उदयपुर । निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा साढे तीन वर्षदेखि अवरुद्ध हुँदा आठौंपटक म्याद थप्ने काम भएको छ ।
उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम साढे तीन वर्षदेखि रोकिएको हो । कटारी नगरपालिका- ४ मरुवाका स्थानीयले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्याएका हुन् । स्थानीयको अवरोधपछि आयोजनाको काम त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नस्कदा ०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।
सोलु करिडोरको सातौंपटकको म्याद सेक्टेम्बरमा सकिएको छ । आठौंपटक डिसेम्बर २०२१ सम्मका लागि म्याद थप गरिएको सोलु कोरिडोर आयोजना प्रमुख जनार्दन गौतमले बताउनु भयाे । निर्माणाधीन सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजनाको ३०२ वटा टावरमध्ये अहिलेसम्म २९८ वटा निर्माण सकिएको छ ।
सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई काम सुरु भएकाे थियाे । आयोजनाको काम सन् २०२१ सेक्टेम्बरमा काम सक्ने सर्तमा सातौंपटक म्याद थप भएकाे थियो । तर थपिएको समयसीमामा काम सुचारु हुन नसक्दा पुनः तीन महिनाका लागि समय थप गरिएको आयोजना प्रमुख गौतमले बताउनुभयाे ।
आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयको बारम्बार अवरोधका कारण अलपत्र छ । सिराहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माणमध्ये २९८ वटा टावर निर्माण गरी तार तान्ने कामसमेत सकिएको छ ।
कटारी नगरपालिका- ४ मरुवामा स्थानीयको अवरोधका कारण चारवटा टावरको फाउन्डेसन निर्माण गर्ने क्षेत्रमा काम राेकिएकाे छ । कटारी नगरपालिका- ४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाईमेन्ट परिवर्तनको माग्दै अवरोध गरेको छ । उनीहरूले एलाइन्ट परिवर्तन हुन नसके ०७५ सालमा निर्धारण गरेको मुआब्जा पुन: मूल्यांकन गर्न माग गरेका छन् । त्यसबेला प्रति कठ्ठा २० लाखका दर मूल्यांकन गरेकामा अहिले नगरपालिकाले सिफारिस गरेको प्रति कठ्ठा ५० लाख हुन पर्ने माग गरिएकाे छ ।
मरुवामा चारवटा टावर निर्माण गर्नु पर्ने भए पनि स्थानीयकाे अवरोधका कारण काम अगाडि बढाउन नसकिएको आयोजनाले बताएकाे छ । सिरहादेखि सोलुसम्म ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म २९८ वटा टावरका ८७ किलोमिटरमा तार टांगिएको छ । बाँकी ३.०३ किलोमिटर अवरोध हुने क्षेत्रभित्र पर्छ ।
कटारी नगरपालिकाको लेखानीमा सात किलोमिटर अर्थिङ गर्न बाँकी रहेको अन्य काम सकिएको आयेजनाले जनाएको छ । प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगन र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।
नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिना अबरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो ।