कटारी । परिवर्तनमा पक्षमा बलिदान दिने महान सहिदहरुको सपना पुरा गर्न नेकपा (माओवादी केन्द्र) बलियो हुनु पर्ने बताइएको छ । २३ औं स्मृति दिवस अर्थात महान सहिद कामरेड मोहन कटुवाल, जामुन चौधरी र कामरेड चक्र राईको स्मृति कार्यक्रममा बोल्ने बक्ताहरुले महान सहिदहरुको सपना पुरा गर्न नेकपा (माओवादी केन्द्र) बलियो हुनु पर्ने बताउनु भएको हो ।
शुक्रबार महान सहिद जामुन चौधरीको गाउँ कटारी खैरेनीमा आयोजित कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले देशलाई संघीय लोकतान्त्रिक गणन्त्र नेपाल निर्माणको लागि जीवन बलिदान गर्ने सहिदहरुको सपना अझै पुरा नभएको र कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन माओवादी अझै बलियो हुनु पर्ने बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला समन्वय समितिका संयोजक विनोद कटुवालले दिवशले परिपर्वतनको पक्षमा बलिदान गर्ने जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुको सपना पुरा गर्न माओवादी झनै शक्तिशाली हुनु पर्ने बताउनु भयो ।
‘देशलाई एकात्मक राज्य व्यवस्थाबाट संघीय संरचनामा ढाल्ने प्रमुख आन्दोलन भनाैं वा युद्ध भनौं जनयुद्ध हो,’ उहाँले भन्नुभयो, ‘त्यही जनयुद्धका सहिदहरुको सपना अझै पुरा भएको छैन्, सहिदहरुको सपना पुरा गर्न माओवादीलाई अझै बलियो बनाउनु पर्ने वेला आएको छ ।’ महान सहिद मोहन कटुवालका पुत्रसमेत रहनु भएका जिल्ला संयोजक कटुवालले जनयुद्धमा दशौं हजारले गरेको बलिदानले देशमा अहिलेको परिवर्तन आएको बताउनु हुँदै भन्नुभयो, ‘सहिदहरुको सपनाप्रति माओवादी कार्यकर्ता जनतासामु प्रतिवद्ध हुनुपर्ने वेला आएको छ ।’
कार्यक्रममा यसैगरी सहिद जामुन चौधरीकी धर्मपत्नी इन्द्रवती चौधरीले जसले परिवर्तनको पक्षमा घर परिवार त्यागेर जीवन आहुती दिनु भयो, उहाँहरुको सपना भुल्नु नहुने बताउनु भयो । ‘आजको लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको लागि उहाँहरुले (सहिदहरु) जीवन दान गर्नु भएको हो,’ नेकपा माओवादी केन्द्र प्रदेश १ सल्लाहकार समिति सदस्यसमेत रहनु भएकी इन्द्रवतीले भन्नुभयो, ‘उहाँहरुको सपना पुरा गर्न अबका दिनमा माओवादी बलियो हुनुपर्छ ।’
कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ समिति सदस्य भेषकुमारी राउतले सहिदहरुको सपना पुरा गर्न माओवादी आन्दोलनलाई बलियो बनाउनु पर्ने समय आएको बताउनु भएको छ । यसैगरी कार्यक्रमममा बोल्ने वक्ताहरुले सहिदहरुको सपना पुरा गर्न माओवादी बलियो हुनु पर्ने उद्घोष गर्नु भएको थियो ।
माओवादी केन्द्र कटारी नगर कमिटीका अध्यक्ष मणिराज दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति उदयपुरका सदस्य, किसुनलाल दनुवार, कमल श्रेष्ठ, कटारी नगर कमिटी योङ कम्युनिस्ट लिगका अध्यक्ष इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो भने, स्मृति कार्यक्रमको उद्घोषण माओवादी केन्द्र नगर कमिटीका सचिव यम्वरबहादुर कटुवाल (बाँसु) ले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय जनताको सहभागिता थियो ।
महान सहिद कामरेड मोहन कटुवाल, जामुन चौधरी र कामरेड चक्र राईलाई जनयुद्धको क्रममा कटारीको चिम्टाघारीमा तत्कालिन सामान्ति राज्य व्यवस्थाले आजैको दिन २०५५ साल कात्तिक १२ गते हत्या गरेको थियो । माओवादी आन्दोलनका अर्थात समान्ती राज्य व्यवस्थाविरुद्ध देशैभरी जनयुद्ध सुरु हुँदै गर्दा उहाँले उदयपुरबाट सुरु गर्नु भएको थियो ।