कटारी । त्रिवेणी समाज समूह कटारी नगरपालिका २ गुराँसको आयोजनमा ‘खुल्ला आमन्त्रित फुटवल प्रतियोगिता २०७८’ सुरु भएको छ । आगामी कात्तिक १८ गतेसम्म चल्ने खुल्ला आमन्त्रित फुटवल प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको हो ।
जम्मा २१ टिमको सहभागीता रहेको खुल्ला आमन्त्रित फुटवल प्रतियोगिता गराँस हरियाली पार्क नजिक रहेको तल्लो ताल फुटवल मैदानमा सुरु भएको छ । स्थानीय समाजसेवी बृखबहादुर गुरुङ परिवारको प्रयोजन रहेको प्रतियोगितमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति उदयपुरका संयोजक विनोद कटुवाल (दिवश) ले खेलाडीको लागि जर्सी सहयोग गर्नु भएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम विशेष अतिथिका रुपमा बोल्दै संयोजक कटुवालले भन्नुभयो, ‘राज्यले खेल क्षेत्रलाई सशक्त बनाउँदै लानु पर्ने समय आएको छ, खेल क्षेत्रप्रति राज्य अझै मौन देखिन्छ ।’
पूर्व जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्षसमेत रहुनु भएका कटुवालले स्थानीय स्तरमा हुने प्रतियोगिताहरुले खेलप्रेमी जागरण आउनेसमेत बताउनुभयो । ‘देशमा संघीयता आएसँगै खेल क्षेत्र फष्टाउँदो छ,’ उहाँले भन्नुभयो, ‘अझै पनि तीनै तहका सरकारले खेल क्षेत्रलाई खुल्ला नजरले हेरेको अनुभुती गर्न पाइएको छैन्, खेलप्रेमी समाजसेवीहरुकै साथ सहयोगमा प्रतियोगिताहरु आयोजना भइरहेका छन् ।’
यसैगरी उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेमबहादुर क्षेत्री थापाले उक्त प्रतियोगिताले खेलप्रेमीहरुमा उत्सहा थपेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले खेल क्षेत्रको लागि वडा सरकारको तर्फबाट सकेको सहयोग गर्दै आइरहेका छौँ, हामीले मात्र चाहेर नहुँदो रहेछ, वडाभन्दा माथिका सरकारहरुले विशेष ध्याँन दिन जरुरी छ ।’
यसैगरी स्थानीय समाजसेवी सुर्यबहादुर मोक्ताङले फुटवल सहयोग गर्नु भएको छ । जम्मा २१ टिम सहभागी प्रतियोगिताको पहिलो खेल कटारी ११ र बेलस्रोतबीच भएको थियो । प्रतियोगिताका रेफ्री दिपक प्रधानका अनुसार जसमा कटारी ११ विजयी भएको छ । कटारीले ११ ले पाँच गोल गरेको थियो, भने बेलस्रोतले २ गोल गरेको थियो ।
उक्त प्रतियोगितामा प्रथम टिमले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार पुरस्कार पाउने र दोस्रोले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ३० हजार पाउने आयोजका संयोजक चामबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार शुभदिपावली २०७८ को अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा टिम दर्ता शुल्क चार हजार राखिएको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन दुर्गाबहादुर कार्कीले गर्नु भएको थियो, भने कार्यक्रममा बेलस्रोत प्रहरी चौकीका इन्चार्ज चन्द्रनारायण सिंहलगायत सहभागी हुनुहुन्थ्यो । आयोजना सम्पन्न हुँदा अनुमानित साढे तीनदेखि चार लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि त्रिवेणी स्वास्थ्य चौकी गराँसका प्रमुख जिवशकुमार साह नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।