उदयपुरगढी । उदयपुरको उदयपुरगढीमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको छ । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरु परित्याग गर्दै शनिबार मात्र एकसय भन्दा बढीकाे संख्यामा प्रवेश गरेका हुन् ।
शनिबार नेकपा माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका कमिटी उदयपुरगढीले आयोजना गरेको शुभकामना आदन प्रदान तथा पूर्ण बैठकमा विभिन्न पार्टी परित्याग गरी एकसय १६ जना प्रवेश गरेका हुन् । विभिन्न पार्टीबाट निर्वाचित बनेका पूर्व जनप्रतिनिधि, वडा पार्टी सदस्य, गाउँपाटी सदस्यहरु माओवादी केन्द्र प्रवेश गरेको माओवादी केन्द्र उदयपुरगढीका अध्यक्ष देब गिरीले बताउनु भयो ।
‘उदयपुरगढीमा माओवादी केन्द्रमा जनलहर लोभलाग्दो छ,’ उहाँले भन्नुभयो, ‘अन्य पार्टी परित्याग गरी अझै ठूलो संख्यामा माओवादी प्रवेश गर्न तयार रहेको बताउनेको संख्या ठूलो रहेको छ ।’ नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष तथा उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का प्रतिनिसिभा सदस्य सुरेशकुमार राई हिमाल र नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला समन्वय समिति उदयपुरका संयोजक विनोद कटुवाल दिवश लगायतले खादा, टिका लगाउँदै प्रवेश गराउनु भएको थियो ।
शुभकामना आदन प्रदान तथा पूर्ण बैठकमा प्रमुख अतिथिसमेत रहनु भएका राईले देशैभरी माओवादी केन्द्रमा जनलहर बढ्दै गएको बताउनु भयो । यसैगरी जिल्ला समन्वय समिति उदयपुरका संयोजक कटुवालले देशलाई संघीय गणतन्त्र नेपालमा बल्दने पार्टी माओवादी केन्द्र भएकाले अन्य पार्टीबाट परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्न आव्हान गर्नु भएको थियो ।
उदयपुरगढी माओवादी केन्द्रका सचिव भुवन मगरले सञ्चालन गरेको उक्त बैठकमा माओवादी केन्द्र प्रदेश १ का सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सचिव मगरका अनुसार उक्त बैठकले उदयपुरगढी गाउँपालिकामा संगठन सुदृढीकरण अभियान चलाउने र माओवादीका विभिन्न कार्यक्रमलाई जनसामु लैजाने र पार्टीलाई थप मजबुद बनाउँदै लैजाने निर्णय गरेको छ ।