उदयपुर । थारू समुदायका महिलाहरुको जितिया पर्व मङ्गलबारदेखि शुरु भएको छ । असोज कृष्णपक्षको सप्तमी तिथि मङ्गलबार परेकाले थारु महिलाले नजिकैको नदी, जलाशय र इनारमा नुहाएर वर्त शुरु हुन्छ । जितियामा सप्तमी तिथिमा नुहाउने, दर खाने, अर्को दिन वर्त बस्ने र तेस्रो दिन विसर्जन गर्ने चलन छ ।
संस्कृतिविद् भुलाइ चौधरीले भन्नुभयो, ‘थारु महिला यति बेला माइतमा आएर बसेका छन्, माइत जान नसकेका महिला घरमै भए पनि वर्त शुरु गरेका छन्, वर्तको पहिलो दिन आज थारु महिला जलासयमा गएर नुहाइधुवाइ गरी जलासयको छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दूर चढाएर पूजा गरिन्छ ।’
विशेष गरी यो पटक तिथि अनुसार ३८ घण्टा उपावास (वर्त) बस्नु र्ने देखिएको थारु संस्कृतिबिद् भुलाइ चौधरीले बताउनुभयो । उहाँका अनुसार यस पटक अष्ठमी तिथि दिउँसै सुरु भएकाले वर्त चाँडै बस्नुपर्ने र उपवासको समय लम्बिएको हो ।’
यो वर्ष उपवास हिजो दिउँसैबाट शुरु भएकाले ब्रतालुले धेरै समय वर्त बस्नुपर्नेछ, ब्रत रातिको समयमा विसर्जन हुने देखिएको छ,” उहाँले भन्नुभयो, ‘तर सूर्य बिहान उदाउने भएकाले सूर्यको पूजा नगरी वर्त कसरी तोड्ने, जितियामा सूर्यको छोरा जिमुतवाहनको पूजा हुन्छ ।” यो दिन महिला गाउँको एकै ठाउँमा जम्मा भएर भगवान जिमुतवाहनको कथा सुन्ने र भजन गाउने चलन छ ।
उदयपुरको त्रियुगामा दुई दिन विदा
उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताउनु भयो । आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने उपमेयर चौधरीले बताउनु भयो ।
खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार असोज ४ गतेको नगर कार्य समितिको बैठकले विदा दिने निर्णय गरेको हो ।
जितिया पर्वको अवसरमा त्रियुगा नगरपालिका, माताहतको वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द रहने सूचनामा जनाएको छ ।
यस्तै चौदण्डीगढी नगरपालिकाले एक दिन मात्रै सार्वजनिक विदा दिएको छ । चौदण्डीगढी नगरपालिकाले एक सूचना जारी गर्दै असोज १३ गते विदा दिने निर्णय छ ।
यस्तै प्रदेश र संघ सरकारको माताहतमा रहने कार्यालय भने विदा नहुने भएको प्रदेश सरकारका एक कर्मचारीले जानकारी दिए ।
आफ्नो भाषा प्रवर्धन गर्न जितिया महाेत्सव
उदयपुरका थारू समुदायले यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रवद्र्धन गरि मनाउने भएको छ । थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दवाव मुलक कार्यक्रम गरि मनाउने जनाएको हो ।
थारू कल्याणकारिणी सभाका अध्यक्ष शिवकान्त चौधरीका अनुसार थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारू भाषालाई मान्यता नदिने भाषा आयोगको निर्णय बिरूद्ध दवावमूलक कार्यक्रम गर्ने जनाएको छ ।
यस वर्षको जितिया त्रियुगा नगरपालिकाको वडा नम्बर १३ थरुहट रंगशालामा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइने भएको छ ।
कार्यक्रममा राष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायिका अनु चौधरी, गायक नरेश जोगी, कलाकार÷लेखक÷निर्देशक प्रदिप चौधरी जोशी, गायिका अनुमा चौधरी, थारु गायक आरसी चौधरी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाएको छ ।