काठमाडौं । सन्तानको दीर्घायु एवम् परिवारको कल्याणका लागि मिथिलाञ्चलमा आज विधिवत् रुपमा जितिया पर्व शुरु भएको छ । यस पर्वका अवसरमा आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु माताहरु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलार्पण गरेर पर्वको सङ्कल्प गर्छन् ।
घिरौंँलाका पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहन देवतालाई अर्पण गरी पर्वको शुभारम्भ गरिएको हो । आजकै दिन बर्तालुहरु कोदाको रोटी र माछा खाने गर्छन् ।कोरोनाको कारणले पोखरीहरुमा विगत वर्षहरुका तुलनामा नुहाउनेको सङ्ख्यामा कमी आएको भए पनि पर्व मनाउने माताहरुमा उत्साहमा कुनै कमी आएको छैन ।
अष्टमी तिथिको आगमनसँगै निराहार व्रतको शुभारम्भ हुन्छ । अष्टमीको आगमन हुनुअघि बिहानका समयमा वर्तालुहरु अन्न र फलफूल ग्रहण गर्छन् जसलाई ‘ओठघन’ भनिन्छ । यसपल्ट तिथिका समयमा हेरफेर भएकाले बर्तालुले ओठघन गर्न पाएका छैनन् । आज बुधरात राति १०ः३० बजेपछि अष्टमी तिथिको आगमन हुनासाथ व्रत शुरु भएको मान्नुपर्छ । सोही कारणले बिहीबार बिहान ओठघन गर्न नियमले नपाइने पण्डित विमल झाले बताउनुभयो ।
जितिया पर्वमा आउँदो आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरु स्नान गरी चोखो हुन्छन् । अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर पर्व समापन हुन्छ । तिथिका समयमा हेरफेर भएकाले बर्तालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासका अवधिमा थुक पनि निल्न नहुने मान्यता छ ।
पितृ पक्षमा मनाइने गरिएकाले मैथिल ब्राह्मणी बर्तालुले आआफ्ना दिवङ्गत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्य रुपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ ।
कठोर व्रत
सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीर्घायुका लागि माता जिर्मूतवाहन देवताको कठोर उपवास गर्ने गरिएको हो । भविष्य पुराणमा आराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी राखेको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ व्रत बस्न भनेको उल्लेख गरिएको छ ।
यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ । आफ्नै आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडी सो हाँगामा चिल र पोथी स्यालको आकृति बनाएर विधिपूर्वक पूजा गरेका खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाउनुभएको बताइन्छ ।
को हुन् जिमूतवाहन
भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिर्मूतवाहनमाथि महादेवको असीम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई वरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ ।
व्रत बसेका दिनमा बर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि घर पुगेर डाली ९टोकरी० भर्ने नियम छ ।
सो डालीमा फलफूल, मिठाइ र नरिवल राखी नयाँ वस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट छोपिएको सो वस्त्र हटाएर दर्शन गरी प्रसादका रुपमा ग्रहण गरिन्छ ।
उपवासका दिन बर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आँगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गरिन्छ ।