काठमाडौं । भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ । भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा लगेको भन्सार विभागले प्रशासनिक सुधारको कामलाई अघि बढाएको हो ।
खासगरी भन्सार विभागअन्तर्गत रहेका अनुगमन र अनुसन्धान शाखामा आमूल परिवर्तन ल्याउने गरी रूपान्तरणको काम अघि बढेको छ । यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् ।
अनुसन्धान शाखाअन्तर्गत परेका उजुरीहरूको प्रभावकारी अनुसन्धान गर्नेगरी यस शाखालाई थप बलियो बनाइँदै छ ।
उजुरीकै आधारमा ट्र्याकिङ गर्ने, प्रत्यक्ष रूपमा अनुगमन गर्ने, चुहावट भएको छ भने विगतदेखिका प्रज्ञापनपत्रहरूलाई पुनः हेरेर अडिट गर्न सक्नेगरी अनुसन्धान शाखालाई वर्गीकरण गरेर स्मार्ट बनाइँदै छ ।
अहिले एकीकृत रूपमा प्रज्ञापनपत्रको काम हेरिन्छ, अब गरिने सुधारमा अनुसन्धान शाखाभित्र पनि कामको विभाजन हुनेछ । एउटा कर्मचारीले सामानको घोषणा हेर्नेछ भने अर्काले मूल्यांकन, त्यस्तै अन्य कर्मचारीले वर्गीकरणको काम हेर्नेछन् ।
यसरी तीन चरणमा अनुसन्धान शाखाको काम हुँदा धेरै प्रज्ञापनपत्र हेर्न सकिने र त्यही सूचनाका आधारमा ठूलो चुहावट नियन्त्रण गर्ने विभागको योजना छ । अनुसन्धानजस्तै अनुगमन शाखालाई समेत यसरी नै विभाजन गरे भन्सार प्रशासनमा सुधारको काम अघि बढाइन लागिएको महानिर्देशक सापकोटाको भनाइ छ ।
भन्सार विभागका अनुसार राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनको चरणमा छ । अहिले विश्व बैंकको सहयोगमा पहिलो चरणको कामसमेत भइरहेको छ । पहिलो चरणमा ४०/५० ओटा कार्यालय जोडिँदै छन् । यसबाट भन्सार पासमा सहजता हुनेछ । अहिले कतिपय वस्तु ल्याउँदा सम्बद्ध विभागको सिफारिश लिन जानुपर्ने व्यवस्था छ ।
राष्ट्रिय एकद्वार प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आएपछि निकायपिच्छे सिफारिश लिन जानुपर्ने झन्झटबाट व्यवसायीले मुक्ति पाउनेछन् । भन्सारका अधिकारीहरूका अनुसार भन्सार जाँचपासमा रहेका समस्यासमेत हटाउने गरी सुधारको कार्य विभागले अघि बढाइसकेको छ ।
पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा गइसकेकाले सुधारको महसूस छिट्टै दिलाउने गरी काम अघि बढिसकेको उनीहरूको दाबी छ । आर्थिक अभियानमा प्रकशित छ ।