काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको जनाएको छ ।
समितिका संयोजक रामबहादुर थापा बादलकाअनुसार, विधान महाधिवेशनमा विभिन्न कमिटीबाट प्रतिनिधित्व रहेको छ । जसमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधिहरु सहभागी हुनेछन् ।
त्यसैगरी पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरु, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुखहरु, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु रहेका छन् । जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधिहरु, भारतलगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्यहरु पनि प्रतिनिधि छन् । १५/१७ असोजसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चल्ने विधान महाधिवेशनको उद्घाटन भोलि अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । प्रस्तावमाथि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।
बिहानको भात पार्टीको, बेलुकाको भात गोजीको
एमालेले भोलि (शुक्रबार) बाट सुरु हुने विधान महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको बताउँदै तीन दिनसम्म गरिने कार्यसूची सार्वजनिक गरेका छन् ।
बादलका अनुसार ६ हजार प्रतिनिधि सहभागी हुने भनिएको महाधिवेशनमा सहभागीहरूले बिहानको खाना र दिउँसोको खाजा पार्टीको तर्फबाट पाउने छन् भने बेलुकीको खाना र बासस्थानको भने आफैँले व्यवस्थापन गर्नुपर्नेछ ।
बेलुकीको बास र खानाका लागि पार्टीका सम्पर्क र समन्वय कमिटीले व्यवस्थापन गर्ने जिम्मा लिएको पत्रकार सम्मेलनमा बताइएको छ । तर, बेग्लै बस्न चाहने प्रतिनिधिले भने बासस्थान र बेलुकीको खानपानको प्रबन्ध आफैँले गर्नुपर्नेछ ।
सवारीसाधन नहुने जनप्रतिनिधिलाई सातदोबाटोबाट पार्टीका झन्डावाल गाडीले महाधिवेशनस्थल गोदावारी लैजानेछ भने बेलुका सातदोबाटोमै ल्याएर छाड्नेछ ।
सातदोबाटोभन्दा टाडा बासस्थान भएकाले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने बादलले जानकारी गराए । शुक्रबार बिहान ९ देखि ११ बजेभित्र खाइनसक्नेले भने पार्टीको मेसमा भान्सा गर्न पाउने छैनन् ।