्रमितको संख्या नथपिएपनि जोखिम उत्तिकै रहेको भन्दै संस्थाका अध्यक्ष शंकरबहादुर थापाले बुधबार प्रमुख जिल्ला अधिकार एवंम डिसिएमसीका अध्यक्ष विरेन्द्रकुमार यादवमार्फत स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
संस्थाले डब्लुएचओबाट मान्यता प्राप्त प्रतिगोटा ३ सय ८४ रुपैँया २ पैसा पर्ने ३ लाख ८४ हजार २ सय मुल्यको १ हजार थान एन्टिजेन किट उपलब्ध गराएको परियोजना व्यवस्थापक विकल सुबेदीले जानकारी दिए । त्यसैगरी प्रतिसेट २ हजार ७ सय ४३ रुपैँया ६४ पैसा पर्ने ५४ हजार ८ सय ७३ मुल्य बराबरको २० थान पिपिईसेट उपलब्ध गराएको उनले बताए ।
पिपिइसेट भित्र सर्जिकल मास्क, ग्लोब्स, फेससिल्ड, पलाष्टिक जुत्ता, सेनिटाईजल लगायत १२ प्रकारका सामग्रीहरु रहेको उनले बताए । यसअघि संस्थाले २० लाख बढि मुल्यको ७० थान अक्सिजन सिलिण्डर, १ करोड १० लाख बढि मुल्यको कोभिडबाट विपन्न परिवारलाई राहत लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष थापाले बताए ।
स्वास्थ्य सामग्री बुझ्दै प्रजिअ यादवले विपत जतिबेला पनि हुन सक्ने भएकाले त्यसअघि नै पुर्वतयारी भएर बस्नु उपयुक्त हुने बताए । उनले भने, ‘तेश्रोचरणको कोभिड–१९ को चर्चा चलिरहेका बेला यस्ता स्वास्थ्य सामग्री उपयोगी हुने विश्वास लिएका छौ ।
त्यसैगरी संस्थाका अध्यक्ष थापाले गाउँघरमा थुप्रै कोभिडका विरामी भएपनि परीक्षण नगर्दा लुकाएर बस्न बाध्य भएको बताए । उनले विरामीको औषधिउपचार प्रभावकारी नभएकैकारण अधिकांस विरामी परीक्षण नै नगरी घरमा बस्ने गरेको उनले बताए । अध्यक्ष थापाले एकद्धार प्रणालीबाट सामग्री सहयोग गर्दा आवश्कताका आधारमा सम्बन्धित ठाउँमा पुग्ने भएकाले प्रशासन कार्यालयमा हस्तान्तरण गरिएको बताए ।
यसअघि संस्थाले नेपाल कभर परियोजना दोश्रो अन्तर्गत कोभिड–१९ बाट प्रभावित एकल महिला, अपांङ्गता, अतिविपन्न, गर्भवति तथा सुत्केरी महिलाका घरपरिवारलाई राहत सामग्री र पौष्टिक सामग्री वितरण गरिएको व्यवस्थापक सुबेदीले बताए । समुदायमा पहिचान भएका कुपोषित नानीहरुलाई सर्वोत्तम पिठो बनाउनको लागि पौष्टिक सामग्री वितरण गरिएको उनले बताए । संस्थाले २ हजार ७ सय ४६ घर परिवारलाई राहत सामग्री र १ हजार २८ जना कुपोषित नानीहरुलाई सर्वोत्तम पिठो बनाउने पौष्टिक सामग्री वितरण गरिएको उनले बताए ।
संस्थाले पोषण तथा उत्थानसिल जिविकोपार्जन परियोजना अन्तर्गत वल्र्डभिजनइन्टरनेसन नेपालको आर्थिक सहयोगमा रौतामाई गाउँपालिकाको २,३,४,५,६,७,८, त्रियुगानगरपालिकाको १५, उदयपुरगढि गाउँपालिकाको १ र २, कटारी नगरपालिकाको ८ र ९ र ताप्ली गाँउपालिकाको १,२,३,५, वडामा सामग्री वितरण गरेको सुबेदीले बताए ।
राहततर्फ मन्सुली जनही चामल ३० केजि, दाल ३ केजि, चिनी २ केजि, तेल २ लिटर, सावुन ४ वटा र आयोडिन नुन २ केजिका दरले उपलब्ध गराएको हो । त्यस्तै सर्वोत्तमपिठो बनाउने सामग्रीमा चामल १५ केजि, दाल ५ केजि, चिनी १ केजि, तेल सुर्यमुखि १ लिटर, आयोडिन नुन १ केजि, गहँुको पिठो ५ केजी अण्डा ३० पीस वितरण गरिएको उनले बताए ।