एजेन्सी । अफगानिस्तानमा महिला अधिकार रक्षाका लागि उनीहरू अग्रदूत थिए । सीमान्तकृत महिलाहरूलाई न्याय दिलाउने सवालमा उनीहरू कानुनका कट्टर पालक पनि थिए । तर अफगानिस्तानका २२० जना महिला न्यायाधीशहरू अहिले तालिबानले आफूहरूमाथि बदला लिने डरले लुकेर बसिरहेका छन् ।
लुकेर बसिरहेका न्यायाधीशमध्ये छ जना महिलासँग बीबीसीले सम्पर्क गरेर उनीहरूको अवस्थाबारे सोधेको छ । सुरक्षाका कारण उनीहरूको नाम परिवर्तन गरिएको छ । न्यायाधीशको रूपमा आफ्नो कार्यकालमा मासुमाले सयौँ पुरुषहरूलाई बलात्कार, हत्या र यातना महिलाविरुद्ध हुने हिंसाका अपराधमा दोषी ठहर गरिन् ।
तर जब तालिबानले उनको सहर नियन्त्रणमा लियो, दोषी ठहर हजारौँ जेलबाट छुटे । उनलाई ज्यान मार्ने धम्की आउन सुरु भयो । उनको मोबाइलमा एसएमएस, भ्वाइस म्यासेज र नचिनेका नम्बरहरूबाट आउने फोनहरूको ओइरो लाग्यो ।
मासुमा भन्छिन्, ‘तालिबानले सबै बन्दीलाई जेलबाट छोडेको कुरा हामीले मध्यरातमा थाहा पायौँ र रातारात घर छोडेर भाग्यौँ । हामीले घरसहित सबै थोक छोडेर भाग्नुपर्यो ।
विगत २० वर्षको अवधिमा अफगानिस्तानमा २७० जना महिला न्यायाधीश भएका छन् । तीमध्ये केही एकदमै शक्तिशाली र प्रसिद्ध पनि भए र सार्वजनिक व्यक्तित्वको पहिचान बनाए । कारमा चढेर सहरबाट बाहिरिँदा कसैले नचिनून् भनेर मैले बुर्का लगाएकी थिएँ । भाग्यले हामी तालिबानको चेक प्वाइन्टबाट पार गर्यौँ, सहर छोडेको पल उनी सम्झन्छिन् । उनले छोडेको केही समयमै घरमा तालिबानका धेरै मानिसहरू आएको जानकारी छिमेकीहरूले गराएका थिए ।
छिमेकीहरूले हुलियाबारे जानकारी गराएपछि आफूलाई पिछा गरिरहेको मानिस पत्ता लगाउन मासुमालाई समय लागेन । तालिबानले अफगानिस्तानमा कब्जा जमाउनुभन्दा केही महिनाअघि मासुमाले श्रीमतीको बर्बरतापूर्वक हत्या गरेको मुद्दामा त्यही घर घेर्न आउनेमध्ये एकको मुद्दा हेरेकी थिइन् । उ दोषी पाइएपछि उनले २० वर्षको सजाय तोकिन् ।
मेरो मनमा अझै पनि ती भर्खरकी महिलाको आकृति आइरहन्छ । उनलाई बर्बरतापूर्वक मारिएको थियो, मासुमा भन्छिन् । मुद्दाको फैसलापछि त्यो अपराधीले मेरो छेवैमा आएर भनेकी थियो कि ‘जब म जेल बाहिर आउँछु, तिमीलाई पनि मेरो श्रीमतीको जस्तै हालत बनाइदिन्छु ।
मैले त्यस बेला उसको कुरालाई गम्भीर रूपमा लिइनँ । तर जब तालिबानले अफगानिस्तान कब्जा गर्यो, उसले मलाई फोन गरेर धम्की दियो । उसले ‘तिमीलाई भेट्छु र अब बदला लिन्छु भन्यो ।बीबीसीको एक अनुसन्धानले कम्तीमा २२० जना महिला न्यायाधीशहरू अफगानिस्तानमा लुकेर बसिरहेको थाहा लागेको छ ।
तीमध्ये छ जनाले तालिबान शासनपछि एकै प्रकारका धम्कीहरू खेपिरहेका थिए । चार जनालाई श्रीमती मारेको अभियोगमा जेल सजाय तोकिएका व्यक्तिहरू नै जेलबाट छुटेर धम्की दिइरहेका थिए ।
ज्यान मार्ने धम्की आएपछि सबै महिला न्यायाधीशले आफ्नो फोन नम्बर कम्तीमा एक पटक परिवर्तन गरिसकेका छन् । उनीहरू केही हप्ताको अन्तरालमा आफू बस्ने ठाउँ परिवर्तन गर्दै लुकिरहेका छन् ।
छोडेर हिँडेको घरमा तालिबानका सदस्यहरू पुगिसकेका छन् र कतिपयले उनीहरू गएको स्थानबारे छिमेकीहरूलाई सोधपुछ गरेका छन् ।
तालिबानका एक प्रवक्ता बिलाल करिमीले तालिबानले अघिल्लो सरकारका सबै कर्मचारीलाई आममाफी दिइसकेको बताए । आममाफी पछि पनि देश छोडेर जान चाहनेहरूलाई उनले देशमै बस्न आग्रह गरे ।
‘महिला न्यायाधीशहरूले पनि अन्य परिवारहरू जस्तै विनाडर बाँच्नुपर्छ । उनीहरूलाई कसैले धम्की दिन पाउँदैन । हाम्रो विशेष सैन्य इकाईले त्यसबारे अनुसन्धान गरेर यदि उनीहरूको अधिकार उल्लङ्घन भएको रहेछ भने कारबाही गर्नेछ, करिमीले भने ।
जेलहरूबाट एकसाथ धेरै कैदीहरू रिहा हुँदा तालिबानसँग असम्बन्धित कैयौँ अपराधीहरू पनि छुटेका थिए । ‘लागु औषध तस्कर र माफियाहरूलाई सक्ने नै हाम्रो नियत हुन्थ्यो । हामीले यस्तो काममा संलग्नलाई कठोर कदम चाल्थ्यौँ, करिमी भन्छन् ।
विगतमा कमाएर परिवार पाल्दै आएका पढेलेखेका महिला न्यायाधीशहरूको तलब रोकिएको छ । ब्याङ्क समेत रोक्का भएपछि उनीहरू आफन्तको सहयोग लिएर गुजारा चलाउँदै आएका छन् । न्यायाधीश सानाले दशकौँसम्म महिला र बालबालिकाविरुद्ध हुने हिंसाका मुद्दाहरूमा काम गरिन् । उनी भन्छिन् अधिकांश यस्ता मुद्दाहरूमा तालिबान र आईएसका सदस्यहरू दोषी हुन्थे ।
अहिले जेलबाट छुटेका पूर्वबन्दीहरूबाट २० भन्दा धेरै धम्कीपूर्ण फोनहरू मलाई आइसके, एक दर्जन परिवारका सदस्यसँगै लुकेर बसिरहेकी साना सुनाउँछिन् । लुकेका बसेकामध्ये एक न्यायाधीशको परिवारका पुरुष सदस्य छोडेको घर फर्कने हिम्मत गरेका थिए ।
तर लुगाफाटो तयार गरेर हिँड्नुअघि नै धेरै वटा कारहरूमा हतियारसहित आएका तालिबानले उनलाई नियन्त्रणमा लिइहाले । ‘ढोका खोल्नासाथ उनीहरूले मलाई न्यायाधीशको घर हो भनेर सोधे । मैले उनी कहाँ छिन् थाहा छैन भनेपछि उनीहरूले मलाई भर्याङ्बाट फाले । एक जनाले बन्दुकले मलाई हिर्कायो र नाक र मुख भरी रगताम्य हुने गरी कुटपिट गरे, उनले भने । नेपाली बिबिसी सेवाबाट