माइला बा गाँउमा राम्रै गरी चिनिएका धर्मगुरु हुन् । कर्मकाण्डमा माइला बा निक्कै ठूलो ख्याती कमाएका पात्र पनि हुन् । ज्योतिष खडानन्द उपाध्यायका नाति अनि पंण्डित कोमलनाथ उपाध्यायका माइला छोरा आज चरैतिर कर्मकाण्डी पेशामा नाउँ जस कमाएका ब्यक्तिका रुपमा परिचित छन् । उपाध्याय परिवारमा माता हस्तमायाका कोखबाट जन्म लिएका दश भाइ छोराहरुमध्ये दोस्रो क्रमका ब्यक्ति हुन माइला बा । जन्म कुन्डली अनुसार सिंह राशिका माइला बा टंकनाथ उपाध्याय नामले उत्तिकै परिचित छन् ।
चार थुम मध्ये ठूलो र नाइके थुमका पुरोहित यिनै माइला बा हुन् । अन्तर जतिय विबाह गरी गाँउकै साने खड्काकी छोरी जेठीलाई कान्छि श्रीमतिका रुपमा घर प्रवेश गराएको उजुरी भने कर्मकाण्डी समूहमा छँदैछ । पल्लो थुमका चर्चित पंडितकी छोरी झ्याँई झ्याँई बाजा बजाएर कलकलाँउदो उमेरका नमूना दम्पती बनेका ती दुईबिच आज ठूलै कटाक्ष छ । तीन बहिनी छोरी जन्मिए, छोरा भएनन्, परलोक गमनमा बाधा पुग्ने भन्ने यो मनोविज्ञान र सामाजिक मूल्य मान्यताको सम्मानलाई समेट्न उनले कान्छी ल्याएका थिए ।
आफ्नै गृहस्थिमा कामकाज गर्ने हरुवा चरुवा मध्येका एक पात्र साने खड्काकी जवानीले टिलपिलिएकी डम्वर कुमारीलाई बिहे गरे पछि माइला बा खड्काकै ज्वाँईं बन्न पुगेका थिए । बाह्र वर्षको कलिलो उमेर तर सत्र वर्षको जस्तो जवानीले लपेटेको थियो ती खड्का पुत्रिलाई । तीन छोरी मात्र खड्काका सन्तती थिए ।
तीन मध्येकी जेठी डम्वर कुमारी । माइला बा सिंह राशि अनि उनको गर्जन र रापताप पनि सिंहकै सरहको । कर्कट राशि डम्वर कुमारी राशिका हिसावले भने माइला बा भन्दा राशि क्रममा एक स्तर अगाडी थिई कुन्डली अनुसार । रस विद्या र काम बासनामा निकै अब्बल थिइ डम्वर कुमारी । धेरै ठूलो स्वरमा माइला बा कस्सिए भने आज पनि खड्का पुत्रीले उनका नसापासा गलाइहाल्छिन ।
माइला बा खलखली पसिना काड्छन् । उनलाई काम धर्म थाम्न हम्मे हम्मे छ । तर उनले पनि आफ्नो मोल चुकाएका छैनन् खड्का पुत्री सामू । खड्का पूत्रीबाट चार पूत्री कमाएर जम्मा सात जना ज्वाँई जोडिसकेका छन् माइला बा ले । पुत्रलाभ भएकै होइन । माइला बा जन्म क्रमले जेठा र साहिंलाका बिचका दोस्रो क्रममा गणना हुने पात्र हुन् । उनको उमेर आज एकासी वर्षको छ । जेठी श्रीमति एकहत्तर वर्ष पूरा गरेकी छिन् । कान्छी , खड्का पुत्री भने भर्खर त्रिचालिस टेकेकी मात्र ।
एक दिन विहानको प्रसंग हो , पहाडको चिसो ठाँउ माघ मध्य भन्दा अगाडीको शुक्ल पक्षको स्वस्थानी ब्रतको अवधि छ । विहान रिमरिम उज्यालो हुन खोज्दै गर्दा पानी उघाँउन कुवामा माइली पुग्दा पानी माथी एकछत्त हिंउको ढकन लागेको हुन्छ । एउटा ठूलो काफलकोरुख देवीको संरक्षक भएर डिलमाथी खडा छ । त्यो रुख खडा भएको पनि आज तीन पुस्ता वितेको छ । कुवा वरिपरी काफलको रुखले मसिना र चिप्ला पात खसाँउदोछ । यसको उमेर एकिन छैन, मध्य हो वा वृद्व ,कुनै पहिचान छैन ।
हरयिा पात कसरि खस्छन ? दैवी शक्ति नै हुनसक्छ । अचम्मै छ । रातका समयमा चरा चरुङ्गी ,लोखर्के, मलसाँप्रो सवैलाई बास दिएकै छ । स्याल पनि यसकै साहरामा भूँईमा धुइरिन्छन् राती । काफल कायल छ । ऊ तयार छ । ऊ सवैका निम्ति तत्पर छ । अटल छ । कहिले कतै जाँदैन । मलिन छ , नरम छ । सहनशील पनि छ । रातको समयमा थानकी देवीलाई अनगिन्ती हरिया पातको पुष्पवृष्टि गराएकै छ । जीव जन्तु जोगाँउछ । मान्छेलाई देवीको बल मद्वतले दैनिक तारिख दिएकै छ । रुख चढ्न, हाँगा काट्न, झाँटे हान्न मनाई छ । लेखेर टाँस्नै पर्दैन ।
सवैलाई थाहा छ । कुवामा सिलबरे बटुकीले ठ्वाक ठ्वाक पार्दै माइली पानी उघार्छे । कठाङ्ग्रिदै चिसो पानीमा नुहाँउछे । रातको माईलोसंगको रासलिला पखाल्छे । स्वस्थानीमाताको ब्रत बसेकी हुनाले अचेल माइलीको दिनचर्या यसै गरी सुरु हुन्छ । उता माइलो उठेकै छैन । काले र माटी सुतेकै छन् । सासु , ससुरा र दुई देवर भने उठ्दैछन ।
काले र माटी राती ढिलो निदाँउन , ठाँउ सरी सरी पल्टिन , तर्सिन , सपनामै बक् बक् बोल्न र जुरुक्क उठ्नमा तालीम प्रप्त छन् । प्रायजसो विहान माइली भन्दा केहिबेर पछि माइलो , काले र माटीको जीउ तन्काँउदै उठ्ने आदत छ । माइली कुवा जानासाथ सासु उठेर एक पाथी मकै जाँतोमा दराल्न थाल्छिन । ससुरा भने न्वौनीको पित्ले बटुको र दारको ढुंग्रो बोकेर भैसी गोठतिर लाग्छन् ।
माइलीको कुवा खासै टाढा त छैन, तर बाटो अलि कटिलो अनि असजिलो र उकालो छ फर्कनलाई । माइलीलाई गोडा धुँदा दिइएका दुई तामे हत्तरहरु नै माइलीका पानी बोक्ने गाग्री हुन् । एउटा हत्तर डोकोमा र अर्को हत्तर कम्मरको फन्के पटुकीमा बोक्ने आदत र बाध्यता छ । पँहेलो दश हाते पटुकी राती माइलोले टाउको लपेट्न लिएको भन्ने माइलीलाई ख्याल छैन । अव कम्मरमा हत्तर अड्याउन मुस्किल छ ।
डोकोमा एक हत्तर अनि दुई हातमा आलोपालो दोस्रो हत्तर गर्दै दुःखजीलो कुशेकान्ला मुनिसम्म त ल्याँउछे । पाखुरामा नुहाँउदा भिजेको एक थान साया छँदैछ । कुशेकान्ला काट्न नसक्दा त्यँही हातको हत्तर बिसाँउछे । घरसम्म डोको, हत्तर, चिसो साया पु–याँउछे । फेरी आएर दोस्रो हत्तर हातमै झुन्ड्याएर घर पुर्याँउछे ।
चार महिना पूरा भएको पेट छ । खाना दाना भर्खरै अडिन थालेको छ । नाताकत प्रसस्तै छ । बेलाबेला चक्कर लाग्छ माइलीलाई । सासुको देब्रे हात हरेउले डसेर सिद्रा सुकाई सुकेको छ । हाड छाला मात्रै छ । एकै हातले मकै दराली रहन्छिन् । ससुरा ढुंग्राभरी दुध लिएर भित्र पस्छन् , कुडेमा खन्यानँउछन् ,दुध तताउँछन् । काठे डाडुले चलाउँछन् । ढुंग्रोको सास मार्छन ।
माइलो, काले र माटी अगेनाकै वरिपरी बस्छन् । बाजेले काले र माटीलाई काँसे डबकामा दुध दिन्छन् । केटाकेटी रमाउदै दुध पिउँछन् । माइलीले सल्लाको दियालो सल्काएर घरकसिंगर भने कुवा जानु अघिनै भ्याइसकेकी छे । दैलो अगेनु पोत्छे ।
मकै दराल्दै गर्दा सासु बजैले जेठो छोरो स्मरण गर्छिन । निसन्तान थियो । जेठी पनि एघार वर्षसम्म कोख नफुटेपछि हर्केसँग पोइल गएकी । जेठो दोहोरो पिडा खप्न नसकी मुग्लान भासिएको । त्यो पनि चार वर्ष भइसकेछ । उता माइलो आफ्नै कुँदुवा पिरामा छ । माइलीलाई कम्मरतिर संकेत गर्दै पटुकीको इसारा गर्छ माइलो । माइली माथि चडेर पटुकी बेर्छे । तल झर्छे, काममा लगी हाल्छे । परालको गुन्द्री बुन्ने काम माइलीको । माइलो आगाको अगुल्टो ओझाँउछ, काले र माटी पतपती भएको धुँवाले आँखा मिच्छन् ।
माइलाको भाइ साइलो र कान्छो पनि उठि सकेका छन् । माइलो जन्मै अपाङ्ग । दुवै हात आधी अनि ठुटा मात्र छन् । औँला छदै छैनन् । उता कान्छो नेवारोको रुखबाट अचानक पछारिएर असक्त । कम्मरमुनि चल्दैन । हातका सहाराले बामे सर्नु पर्छ उसले । ससुरा बेसीतिर लाग्छन् । सासु खरपाखातिर जान्छिन ।
माइलो गाँउमा एउटा नयाँ कुलो खनिदैछ । त्यतै लाग्छ । साँहिलो गोठतिर टहल गर्ने गरी पल्लो टारतिर लाग्छ । कान्छो गुन्द्रि बुन्ने बाबियो खरको डोरी बाट्ने कामका लागी कागती बारीतिर घस्रदै बाटो लाग्छ । काले र काटी खोल्सा पारी जन्तरेका केटाकेटीसँग खेल्न जान्छन् । माइली घरधन्दामा ब्यस्त हुन्छे ।
विहानको साँढे सातको हाराहारी भैसकेकोछ । घाम एक जुवा माथि पुगिसकेका छन् । सवै आ–आफ्नै काममा ब्यस्त छन् । घरमा माइली एक्लै छे । बाँकी सबै गछ्छ गछ्छ लागी सकेका छन् । हिंउँदको बेला, जाडो ठाँउ , दाउरा बल्नै मान्दैनन् । ढुग्रीले जोड संग आगो फुक्छे माइली । अगेनाको खरानी उडेर टाउको ढपक्कै ढाकिसकेको छ । च्याख्लाको खान्की बनाउनु पर्ने ।
पित्ले भाँडोमा पानी बसाएर ओइरो छिन्किन्छे माइली । पानी जिम्लिंदैछ । ससुराको सुत्ने चौकीले माइली र दैलो अनि जस्केलोविच देखादेख नहुने अबस्था छ । नाङ्लोमा ओइरो छिन्किंदाको आवाजले केही सुनिदैन । माइला बा बाहिरी आँटमा घँघौरुको लाठ्ठी उभ्याएर भित्र छिर्छन् । माइलीलाई अत्तोपत्तोे छैन । एका एक माइलीलाई नाङ्लोसँग संम्वन्ध विच्छेद गराउँछन् । तानेर मझेरीमा लपेट्छन् । कछाड सुर्किन्छन्, अनि माइलीको चोखो सायाँंगैको सतित्व र माइलोप्रतिको पतित्व स्वाहा ! माइला बा लुगाफाटा मिलाँउछन् । बाहिरिन्छन् ।
अघिनै कान्छो माइला बाको पछि पछि सास दबाएर घस्रँदै आएर तल्लापट्टीको पेटीमा चढेको छ । माइली लिस्नु चढ्छे । सियो धागो झिकेर साया सिउन थाल्छे । माइलीले ‘ चुँ ’ पनि भन्न भ्याइन । घाँटी ङ्याकेका माइला बाले । माइली मझेरीमा आइपुग्दा साँहिलो टुप्लुक्क आइपुग्छ । “मलाई डल्ली मिलाइदिए कि क्याहो माइला बाले ? आजत सखारै आएछन् । सधैं आँउछन् ।
अब त कुरा मिलेकै होला नी ?” साइलो मुस्कुरउदैं माइली भाउजूसित जिज्ञासा राख्छ । साँहिलोलाई के थाहा माइला बाको ध्याँवन्ती । उता कान्छोले मारु बाट चियाएर माइला बाको सबै बिवुचो देख्छ । माइला बा लाठ्ठी टेक्दै खोल्सो नकट्दै सवै गाँउलेहरुले समातेर माइलाकै आगनमा ल्याइसक्छन् । बाबियोको डोरीले पाता कसेर लडाउछन् । मरणासन्न हुनेगरी रामधुलाई दिन्छन् ।
कुनै जात धर्मका गाँउले छुट्दैनन् माइला बालाई लछारपछार र हातपात गर्नमा । दाहिने हात , देब्रे खुट्टो भाँची दिन्छन् । टाउको रक्ताम्मे हुन्छ । चारपाटा मुड्ने भन्दा मुनिका सबैखाले सजाँय पाउछन् माइला बाले । माइली लाई न्याय दिलाँउछन् । माइला बालाई चार भञ्ज्याङ् कटाँउछन् । धन्य गाँउले !
सम्मपन्न !