“मैले सवै परम्परागत संस्कारलाई आधा बनाएको छु । पटक पटक भनेकै हो त । जान मन भए जा , नभए नजा ।” साँहिलो एकाएक जंघिएर साहिँलीतर्फ झम्टियो । मैले नजिकबाट यति मात्र सुनें, देखें । माइलो जंघिएको देखें । म आफूभित्र अचम्मित भए । साहिँलोका कुराले मालाई झस्कायो । साहिँलो बाउआमाको दश भाइ छोरा मध्येको तेस्रो छोरो हो ।
हिम्मत गरेर साहिँला साहिँलीको दलानमै पुगें । खेताला खोज्ने बाँहाना बर्साएँ । साहिँलीले भित्रबाट मकैको खोस्टाको पिरा ल्याएर दिईं । म पेटीमा अढेस लागेर बसें । दले र चमेली विद्यालय जान लुगा लाँउदै थिए । साहिँलो अझै पनि रातो पिरो देखिन्थ्यो । साहिँली ओइलाएकी थिई ।
मैले साहिँलालाई सोधें, “एउटा कुरा सोध्नु प–यो क्या साहिँला । अप्ठेरो लागेको भए म जान्छु । ” साहिँलोले “होइन, होइन, भन्नु न साना , म सानासँग रिसा’को होइन । यो दलेकी आमा मेरो कुरै बुझ्दिन । यसलाई सम्झाएको छु ।” मलाई मलिन स्वरमा जवाफ दियो ।
“ए साहिँला, परम्परागत संस्कारलाई आधा बनाएको भनेको के हो ? कुरै बुझिनन ।” मैले सोधें । “संस्कार पनि आधा र पूरा हुुन्छ ?” फेरी सोधें । साँहिलो आरनमा पुगेथ्यो । काहिँला बाजेको खुकुरीमा सान लायो उसले । काहिँला बाजे हाम्रो कुरा सुनिरहे । केहि बोलेनन् ।
अलि डराएर साहिँलो आफ्नो आरनको काम गर्दै बोल्यो, “दले र चमलीको न्वारन सात दिनमंैं गराँए । पारीघरे मालिकको नातिको छेवरमा पाँच रुपैयाँ टक्रायाँए । सबैले दशका दरले दिएथे । पास्नीमा जाँदा म पैसा दिन्न, एक किलो चामल लान्छु । दलेको छेवरमा दलेलाई लुगा किनिन, पुरानै लुगा धोएर काम चलाएँ ।
ऊ फेरी बोल्यो, “भान्जीको विहेमा बेहुलीलाई मात्र दक्षिणा गरें, त्यो पनि आधा मात्र । आमाको किरिया साता दिनमै सकें । छ महिनामा सबै विधि सिध्याएँ । सेतो लाएकै होइन्, साताैँ दिनमै सेतो हटाँए । आमाको श्राद्व भाइले बर्षमा दुई पटक गर्छ, म एक पटक मात्रै श्राद्व गर्छु । दुर्गा पुजा षष्ठीका दिनदेखि शुरु गर्छु । तीन दिन मात्र टिका लगाउँछु , लगाइ दिन्छु । देउसि दुई दिनमात्र खेल्ने गर्छु ।
“थानी पूजामा परेवा, कुखुरा होइन, कुविन्डोको बली दिन्छु । कुल पूजा, धुप धुँवार गर्दिन । सिद्व मान्न छोडेकै चार वर्ष भएछ । बाली थन्क्याँउदा न्वागी खानै छोडें । गोठधुप छोरीलाई टिका लगाएर सम्मपन्न गर्दै छु । पुरोहितलाई श्राद्वमा आँउदा पनि दुई ओटा फाली दान गर्छु । पैसा दिन छाडिसकेंं ।” ऊ बोल्यो ।
साहिँलो भनिरह्यो, “जाँड–रक्सी आफू बनाउँदिन, पिउँदिन । पाहुना आए भने आफंै खोजेर ल्याउँछन्, पिंउँछन् । कुनै भोज भतेर गर्दिन ।”
त्यो कुरा सुन्दा त म अचम्मित भएँ । आश्र्चयमा परें । साहिँलीले एक थान फाली पाई साहिँलो बाट । साहिँली नसेको छोरीको विहेमा गई । साहिँलो आरनमै खल्खली पसिना काड्दैै फलाम चुट्न थाल्यो । केटाकेटी विद्यालय गए । साहिँलाका बा आमा बारीमा सुकुल ओछ्याएर घाम ताप्दै रहे । म धानमा पानी पटाँउन बिरौटातिर लागें ।
खेतमा पुगे फेरी झस्किएं । म भन्दा साँहिलो त धेरै गुणा परिर्वतनकारी रहेछ । ऊ त सामाजिक क्रान्तिको मूल खम्बा पो रहेछ । धन्य साहिँलो ! धन्य !
सम्पन्न !