लेखक:पुण्य कार्की
जन्म–मृत्युको सिलसिलाले आपूरित छ धर्ती । अनादि कालदेखि यो शृङ्खला अटुट रुपमा जारी छ । गोपिनाथका घरमा बुहारीले बच्चा जन्माएको केही मिनेटमा उनका बाबुले संसारबाट विदा लिए । वृद्ध भएका बाबुको जीवन–धन सकियो र उनको नाम निधनको सूचीमा दर्ज भयो ।
यता नयाँ पनातिको पदार्पण उता बूढाबाजेको समापन । एकातिर नवजीवनको प्राप्ति, अर्काेतिर पुरानो जीवनको समाप्ति । एकातिर नयाँ विजको अंकुरण अर्काेतर्फ बूढो रुखको विस्थापन । एकातिर नयाँ घामको उदय अर्काेतिर बूढो घामको अस्त । एकै समयमा बूढो बाजेको मृत्यु र पनातिको जन्मलाई मान्छेहरुले एक रहस्यको रुपमा पनि हेरे । कतिले राम्रो भयो भने । कतिले राम्रो हुँदैन पनि भने । यस्तो घटनालाई विरल घटनापनि माने ।
काट्नेले अनेकन अड्कल–विल्ला काटे । यो घटना एक अपूर्व संयोग मात्र हो यस घरको निम्ति । यस्ता घटनाहरु संसारमा अनेकन घटिररहेका छन् । यसमा आश्चर्य र विस्मय मान्नु पर्ने कुरा के छ र ? पुरानो पात झर्छ, नयाँ पात पलाउँछ, कुरा त्यतिमात्र हो । बूढाहरुलाई विस्थापित गर्दै त्यस ठाउँमा नयाँ शिशुहरुको आगमान हुनु सुखद कुरा हो ।
सुन्दर कुरा हो र सुल्टो कुरा हो । फेरि यो सिलसिला आजदेखि चलेको पनि होइन । यो त अनवरत चलिरहेको प्रक्रिया हो । सृष्टिको लयविधान यही खालको छ । जंगलमा पुरानो रुख ढल्छ, बूढो रुख मक्किन्छ । त्यस जग्गामा नयाँ रुख खडा हुन्छ र त जंगल हजारौं वर्षदेखि जंगलै छ । बूढो रुख मर्ने वित्तिकै अर्काे रुख नउम्रिने हो भने जंगल उहिल्यै मरुभूमि बनिसक्थ्यो ।
‘जन्म–मृत्युको सिलसिला त धर्तीको सिर्जन–गाथा नै हो । बूढो मरेन भने नातिले जन्म लिन कहाँ ठाउँ पाउँछ र ? बूढी मरिनन् भने नातिनीहरु धर्तीमा अवतरण हुन कहाँ ठाउँ मिल्छ र ?’ मेरो नजिकमा सन्तानव्बे वर्ष आरोहण गरेका एक राउत बडाउ छन् । उनीसित भेट भएपछि घण्टौं उनका कुरा सुन्न मन लाग्छ । उनका कुरा जति सुनेपनि धीत मर्दैन ।
अझ सुनिरहूँ, अझ सुनिरहूँ हुन्छ । यति पाकेका कुरा हुन्छन्; ज्ञानले, अनुभवले खारिएका सुक्तिमय सन्दर्भहरु मिसिएर आएका हुन्छन् । घटनालाई हेर्ने, विश्लेषण गर्ने अनौठो खालको तीक्ष्ण शक्ति छ उहाँभित्र । त्यसकारण उहाँका आप्तवचन सुन्न औधी लोभिन्छु । दुर्भाग्य भनौं या दुःखद संयोग भनौँ उनी भन्दा तीस वर्ष कान्छा उनका ठाइँला भानिज रोगले थलिएर ओछ्यान परे । डाक्टरले पनि अस्पातलबाट फर्काइदिएको थियो ।
अब बाँच्ने आशा थिएन । भानिज ओछ्यानमा मृत्यु पर्खिरहेका थिए । सन्तानब्वे वर्षका मामा आफ्नो भानिजको जराजीर्ण अन्तिम अवस्था देखेर भित्रभित्रै व्याकुल बनिरहेका थिए । उनी घरी भानिजको मृत्युन्मुख मुहार नियाल्थे, घरी भानिजको नाती जो छ आठ महिनाको थियो त्यसको चन्कालो अनुहार नियाल्थे ।
मधौरु र बच्चाको मुहार पालैपालो नियाल्दा नियाल्दै बूढाको मुखबाट एक अजम्मरी सत्य यसरी पोखियो “.........ठिकै हो, उसैको लिल्ला हो, अव बाजेले ठाउँ नछोडिदिने हो भने यो बच्चाको ठाउँ कहाँ छ ? सबैको क्रम यस्तै छ, बूढो मर्छ ठाउँ खाली हुन्छ । बच्चो जन्मिन्छ, त्यो ठाउँ लिन्छ ।
यही बच्चाको मुस्कानले भोलिको रुवावासी पुग्छ । यसरी नै अटुट रुपमा चलेको छ सृष्टिको विधान । मेरो पो ढिलो भैसकेको छ । नाती–पनाती कति जन्मिसके कति ! अव ठाउँ खाली गर बुढा ! हामी सत्ता समाल्न तयार छौँ भनी सके । मेरो निठुरी कालले कहिल्यै ठाडा कान लाएन .........” बूढा एकोहोरो बोलिरहेका छन् । म चुपचाप सुनिरहेको छु । उनी एकोहोरो फत्फताइरहेका छन्– “..........त्यो दिन पनि आउँछ अवश्य, नचाहेर पनि हामीले ठाउँ खाली गर्नैपर्छ । नचाहँदा नचाहँदै पनि धर्ती छोडेर जानैपर्छ ।
त्यो कुरा हाम्रो हातमा छैन । उसले कुन बेला कुन घडी हामी उपर झम्टा मार्छ, कसैले बताउन सक्तैन । थाहा पाउन नसक्नु मानव नियति हो । मान्छेले थाहा पाउने हो भने त ऊ काल भन्दा ठूलो भैहाल्थ्यो नि । तर मरण अवश्यम्भावी छ । त्यो आउँछ आउँछ । कसैले टारेर पनि टर्दैन । कसैले रोकेर पनि रोकिदैन । तर कुन समय कुन उमेर, कुन घडी, कुन पलामा जाने भन्ने कुरा रहस्यको गर्भमा छ ।”
बूढाको मुखबाट अझ गहिरो गहिरो मृत्युदर्शन फुत्किरहेको थियो । मौन सन्नाटामा बूढाको आवाज एकनास गुन्जिरहेको छ । बूढा अझै दार्शनिक चेतमा बोल्दै जान्छन् –“वनको बूढो रुख ढलेन भने नयाँ विरुवाले हुर्किने ठाउँ पाउँदैन । गोठमा बूढो गोरु मरेन भने बाछा–बहरहरु पन्पिन पाउँदैनन् । मान्छेको पनि गति त्यही हो । त्यसैले हाम्रा पितापूर्खाले भनेका हुन् बाउ गुर्किन्छ अनि छोरो हुर्किन्छ ।” बडाउका मुखबाट कति अकाट्य सत्य निस्किरहेका थिए । मधौरु हेर्न गएका हामीले चुपचाप स्न्यौँ, हृदयमा यसको सारलाई गुन्यौँ ।
यो संवाद चलेको केही दिनमा बडाउका ती भानिजको निधन भयो । त्यस घडी पनि परिवारजनलाई समावेदना दिन म त्यहाँ पुगेँ । परिवारका सदस्य आफन्त जनहरुमा अनन्त कोकोहोलो मच्चिरहेको थियो । सबै आलाप–विलापमा थिए । वातावरण एकदमै शोकाकुल थियो । मान्छे मरेको पहिलो दिन यस्तो हुनु स्वभाविक पनि थियो । समवेदना प्रकट गर्न, मलामी जान मानिसहरुको भीड लागेको थियो ।
दुईतीन दिनपछि त्यस घरमा पुग्दा सानो नातीको कलिलो मुस्कानले सबैका पीडाहरु भुलाइदिँदै थियो । हजुरबाको निधनपछि सबैको नजरको केन्द्रविन्दु त्यही नाती बन्दै गएको थियो । बडाउले केही दिन अघि भनेका कुरा सत्य लाग्यो, “........ठिकै हो, उसैको लिला हो, अव बाजेले ठाउँ नछोडिदिने हो भने यो बच्चाको ठाउँ कहाँ छ ? सबैको क्रम यस्तै छ, बूढो मर्छ ठाउँ खाली हुन्छ । बच्चो जन्मिन्छ, त्यो ठाउँ लिन्छ । यही बच्चाको मुस्कानले भोलिका रुवावासीलाई पुछ्छ । यसरी नै अटुटरुपमा चलेको छ सृष्टिको विधान ।”
त्यो सातआठ महिनाको अकारण खिल्खिलाएर हाँसिरहेको छ, आँखा सन्काइरहेको छ । जूठो बारिरहेको मृतकका आफन्ती जनका ओठमा बच्चाको हाँसोले अर्काे हाँसो फुटाइरहेको छ । देखेँ यही बच्चाको मुस्कानले सबैको घायल मनलाई मलमपट्टी गरिरहेछ । तेह्रौ दिनको काम सकिँदासम्म यही सानो बच्चाले सबैलाई पीडा र बेदनाबाट मुक्त गर्नेछ ।
अनि जीवन फेरि पुरानै लयमा फर्किेनेछ । मरिजाने आफन्तको शोक र बेदनामा डुबेर भन्दापनि नानीको ओठमा नाँचेको मुस्कान हेरेर बाँच्न परिवारका मानिसहरु अभ्यस्त बन्नेछन् । धरामा जन्म–मृत्युको अटुट शृङखला जारी छ । यो क्रम आजदेखि चलेकोपनि होइन । जुन सयमबाट मानव जातिको उत्पत्ति भयो, सोही समयदेखि जन्मिने जन्मिरहेको छ, मर्ने मरिरहेको छ । जन्मेपछि नमर्ने मान्छे अहिलेसम्म काहीँ फेला परेको छैन । जनसंख्या शास्त्रका पण्डितहरु भन्छन्– अहिलेसम्म यस धर्तीमा एक खरब मानिसहरुले जन्म लिइसके ।
जसमध्ये हाल अस्तित्वमा जिवित संख्या सात अरवको हाराहारीमा छ । अरु नौ सय त्रियानव्वे अरब मानिस त मृत्युको मुखमा परिसके । भनेपछि बाँच्ने भन्दा मर्नेको संख्या कता हो कता बढिरहेछ । पौराणिक इतिहास र पुराणमा अष्ट चीरन्जीवीको सन्दर्भ आउँछ । शास्त्रले बताउँछ – ती आठ जना व्यक्तिहरु अजर–अमर थिए । जसमा अश्वत्थामा, वली, वेदव्यास, हनुमान, विभिषण, कृपाचार्य, पर्शुराम र मार्कण्डेय ऋषिको नाम आउँछ । उनीहरुले कहिले नमर्ने र कहिले बूढो नहुने वरदान पाएका थिए अरे ।
अहिलेको बैज्ञानिक विश्वले त्यो कुरा पत्यार गर्न सक्तैन । बूढो नभैरहने शरीर कायम गर्न आजको विज्ञानपनि असफल छ । झन मृत्यु रोक्ने सामथ्र्य त कहाँ कोसित हुनु ? कतिपय पौराणिक कुराहरु अतिशय काल्पनिक उडानका किस्सामात्र हुन् । जुन विज्ञानसम्मत छैन । जुन यथार्थ सम्मत छैनन् । जुन कार्यकारणको तारतम्य सम्मत छैन । स्वैरकल्पनामा आधरित यी कथाहरुलाई वास्तविकताको धरातलबाट भन्दा पनि मानसिक विम्ब र संकेतका रुपमा बुझ्नुपर्ने देखिन्छ ।
कल्पना गर्छु, यदि जन्मेपछि नमर्ने नियम भए देखि नौसय त्रिनब्बे अरब मान्छेलाई खान सुत्न त के दुई खुट्टा टेकेर धर्तीमा उभिनपनि ठाउँ हुँदैनथ्यो होला । धर्तीमा यत्रा मान्छे मरिसकेछन् । ती मान्छे कहाँ गए त ? कहाँ जानु ? यही धर्तीको गर्भमा माटो खरानी भएर मिले । धुवाँ बनेर वायुमण्डलमा विलीन भए । पञ्चतत्वले बनेको शरीर पञ्चतत्वमै मिल्यो । जम्मजम्मी कुरा यति नै हो ।
पलपलमै चलिरहेको छ जन्म–मृत्युको खेल । भनिन्छ दिनै सरदरमा अढाइलाखको दरमा मान्छेहरु मरिरहेका छन् । आज साँझ सुतेका एकलाख मानिसहरुले भोलि विहानको सूर्याेदय देख्न पाउँदैनन् अरे । हररात लाखका दरमा मर्छन् । दिनरात मिलाएर चौविस घण्टामा अढाइ लाखको दरमा विदा लिन्छन् ।
जन्मको हिसाव गर्दा त त्यसको डब्बल, तेब्बर, चौवर कुन अनुपातले जन्मिरहेका छन् । त्यसको ठीक ठीक अनुपात मलाई थाहा छैन । तर, एउटा कुरा के सत्य हो भने मृत्यु भन्दा जन्म धेरै गुणले बढी भैरहेको हुन्छ । प्रकृतिको नियम विराट छ । अलिकति रहस्यले भरिएको छ । अलिकति रोमाञ्चले भरिएको छ । एकातिर मृत्युको राजपथबाट जाने गैरहेका छन् । अर्काेतिर जन्मको राजपथबाट शिशुहरु धर्तीमा पदार्पण गरिरहेका छन् । जाने गैरहेका छन्, आउने आइरहेका छन् । एकमिनेट पनि खाली छैन यो बाटो । कोही छिटो गइरहेका छन् । कोही अलिक ढिलो गैरहेका छन् ।
धर्तीमा जतिसुकै चकचकी मच्चाउने मनुवाको पनि एकदिन जाने दिन आउँछ । जतिसुकै शक्तिशाली मान्छे पनि आखिर एक दिन निरीह भएर मृत्युको मुखमा पर्नुपर्छ । प्रत्येक व्यक्तिको आयुको एक निश्चित सीमा छ । सीमा भित्रको आयु सकिए पछि चुपचाप जानुपर्छ । आज जन्मेको मनुवा भोलि नमर्ने हो भने कति ठूलो भद्रगोल र अव्यवस्थामा सिर्जना हुन्थ्यो होला । प्रकृतिले नै एक सुललित शृङ्खलामा आयव्ययको हिसाव मिलाइ रहेको छ । धर्तीमा एक सन्तुलन कायम गरिरहेको छ ।
हिजो पशुहाटमा गोरु मोलिरहेको मानिस आज घाटमा जलिरहेको दृश्यले रहस्यको गर्तमा धकिलिरहेछ । गोरु बेच्नलाई पाखुरा सुर्कीसुर्की दुईसयमा मोलमलाई गरिरहेको मानिस आज चितामा हुरहुरी जलिरहेको देखेँ, उसले आजको मृत्यु देखेको भए, किन पाखुरा सुर्कीसुर्की गोरु बेच्न दलाली गर्दाे हो ? तारन्तर प्रश्नको हथौडीले मनमा ट्याक्क ट्याक्क हानिरहेको छ । हो सबै मान्छे आज हाटमा छन् तर भोलि घाटमा पुग्नैपर्छ । यही हो आखिरी सत्य ।
समाप्त