काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।
नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तक्रियामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे । उनले सरकारका जनविरोधी र संविधान विरोधी कार्यप्रति खबरदारी गर्न सम्पादकहरूसँग आग्रह गरे ।
अध्यक्ष ओलीले सरकारले चलिरहेको संसद मध्यरातमा हठात् अन्त गरी षड्यन्त्रमूलक किसिमले अध्यादेश ल्याएर संविधान कुल्चने काम गरेको आरोप लगाए । सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्’ अध्यक्ष ओलीले भने ।
ओलीले हिजोको दिनमा अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्नेहरू आज आफैं अध्यादेश ल्याउने खेलमा लागेको स्मरण गर्दै विधि पद्धति र नैतिकताका कुरा देखाउने दाँत मात्रै रहेको स्पष्ट पारे । संसद् चालू रहेको अवस्थामा अध्यादेश फिर्ता लिएको सूचना जारी गर्नु पनि संविधानविरोधी कार्य भएको ओलीले दाबी गरे ।
– गठबन्धन सरकार महासंकटमा पर्दै छ
– संविधान र कानुनको हुर्मत लिएकाले खबरदारी आवश्यक
– लोकतन्त्रलाई धरापमा पारिँदै छ सशक्त प्रतिरोध गरिन्छ
– सर्वोच्चको गल्तीले अहिलेको समस्या आएको हो
– ताजा जनादेशमा जानु प्रतिगमन होइन
– अबको निर्वाचनमा हामी बहुमत ल्याएर पुन सत्तामा जान्छाै
– एमसीसी ल्याउने कांग्रेस र माओवादी नै हुन्
– कालोधन चोख्याएर मुलुकलाई खतराको सूचीमा पारिँदै छ
एमाले अध्यक्ष ओलीले वर्तमान अपवित्र गठबन्धनको सरकारले विभिन्न वहानामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कमजोर बनाउने काम गरेको र त्यो आफूहरुका लागि सह्य नहुने चेतावनी दिए । ‘अहिले देशलाई बर्वाद पारिँदै छ, लोकतन्त्र धरापमा पर्ने खतरा बढेको छ, यसविरुद्ध एमालेले सशक्त प्रतिरोध गर्नेछ,’ अध्यक्ष ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आफूहरूको निर्णय रोकेर सर्वोच्च अदालतले गल्ती गरेको दोहोर्याए । अहिले संसद् चल्न सकेको छैन त्यसैले ताजा जनादेशबाट नयाँ संसद् नबन्दासम्म भद्रगोल अवस्थामा रहेको संसद् चल्न सक्दैन् ।’ अध्यक्ष ओलीले भने । ओलीले सत्यभन्दा माथि अदालत पनि नहुने भएकाले सर्वोच्चले गरेको असत्य फैसलालाई राम्रो भन्न नसकिने स्पष्ट पारे ।
ओलीले अदालतको पछिल्लो गतिविधिले जनतामा यसप्रतिको विश्वास र आशा घटेर गइरहेको बताए । एमसीसीबारे सम्पादकहरूले राखेको जिज्ञासामा अध्यक्ष ओलीले एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी केन्द्र भएकाले एमसीसी सम्बन्धी निर्णय गर्ने दायित्व पनि कांग्रेस र माओवादी केन्द्रकै रहेको स्पष्ट पारे ।
एमाले अध्यक्ष ओलीले वर्तमान सरकार र अर्थमन्त्रीले बजेटमार्फत कालो धनलाई चोख्याउने नीति ल्याएकाले सरकार बिचौलिया र माफियाको प्रभावमा परेको दाबी गरे । ‘वर्तमान सरकार कालो धनको कारोबारमा डुबुल्की मार्न उद्धत छ, त्यसैले सरकारको त्यस प्रकारको गलत धन्दाविरुद्ध सबै जना विरोधमा उत्रनुपर्छ,’ ओलीले भने । कालोधनलाई मान्यता दिने सरकारी कार्यले नेपाल विश्वस्तरमा नै खतराको सूचीमा पर्न सक्ने भएकाले कालोधन चोख्याउने कार्यविरुद्ध एमालेले सशक्त आन्दोलन गर्ने चेतावनी ओलीले दिए ।
ओलीले गठबन्धन सरकार आफ्नै कारणले छिटै ढल्ने र निर्वाचनको घोषणा हुने दाबी गरे । अब छिट्टै निर्वाचन हुने र निर्वाचनमा जनताले फेरि एमालेलाई बहुमत दिएर शासनमा पठाउने दाबी गरे । ‘अब हुने निर्वाचनपछि हामी बहुमतका साथ सरकारमा जानेछाैँ र समृद्ध नेपाल र सुखी नेपालीको योजनालाई मूर्त रूप दिन्छाै’ एमाले अध्यक्ष ओलीले भने । राजधानी दैनिकमा प्रकाशित छ ।