खोटाङ । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको रुट (बाटो) परिवर्तनसँगै खोटाङमा रोक्का राखिएका जग्गा फुकुवा गरिएको छ ।
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको प्रशारण लाइनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो ।
संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबरमा जोडिने अरुण तेस्रोको टिएल टावर निर्माणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले १० मंसिर २०७६ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै स्थानीय ३०-४० घरका एक सय ३८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरेको थियो ।
तर, अहिले आएर पहिरो, खोलाखोल्सी, मानववस्ती, पहरा लगायतका प्राकृतिक अवरोधलाई छल्नका लागि जलविद्युत आयोजनाको रुट परिवर्तन भएपछि २०७६ सालदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ८ भदौमा बसेको मुआब्जा निर्धारण समितिको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको भन्दै प्रशासनले रोक्का जग्गा फुकुवाका लागि १५ भदौमा जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको पुरानो रुट परिवर्तन लगत्तै पुःन नयाँ रुटले अधिग्रहण गर्ने जग्गा एकीन गर्न सुरू गरिएको छ । अरुण तेस्रोको प्रशारण लाइनले ओगट्ने दुई गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायतका विवरण संकलन सुरू गरिएको अरुण तेस्रो जलविद्युत आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रविण यादवले बताउनु भयाे ।