सर्जक पुण्य कार्कीको “सृजन कठिन छ !” शीर्षकको एक निबन्धमा डुबुल्की लाएँ । एक पटक पढ्दा धित मरेन । अझै दोहोर्याएर तेरेर्याएर पढ्नु पर्ला जस्तो लाग्यो । तर, दोहोर्याउँदा लगभग धित मर्यो । प्यास घट्दै जाँदा अल्छिदेवीको हालीमुहाली सुरु भयो । तसर्थ प्रतिवद्वता बिथोलियो, खासै पत्तो चाहिँ भएन । भन्न र लेख्न मिल्ला–नमिल्ला–पछि लेखाजोखा गरिएला–त्यो आफ्नो ठाँउमा छ ।
निबन्धकारले निबन्धको सुरु “अकल्पनीय ध्वंसपछि........ ‘बाट गर्नु भएछ् । यसको अन्त्य “........अतुलनीय छ ।” भन्ने ठाँउमा पुगेको पाइन्छ । मैले नजिकबाट निबन्धकारलाई जान्दिन । तर, म आफूले एकाछेउमा नाम जानेका फ्रान्सेली समालोचक रोल्याण्ड बार्थ (रोला बाः) को एउटा सिद्वान्तसँग साइनो गाँस्ने अबोध मान्छे । फ्रान्सको पेरिसमा बीसौँ शताब्दिको मध्य भन्दा केही पछाडि चर्चामा आएका समालोचक उनै रोल बा: एक ब्यक्ति थिए, जसले सन् १९६७ मा “लेखकको मृत्यु (द डेथ अफ अथर )” नामक निबन्ध लेखे । जव निबन्धकारले ‘सृजन कठिन छ !’
पाठ्क सामु छर्नु भो, अनि उहाँको काम सकियो । बाँकी काम त पाठक वर्गको । जे जस्तो अर्थ लाग्छ, त्यो आशय, इच्छा, अभिलाषा र चाहना अनुकुल भए हुन्छ, नभए पनि ठिकै हुन्छ । केही फरक परेन । यसमा पाठक पूर्ण अधिकार सम्पन्न छ । भरसक पाठ्क समालोेचक बनोस्, आलोचक मात्र नबनोस् ।
निबन्ध नियाल्दा, खोतल्दा, कोट्याउँदा भित्र–भित्र पुगिन्छ । तर निबन्धकार सुरुमा घुमिफिरी ‘अकल्पनीय विध्वंस.....’ भन्दै कल्पनाको निद्रामा विध्वंसात्मक सपनाको तानाबाना केलाउँदै विषय प्रवेश गर्नु भएछ । मानव समुदायले अनुमान पनि आँक्न नसक्ने विनाशकारी मानव कदम भन्दै विगतको सामाजिक, राजनैतिक र साँस्कृतिक गतिविधिमा हुँडल–हाँडल पार्ने ध्वंसात्मक कार्यप्रति निबन्धकार जवाफ सहितको प्रश्नको घेरा अनि फन्दामा घुम्न थाल्नु भएको रहेछ ।
आखिर बिट मार्ने बेलामा फेरि ‘......अतुलनीय छ ।’ भन्दै जति चर्चा परिचर्चा गर्दा पनि ध्वंसात्मक धुँवा धुरीबाट मात्र निस्कन्न, ध्वाँसी, दाँती, पागरी नभनी मुस्लाकार भइ टुप्पिन्छ भन्ने तर्फ पुग्नु भएको छ । यस लेखनमा ढुंंगाका अक्षर बराबर कुँदिएका पक्षहरु धेरै छन् । तर अधिक मात्रामा कडाबाट नरम तर्फकै यात्रा तय भयो । चिच्याहटबाट शान्तितर्फको मार्ग प्रशस्त गरियो ।
पुरानो घरलाई भत्काउने, नयाँ घर बनाउने । ‘‘भित्र–भित्रै त्यस ताका जनैटुप्पी छिनाउने उच्च हिन्दु आर्यमाथिको आक्रमण एक ढंगले आमूल रुपमा परम्परा र जात विशेषको हतियार माथिको प्रहार हो’’ जसले पछि आएर हतियारमा हतियारवालाबाट नरम पाईन पनि हालिएकै हो । विध्वंस गर्न अधिकार चाँहिदैन , निर्णयपनि के पर्खनु ,झुडी र मुडी अनि सन्की भइदिए पुग्यो । भानुभक्त, पृथ्वि नारायण एकै युगका भाषिक अनि भौगोलीक एकीकरणका नायक हुन, तीनका उठे–बसेका शालिक सुताइदिए, ढलाइदिए,नसा–पासा लगाइदिए, प्राण पखेरु उडाइदिए ।
यो गलत मिथकीय पक्षमा राम्रै कोटिका ‘नन्दीभृङ्गी’ फेला परे जुन शब्द हो कि नाम हो ? आमाले स्वस्थानी लिँदा दुई–चार चोटि सुनेको त हुँ । अब त किशोरावस्था नन्दीभृङ्गीहरुकै भयो । बहुमतमा ढुक्क । विश्वका कम्युनिष्टहरुले झण्डाको माथि हथौडा नै मूल चिन्ह राख्दछन्, त्यो हामी अल्छीको हुँदै होइन । काम गरिखाने शिल्पीको सामान हो । यसले ‘बना’ भन्दा बनाउँछ , ‘भत्का’ भन्दा भत्काउँछ, खास त त्यो बिंड भएको रोबोट रहेछ । उता ‘राग’ धेरै रापिलो, रस कि रहर लाग्दो हुन्छ ।
गीता पाठ गर्ने बा–आमाले पुसे र साउने धुँनीमा राग गाउँदा हिजो अस्ति बैंसमा बेसा खोजेका रछ्यान सुकिला हुँदा हुन् । सामवेदलाई समेटी ‘सुर, ताल, लय, गति, यति र भाँती नपुर्याउँदा सृजना बेहोस हुन्छ, बेखबर हराउँछभन्दा फरक नपर्ला । कला आफैँभित्र साधना बोक्छ, मेहनत खोज्छ ।
निबन्धकारको चार बर्षे कागती काटियो । कटक्क मन काटियो । कुँडियो पनि । छरछिमेकिमा सानातिना काला कर्तुत र कलुषित मन बाक्लै हुन्छन् । तिनले जगाउँदैनन्, जलाउँछन् । एकचोटि कागतीको रुखमा लम्की र झम्की गर्दै काँक्रो पुगेछ । कागतीले लुम्रो लहरा देखेर काँक्रोलाई टिकी खान नदिने भएछ । उता कान्लामा रिठ्ठोले रिसाएर हुत्याएको काँक्रो अब झन फन्दामा पर्यो । हिसाव किताव मिलाउँदा बराबर भएछ, कागती र काँक्रोको ।
बिचरो कागतीका साना पात, झाँटे खाँदा–खाँदा आजित भएको । फेरि “साबुन बनाउने रुख यही हो” भन्दै केटाकेटी चढेर रिठ्ठोमा त्यही काँक्रोलाई लछारपछार गर्ने । दुबैको पिडा हाराहारी । आखिर एउटा बिन्दुमा मिलेछन् । त्यो के भने–कागतीको बियाँ नभए पूरै त्यो अमृत, काँक्रोको बियाँ नभए त्यो पूरै विष, अब दुवै उस्तै –उस्तै । अमृत बिनाको बिष, बिष बिनाको अमृत । विनिर्माण पछिको निर्माण ।
निर्माणपछिको विनिर्माण । के कसरी कल्पना गर्ने ? गाैंथलीकाे गुँड, मौरीको मेहनत भनेर नसकिने । टोल–टोलमा ऊबेला देखिका कागतीका बियाँ, तिनै आजका अरिङ्गाल । मशाल/राँको अनि कोमलकोटी पनि, कहिले काँही । सुनेको, कोमलकोटीले आफ्नो सन्तान बनाउँदैन, अरुका नाङ्गा, आँखा नखुलेका बच्चा ल्याउँदै थन्क्याँउदै गर्छ । अझै डरलाग्दो कुरा त छिनका छिन, ठाँउको ठाँउ बजार बिद्यालय, यातायात, उद्योग बन्द गर्न सिक्नुपनि मुर्ख साहस हो । भलै फाइदा हात लागी शून्य ! भएपनि ।
आगजनी र ढुकुर मराइको मान्छे ढाल्ने कुकर्म कसरी, किन अनि के का लागि थियो त ? प्रकृति आफैंले शिल्पकार र कलाकार जन्माउँछ । मास्न खोजेर खाली हुन्न । आत्मा भएरपनि हृदयहीन मान्छे । विवेक गुमाइरहेछ । अफगानिस्थानका वुद्व खै के अभावले कति कमाउन विदेसिएका हुन् ?, उनै जान्ने । घाटानाफा उनकै । लुम्बिनीबाट त्यती पर छासिनु त ! हाम्रो शान्ति, अरुको भ्रान्ति । रुख कटान र विश्व सम्पदा सूचिका अस्तित्व संकटमा हामी दोषी । वनस्पति विज्ञहरु रुख काट्ने, रुखलाई पानी मल हाल्ने क्रममा स्वयं रुखको कस्तो–कस्तो प्रतिक्रिया हुन्छ त ? यसैमा खोज गर्दैछन् आज ।
अलिकति फरक प्रकारको यहाँ पाइने पातको धर्सा/नसा रातो भएको जंगली वर र समुन्द्र आसपास पाइने एक जातको रबरले दुई भिन्न अवस्थामा फरक–फरक प्रतिक्रिया देखाउने तथ्यको नजिक उनीहरु पुग्दैछन् । मल–पानी नजिक पुर्याउँदा खुशी हुने र बन्चरो–आरा नजिक पुर्याउँदा निरास हुने ।
यसलाई डिजिटल ग्राफबाट अध्ययन गरिँदो रहेछ । भलै रुख कटाइमा निबन्धकारको जे धारणा भएपनि फरक परेन । निबन्ध आफैंमा न्यायमूर्ति बन्ला–नबन्ला ,मौलिक हकको पृष्ठपोषण पक्कै हो । सबै सर्जकहरुलाई तेस्रो नयनमा –ताकी चर्म चक्षुले होइन, भित्री चक्षुले सूक्ष्म अध्ययन गरी प्रोत्साहन, संरक्षण, पृष्ठपोषण अनि मलजल गर्नुपर्छ ,फस्टाउन दिनुपर्छ । स्रष्टाको न्याय नहराओस् !
धन्यवाद !