काठमाडाैं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन ।
‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन ।’ सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ ।
सहमतिअनुसार कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ। यसअघि उसले गृह, कानुन र परराष्ट्र मन्त्रालय सम्हाल्दै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि कांग्रेसबाट राज्यमन्त्री छन् । अब कांग्रेसले रक्षा लिएर कानुन मन्त्रालय एकीकृत समाजवादीलाई दिने भएको छ । यद्यपि एकीकृत समाजवादीले पनि रक्षा मन्त्रालयमा दाबी गर्दै आएको छ । कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की रक्षा वा सञ्चारमा सर्नेछन् ।
त्यस्तै कांग्रेसले पाउने बाँकी मन्त्रालयमा पुष्पा भुसाल, उमाकान्त चौधरीका साथै मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, प्रमोद यादवममध्येबाट मन्त्री हुनेछन् ।
यसअघि कांग्रेसबाट आफूनिकट नेतालाई मात्र सरकारमा सहभागी गराएका देउवाले सचेतक भुसाललाई मन्त्री बनाउने स्रोतको दाबी छ । पूर्वमहामन्त्री सिटौला समूहबाट उमाकान्त मन्त्री बन्नेछन् भने संस्थापन इतर पक्षले पाउने दुई मन्त्रीमा रिजाल, बडु, चौधरी, केसी र यादवमध्येबाट सरकारमा सहभागी हुनेछन् ।
अर्थ र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेको माओवादी केन्द्रले अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउनेछ । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन् ।
बाँकी मन्त्रालयमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, अञ्जना बिसंखे र महेश्वर गहतराजमध्येबाट सरकारमा सहभागी गराउने माओवादीको तयारी छ । त्यस्तै, एकीकृत समाजवादीले कानुन, सहरी विकास, श्रम तथा रोजगार र संस्कृति तथा पर्यटन मन्त्रालय पाउने भएको छ । यो दलले रक्षा र भौतिकमध्ये एक मन्त्रालयमा समेत दाबी गर्दै आएको स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, भवानी खातुङ, प्रेम आले र किसान श्रेष्ठमध्येबाट सरकारमा सहभागी गराउनेछ ।
जीवनरामलाई सचेतकको जिम्मेवारी दिएको अवस्थामा प्रेम र किसानमध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको निकट स्रोतले जनाएको छ । उक्त समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।