काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिरोले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताउनुभयो ।
घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिनुभयो । गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।
प्रदेश १ मा २२ जनाको मृत्यु
बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ । यता पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
देशभर ३० जनाको मृत्यु
देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मंगलबार ३० जनाको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।