काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा एउटै व्यक्ति दुई कमिटीमा बस्न नपाउने भएका छन् । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एउटै व्यक्ति दुई वटा कमिटीम बस्न नपाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको बताउनु भयो । उहाँका अनुसार केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने नपाउने भएका हुन् ।
बैठकले यसैगरी आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनमा देशभरबाट झण्डै १२ सय प्रतिनिधि सहभागी गराउने लक्ष्य पनि राखेको उहाँले जानकारी दिनु भयो । ‘स्थानीय, प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने अनुमान गरिएको छ, उहाँले भन्नुभयो ।’
विभिन्न कम्युनिस्ट घटकसँग भएका पार्टी एकता र अर्को पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी दिने विषयमा पनि बैठकमा छलफल भएको बताइएको थियो । उहाँले स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
भागबन्डा टुंग्याएर मात्र मन्त्रीहरुको छनोट
कुन मन्त्रालय कस्ले पाउने भन्ने भागबन्डा टुंग्याएर मात्र मन्त्रीहरुको छनोट गर्ने तयारी बैठकले गरेको पनि बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने ब्रिफिङ गर्नु भएको थियो । त्यसपछि स्थायी समितिका सदस्यहरुले कुन मन्त्रालय कस्को भागमा पर्छ भन्ने भागबन्डा टुंग्याएर मात्र मन्त्रीहरुको छनोट गर्दा उचित हुने सुझाव दिएको पनि बताइएको छ ।
बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएर शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता दिने निर्णय गरेको छ । मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लगाउने बताइएको छ ।